उपत्यकामा बाक्लो तुँवालो
टीका बन्धन। काठमाडौं : जमिन र वायुमण्डल बीचको वायुलाई छेक्ने तह (इन्भर्जन लेयर)ले अधिकांश भेगमा तुँवालो बढेको छ। ब्ल्याङकेटझैं ढाकिएको ‘इन्भर्जन लेयर’ले धेरै ठाउँका खोंच, काठमाडौं उपत्यका, मध्य र पूर्वी भेगको मौसम प्रभावित भएको हो।
जमिनको सतहबाट ३÷४ सय मिटरमाथि विकसित हुने ‘इन्भर्जन लेयर’ घरको छानोझैं बन्दा जमिन र वायुमण्डलको वायुस्थिर रहने विज्ञ बताउँछन्। धुलो, धुँवा र प्रदुषणमि िश्रत स्थिर वायु धकेल्ने मौसमी प्रणाली विकास नहुँदा तुँवालो बढेको वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले बताए।
उनले भने, ‘वायुमण्डलमा धुलो, धुँवा र बालुवाको सुक्ष्म कणमि िश्रत ‘हेज’को मात्रा धेरै छ, पानी नपरेसम्म मौसममा सुधार हुने संभावना रहँदैन।’ बादलझैं देखिने ‘हेज’ मा प्रदूषणको मात्रा धेरै र जलवाष्पको मात्रा ज्यादै न्यून रहन्छ भने बादलमा जलवाष्पको मात्रा धेरै हुन्छ। ‘हेज’ले तत्काल पश्चिमी वायु सक्रिय भएर हिउँदे वर्षा हुने संभावना न्यून रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमबार र मंगलबार पूर्वी र मध्यभेगका केही पहाडी भेगमा छिटफुट वर्षाको संभावना रहे पनि देशैभर त्यस्तो प्रभाव नरहने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले बताए। ‘तत्काल देशैभर पानी पर्ने संभावना देखिँदैन, हावाको बेग तीब्र भयो वा चर्को घाम लाग्यो भने पनि अहिलेको मौसमी अवस्था सुधार हुन्छ’, उनले भने, ‘तर केही दिन त्यस्तो अवस्था देखिँदैन।’ आइतबार अपराह्न काठमाडौं उपत्यकाको आकाश करिब ७० प्रतिशत तुँवालो र बादलले ढाकेको अर्यालले बताए।
जमिन तातो र वायुमण्डल चिसो भएको अवस्थामा वायु सशक्त भएर स्थिर वायु र तुँवालो धकेल्ने गर्छ। तर अहिले ‘इन्भर्जन लेयर’ले गर्दा अवस्था उल्टो भएको अर्यालले प्रष्ट्याए।
भूमध्य र अरब सागरको वायुले नेपालसहित दक्षिण एसियाको हिउँदे मौसम प्रभावित हुन्छ। तर अहिले भने स्थानीय वायुले मौसम धुमिनुका साथै तुँवालो बढेको मौसमविद् बताउँछन्।