अब शिक्षकले दुई सय पूर्णाङकको परीक्षा लेख्नै पर्ने
काठमाडौं : खुल्ला प्रतिस्पर्धाबाट सरकारी विद्यालयको शिक्षक बन्न चाहनेले दुई सय पूर्णांकको परीक्षा दिनुपर्ने भएको छ। यस्ता विद्यालयका लागि शिक्षक छानेर सिफारिस गर्ने निकाय शिक्षक सेवा आयोगले परीक्षाको पाठ्यक्रम संशोधन गरेको छ।
यसअघि एक सय पूर्णांकमात्रै रहेको पाठ्यक्रमलाई दुई सय पूर्णांक बनाइएको हो। आयोगका अध्यक्ष ताना गौतमले नयाँ पाठ्यक्रमबाट परीक्षा दिएर आउने शिक्षक विगतभन्दा धेरै प्रतिस्पर्धी हुने बताए। नयाँ व्यवस्थाले विषयगत रूपमा खारिएका व्यक्ति मात्र शिक्षक बन्ने आयोगको विश्वास छ।
नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन हुँदा पहिलो पत्रमा सामान्य ज्ञानसम्बन्धी परीक्षा दिनुपर्नेछ। यो परीक्षामा सामान्य ज्ञान, भूगोल, इतिहास, सामाजिक व्यवस्था, आर्थिक, वातावरण, विज्ञान लगायतका विषयसँग सम्बन्धित प्रश्न सोधिनेछ। यो सबै वस्तुगत बहुवैकल्पिक प्रश्न हुनेछन्।
दोस्रो खण्डमा विषयगत प्रश्न सोधिनेछ। यो खण्डमा जुन विषयमा प्रतिस्पर्धा गर्न लागिएको हो, त्यससँग सम्बन्धित विषयमा मात्र प्रश्न सोधिने छ। यहाँ विश्लेषणात्मक प्रश्न मात्र सोधिने आयोगले जनाएको छ। आयोगले लामो समयको तयारीपछि नयाँ पाठ्यक्रम बनाएको हो। पहिलो खण्डको परीक्षामा सफल हुने उम्मेद्वारलाई मात्र दोस्रो परीक्षामा सहभागी गराइने आयोगले जनाएको छ। पहिलो खण्डमा कूल पूर्णांकको ५० प्रतिशत अंक ल्याउनेलाई मात्र उत्तीर्ण भएको मानिनेछ। दोस्रो खण्डमा भने ४० प्रतिशत अंक ल्याए पनि उत्तीर्ण भएको मानिने छ।
निजामती सेवामा कर्मचारी छनोट गर्ने निकाय लोकसेवा आयोग तथा संस्थानहरूले समेत कर्मचारी छनोटका लागि लिइने परीक्षामा कडाइ गर्न थालेपछि आयोगले पनि नयाँ व्यवस्था गरेको हो। शिक्षक छनोटका लागि आयोगमार्फत अबदेखि प्रकाशन गर्ने खुला प्रतिस्पर्धासम्बन्धी परीक्षामा संशोधित पाठ्यक्रम लागू हुनेछ। पछिल्लो समय सरकारी विद्यालयका पढाइ स्तरीय नभएको आरोप लाग्ने गरेको छ। स्तरीय नबन्नुका थुपै्र कारणमध्ये कमजोर शिक्षक पनि एउटा कारण रहेको धेरैको बुझाइ छ। कक्षा कोठामा ध्यान दिनुभन्दा पनि कार्यकर्ताकै शैलीमा राजनीतिक दलको कार्यक्रममा सरिक भएको आरोप शिक्षकमाथि लाग्ने गरेको छ।
तर नयाँ पाठ्यक्रम पनि परिपक्क र दूरदर्शी नभएको यस क्षेत्रका जानकारले आरोप लगाएका छन्। लोकसेवा आयोगको मात्र देखासिकी गरेर नयाँ पाठ्यक्रम ल्याएको आयोगलाई आरोप लागेको छ। ‘शिक्षक बन्न शिक्षाका विषयवस्तु हटाएर हावापानी, समुद्र, हिमाल पहाडका उचाइबारे घोक्न लगाउनु व्यावहारिक भएन’, शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘विषयगत शिक्षकलाई यीभन्दा ज्यादा शिक्षण विधि महत्वपूर्ण हुन्छ।’