मुस्लिम धार्मिक सम्मेलन सम्पन्न
राजविराज : सप्तरीको बोदे बरसाइन नगरपालिका- ५ स्थित जाँजरमा इस्लामिक धार्मिक सम्मेलन ‘इज्तिमा’सोमबार विधिवत रुपमा सम्पन्न भएको छ ।
विश्व साद साहाब जमातका प्रमुख दिल्लीबाट आएका मौलाना हजरत साद साहाबका साथै सम्मेलनमा उपस्थित झण्डै तीन लाख सहभागीले संयुक्त रुपमा नवाज पढ्दै (प्रार्थना गर्दै) सम्मेलन समापनको घोषणा गरेका हुन् । गत शनिबारदेखि सुरु भएको तीन दिवशीय धार्मिक सम्मेलन विशुद्ध धार्मिक तथा सामाजिक र मुलुकमा शान्ति तथा समृद्धिका लागि भएको इज्तिमा आयोजक समितिका अध्यक्ष मो.गफुरले बताए ।
‘मुलुकमा शान्तिका लागि आयोजना गरिएको सम्मेलन शान्तिपूर्ण रुपमा सम्पन्न भयो’, उनले भने, ‘सम्मेलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा आभार व्यक्त गर्दछु ।’उनले सम्मेलनमा एक लाख सहभागीलाई लक्षित गरी २१ लाख ६० हजार स्क्वाइर फिटको पण्डाल निर्माण गरिए पनि सहभागी बढी आएकाले उनीहरूलाई केही समस्या खेप्नु परेको बताए । सोचेभन्दा तीन गुणा बढी सहभागी आएकाले उनीहरूलाई केही समस्या भए पनि अन्य कुरा सबै राम्रो रहेको उनले बताए ।
राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष मो.समिम अंसारीले तीन दिनसम्म भएको धार्मिक प्रवचन ज्ञानका साथै समाज र देशमा समृद्धि तथा शान्तिका कुरामा केन्द्रित रहेको बताए । ‘विश्व साद साहाब जमातका प्रमुख दिल्लीबाट आएका मौलाना साद साहाब लगायतका धर्मगुरुले प्रवचन वाचन गरेका छन्’, उनले भने, ‘जुन विशुद्ध रुपमा धार्मिक तथा शान्तिका कुरामा केन्द्रित रह्यो ।'
प्रतिक्रिया दिनुहोस !