म अघिअघि, शिक्षक पछिपछि
मेरो नाम शुरवीर पण्डित हो। मेरी बास्सैमा ‘दाह्री बा’ भन्ने मान्छे म नै हुँ। भाइबहिनी हो, तिमीहरूले पक्कै पनि मलाई चिनेका हौला। मेरो जन्म २०२५ साल बूढानीलकण्ठको मनपोखरी आसपासमा भएको हो।
मेरो शिक्षा बूढानीलकण्ठ निम्नमाध्यमिक विद्यालयबाट सुरुआत भएको हो। म बाल्यकालमा पढ्नमा भन्दा बदमासी गर्नमा अग्रसर थिएँ। स्कुल जानुभन्दा पनि साथीहरूसँग काँक्रा चोर्ने, भोगटे चोर्ने, चराको गुँड भत्काएर अन्डा चोर्थें र त्यसलाई खाने गर्थें। पढ्नमा मेहनत गर्दैनथेँ। साथीहरूको लहलहैमा लागेर हिँड्थेँ।
भाइबहिनी हो तिमीहरूले राम्रोसँग पढ्नुपर्छ। राम्रा र नराम्रा साथी चिनेर मात्रै संगत गर्नुपर्छ। जस्तो संगत उस्तै व्यवहार भन्ने तिमीहरूलाई थाहै होला।
मेरो बाल्यकालको रुचि भनेको साथीभाइले जे भन्यो त्यही गर्ने थियो। साथीहरूले बदमासी गर्न जाऊँभन्दा खुसी भएर जान्थेँ। घरको चामल चोरेर बेच्थेँ। चामल बेचेको पैसाले सिनेमा हेर्न जान्थेँ।
स्कुलमा मेरो र गुरुको सम्बन्ध मुसो र बिरालोको जस्तै थियो। म अघि–अघि भाग्ने शिक्षक पछि–पछि कुट्न आउने गर्नुहुन्थ्यो। एक पटक शिक्षकलाई मुख चलाएँ। त्यसपछि शिक्षकले कुट्न पछाडि दौडेको दौड्यै गर्नुभयो। मलाई भेट्न भने सक्नु भएन। नपढ्ने खाली चकचक गर्ने, शिक्षकले पढाएको समयमा अन्तै ध्यान दिने गर्थें।
म काठमाडौंको स्थानीय भएकोले बाहिरबाट आएर संघर्ष भने गर्नु परेन। मेरो घर यहीँ भएकोले पनि भाडा तिरेर काठमाडौंमा स्थापित हुने झन्झट मलाई भएन।
मेरा भाइहरू मभन्दा १०/१२ वर्ष साना थिए। साना भए पनि भाइहरूलाई कुट्ने गर्थें। थोरै माया गर्ने धेरै पिट्ने गर्थें। अहिले सम्झँदा अचम्म लाग्छ। के गर्नु ,बाल्यकाल फेरि फर्किंदैन। फर्किन पाए मेरा गल्तीहरूलाई सुधारेर असल नागरिक बन्थेँ भन्ने लाग्छ। उमेर बढ्दै गएपछि ग्लानीबाहेक अरू केही हुँदो रहेनछ।
माध्यमिक तह प्रभात मावि क्षेत्रपाटीमा पढेँ। एसएलसी मैले सिद्धि गणेश माध्यमिक विद्यालय भक्तपुरबाट दिएँ। त्यतिबेला प्राइभेट एसएलसी दिने चलन थियो। म सानो हुँदा काठमाडौं सुन्दर, शान्त, भीडभाड नभएको, थोरै मानिस, अहिलेभन्दा धेरै रमाइलो र सफा थियो।
मलाई सानोमा के बन्ने भन्ने थाहै थिएन। साथीहरूको संगतमा नै रमाइरहेको थिएँ। मैले पहिलो पटक नेपाली फिल्म सिन्दूर हेरेको थिएँ। मेरो भान्दाइसँग उहाँको ससुराली गएको थिएँ। ससुरालीबाट फर्किंदा उहाँले मलाई सिन्दूर फिल्म देखाउनु भयो। सिन्दूर फिल्म हेरेपछि मलाई कलाकार बन्ने इच्छा जागेर आयो।
म कलाकारिताको क्षेत्रमा लागेँ। तर घरबाट मलाई अहिलेसम्म पनि समर्थन छैन। बुवाआमाको इच्छा मलाई असल नागरिक बनाउने, पढ्ने, सरकारी जागिरे हुने, देशको सेवा गर्ने, बाबुआमालाई पनि नुन, तेल खर्च दिने भन्ने सोच थियो। तर, म धेरै बरालिएर हिँडेँ। अहिले पनि बुवाआमाले बेलाबेलामा पढेर राम्रो जागिर खाएको भए पेन्सन हुन्थ्यो भन्नुहुन्छ। एउटा राम्रो जागिर हुन्थ्यो। आकाशे भरमा लागेर मानिसमाझ चिनिएर मात्रै के हुन्छ ? जे गर्न पनि पैसा चाहिन्छ। तंैले पढेर राम्रो जागिर खाएको भए तेरो भविष्य राम्रो हुन्थ्यो भन्नुहुन्छ। अहिले मलाई पनि बुवाआमाको कुरा सुन्दा हो जस्तै लाग्छ। कहिलेकाहीँ कलाकारितामा लागेर गल्ती गरेँ कि भन्ने लाग्छ।
म कलाकारिताको क्षेत्रमा चिनिएको मेरा गुरुहरूको कारण हो। गुरु रमेश बुढाथोकी, कृष्ण मल्लले टेलिफिल्ममा खेलाउनु भएको थियो। टेलिफिल्मबाट पनि म विस्तारै अगाडि बढिरहेको थिएँ। मेरी बास्सै धेरै लोकप्रिय भएकोले त्यसले नै नयाँ दाह्री बा भन्ने पहिचान दियो।
मैले चक्रब्युह, टाढाको बस्ती, नायक, अलिखित, प्रतिद्वन्द्वी, तीतो सत्य, जीरे खुसार्नी ,मेरी बास्सै टेलिशृंखला खेलेँ। न सकिन्छ गरी खान न सकिन्छ मरी जान र भरिया दाइले बिसाउने भारी भन्ने म्युजिक भिडियोमा पनि खेलेँ। ती भिडियो सबैले मन पराइदिनुभयो। फिल्महरू २५ जति भए। गरिब, अल्लारे, मेरीआमा, ढुकढुकी आदि। अहिले बजारमा आउन बाँकी पोखराकी काली, हलो काशीराम छन्। हाल मुखियाको नाति भन्ने लोकदोहोरी पनि आइरहेको छ।
भाइबहिनी हो, तिमीहरू यो क्षेत्रमा आउन इच्छुक छौ भने खुला हृदयका साथ आउनुपर्छ। लेखपढ गरेर, बुझेर मात्र आउँदा सजिलो हुन्छ। म जस्तै हावाको भरमा आउँदा कहाँ पुगिन्छ, निश्चित हँुदैन।
(कलाकार पण्डितसँग सुनिता न्यौपानेले गरेको कुराकानीमा आधारित।)