कसले के चलाइरा छ; मान्छेले मेसिन कि मेसिनले मान्छे ?
युट्युबहरूसँग हाम्रा रुचिहरूको सूची छ। फेसबुक हामीलाई सोध्छ, ‘ह्वाट्स अन योर माइन्ड ?’ अर्थात् तपाईंको मस्तिष्कमा के चलिरहेको छ ? यसको अर्थ यो हो कि फेसबुक हामीलाई बुझ्न खोजिरहेको छ। मेसेन्जर र भाइबरहरूलाई हाम्रो प्रेमसम्बन्धदेखि यौन सम्बन्धका कुराहरूसम्म थाहा छ। आज हामीले के–के खायौं भन्ने कुरा हाम्रा मिल्ने साथीहरूलाई कुनै जानकारी छैन होला तर इन्स्टाग्रामलाई पूरै जानकारी छ। ‘जीपीएस’ हाम्रो ‘लोकेसन’ बुझ्दै छ। मान्छेभन्दा ट्विटर हाम्रो साथी बनेको छ। र सबैभन्दा मुख्य विषय फेसबुक र युट्युबहरू अझै पनि मानिसहरूको नियन्त्रणभन्दा बाहिर छैनन्।
जानकारी हुनु, थाहा पाउनु, ज्ञान सञ्चय गर्नु र बुझ्नु भनेकै चेतना होइन र ?
चेतनाको उत्तम प्रयोग नै बौद्धिकता होइन र ? आजका मेसिनहरू सोच्न थालेका छन्। र उनीहरू बौद्धिक बन्दैछन्। मेसिन र कृत्रिम बौद्धिकताको मिश्रण यति द्रुत गतिमा अगाडि बढ्दै छ कि मानिसलाई यहाँसम्म आइपुग्न लाखौं वर्ष लाग्यो तर कृत्रिम बौद्धिकतायुक्त मेसिनलाई मानिसकै बौद्धिकतामा टेकेर मान्छेलाई नै परास्त गर्ने समय छिट्टै आउने संकेत देखा पर्दैछ।
के मानिसले नै निर्माण गरेको मेसिनले मानिसलाई नै परास्त गर्न सक्ला ? सामान्य तरिकाले बुझ्दा सक्दैन जस्तो लाग्छ। तर यो प्रश्न जति सरल छ उत्तर त्यति सरल छैन। आज हामी ‘मेसिन लर्निङ’को युगमा प्रवेश गरिसकेका छौं। मेसिन लर्निङ कृत्रिम बौद्धिकताको एउटा सशक्त पक्ष हो। मेसिन लर्निङ भन्नाले मेसिनले आफैं सिक्ने विधिलाई बुझिन्छ। अहिले यस्ता कम्प्युटरहरू बनिसकेका छन् जो आफ्नो कमजोरी सुधार्दै सिक्दै जान्छन्। मेसिन लर्निङ विधिमा कम्प्युटरले बाहिरबाट लिएको तथ्यांकलाई आफ्नो विकासमा प्रयोग गर्छ र आफ्नै अनुभवबाट सिक्छ।
के एउटा मेसिन अर्को मेसिनसँग डराउने समय आएको हो ? होइन भने नयाँ–नयाँ वेबसाइट खोल्दा वा धेरै बेर वेबसाइट चलाइराख्दा किन कम्प्युुटरले ‘क्याप्चा’ परीक्षा लिन्छ ?
यो विधिलाई सजिलै बुझ्न आजभोलि कम्प्युटरसँग खेलिने बुद्धिचाल (चेस) खेललाई उदाहरण लिन सकिन्छ। अहिले केही अत्याधुनिक कम्प्युटरलाई बुद्धिचाल खेलको सामान्य नियम मात्र सिकाइएको हुन्छ। कम्प्युटर त्यही नियमहरूको पालना गर्दै मान्छेहरूसँग चेस खेल्न थाल्छ। भर्खरै सिक्दै गरेका मान्छेहरू जस्तै कम्प्युटर पनि सुरुमा गलत चाल चल्दै हार्छ। जसरी मान्छेहरू हार्दै, सिक्दै र सुधार गर्दै खेलहरूमा पोख्त हुन्छन्, त्यसरी नै कम्प्युटर पनि पोख्त हुँदै जान्छ। मान्छेहरू जसरी एउटा चालपछि अरू चालहरू सोच्न थाल्छन् त्यसरी नै कम्प्युटर पनि सिक्न थाल्छ।
हुँदाहुँदा कम्प्युटर यति पोख्त हुन्छ कि उसलाई मान्छेले नै हराउन नसक्ने हुन्छ। कम्प्युटर चाल चल्दा गल्ती नै नगर्ने बन्न थाल्छ। मान्छेले एउटा चाल चलिसकेपछि त्यसपछिका बीस चालहरूको हिसाब गर्छ होला तर कम्प्युटर त्यसपछि भए जतिका जम्मै चालहरू एकै पल्ट अनुमान गर्न सक्छ।
प्रायः कम्प्युटरसँग खेलिने हरेक खेलहरूमा यस्तै विधि प्रयोग हुन्छ। यो नै कृत्रिम बौद्धिकताको सबैभन्दा डरलाग्दो शक्ति हो। यसले मेसिनको क्षमतालाई असीमित बनाउन सक्छ। मान्छेले बनाएको कम्प्युटरले मान्छेले नै आविष्कार गरेका खेलहरूमा मान्छेले नै बनाएका नियममै बसेर मान्छेलाई नै हराइदिनु सामान्य विषय होइन।
---
आजका वैज्ञानिकहरू सम्पूर्ण ब्रह्माण्ड बुझ्न तल्लीन छन् तर जति नै तल्लीन भए पनि ब्रह्माण्डका हरेक रहस्य बुझ्न आजको आज सम्भव छैन। चेतनाको हिसाबले मानिस संसारको उत्कृष्ट प्राणी भए पनि मानिसको चेतना र बौद्धिकताका स्पष्ट रूपमा सीमितता छन्। मानिसको चेतना र बौद्धिकता यतिसम्म सीमित छ कि आजसम्म कुनै पनि एउटा यस्तो मानिस छैन जो ज्ञानको हिसाबले सम्पूर्ण होस्। मानिस कुनै एउटा वा दुइटा विषयको विशेषज्ञसम्म बन्न सक्ला तर सम्पूर्ण विषयको विशेषज्ञ बन्न सक्दैन। मानिसको चेतनाको गति असीमित हुन्थ्यो भने आज ब्रह्माण्डका हरेक रहस्य प्राप्त भइसकेका हुन्थे।
रूखमा बस्ने मानिसहरूको पुर्खालाई धर्तीमा झर्न हजारौं हजार वर्ष लाग्यो। सामान्य ढुंगा प्रयोग गरेर सिकार गर्ने ढुंगे युगको मान्छेलाई त्यही ढुंगा तिखो बनाउँदा सिकार गर्न झन् सजिलो हुन्छ भन्ने मात्र थाहा पाउन सयौं वर्ष लाग्यो। वर्षौंदेखि प्रयोग गर्दै आएको त्यही ढुंगालाई अर्को ढुंगासँग घोट्दा आगो बल्न सक्छ भन्ने चेतना प्राप्त गर्न मानिसले सयौं वर्ष पर्खिनु पर्यो। नांगै हिँड्दा जति नै जाडो भए पनि जाडोबाट बच्न लुगा लगाउनु पर्छ भन्ने ज्ञान प्राप्त गर्न वा घामपानीबाट बच्न घर बनाउनु पर्छ भन्ने थाहा पाउनसमेत मानिसले हजारौं वर्ष कुर्नुपर्यो। जनावर पाल्न, हलोको फालो आविष्कार गर्न, कृषि थाल्न, पांग्रा बनाउन चाहिने चेतना प्राप्त गर्न सयौं पुस्ता पर्खिनु पर्यो।
मानिसको चेतनाको विकासक्रम सीमित हुन्नथ्यो भने आजको युगमा आइपुग्न लाखौं वर्ष लाग्ने थिएन तर मान्छेको ज्ञान प्राप्त गर्ने गति असीमित हुन्थ्यो भने के हुन्थ्यो ? सायद आजको मोबाइल मानिसहरूले हजारौं वर्षअगाडि प्रयोग गरिसकेका हुन्थे होला वा ढुंगे युगकै मानिसहरूसँग हेलिकप्टर हुन्थ्यो होला। ढुंगे युग नभनेर विज्ञान तथा प्रविधिको युग भनिन्थ्यो होला। एटम बमको आविष्कार उहिल्यै भइसकेको हुन्थ्यो होला। मानिसले आफ्नै अस्तित्त्व नै सिध्याइसकेको हुन्थ्यो होला वा के के भइसकेको हुन्थ्यो हुन्थ्यो होला तर यस्तो केही पनि भएन किनकि मानिसहरूको बौद्धिक गतिको सीमितता थियो र छ। अब सोचौं, यस्तै असीमित क्षमता भएको मानिसभन्दा पनि उन्नत चेतना भएको रोबोट वा मेसिन भयो भने के हुन्छ होला ?
आज गुगल हरेक विषयको विज्ञ बन्दै छ र गुगल जस्ता सर्च इन्जिनहरूको जानकारी संकलित गरेर राख्ने क्षमता मानिसको भन्दा हजारौं गुणा बढी छ।
स्वयं हामीले हाम्रा सम्पूर्ण रुचिहरूको सूची बनाएका छैनौं तर कृत्रिम बौद्धिकतालाई बलियो बनाउन मेसिन लर्निङका साथसाथै अन्य धेरै विधि अपनाइएका हुन्छन्। कुनै समस्या आयो भने विगतमा भएका त्यस्तै प्रकारका समस्या र समाधानहरू र समाधानहरूले ल्याएका परिणामहरूलाई कृत्रिम बौद्धिकताले सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्ने मात्र नभएर सबै समाधानको सम्मि श्रणबाट तार्किक तरिकाले झनै उत्कृष्ट समाधान दिन सक्छ।
कुनै एउटा मानिसलाई समस्या पर्दा ऊसँग समाधानका लागि सीमित विकल्प हुन सक्छन् तर एक बिन्दुमा पुगेपछि कृत्रिम बौद्धिकतासँग असीमित समाधान हुन सक्छ। समस्या परेको समयमा प्रायः मानिसहरू आत्तिएर काम गर्छन् तर कृत्रिम बौद्धिकता यो समस्याबाट पनि मुक्त हुन सक्छ।
यस्तो विधिबाट मानौं धान उत्पादन गर्दा कुनै समस्या आयो भने कृत्रिम बौद्धिकताले संसारभरि आजसम्म भएका धान उत्पादनका समस्याहरूलाई अध्ययन तथा समाधानहरूको उत्कृष्ट विकल्प दिन सकिने भयो। यस्तो प्रकृतिको कृत्रिम बौद्धिकताले भविष्यमा मानिसको बौद्धिकतालाई धेरै पछि पार्न सक्छ।
आजको विज्ञान मानव मस्तिष्क नै निर्माण गर्ने ठाउँमा पुगेको त छैन तर मानव मस्तिष्कले काम गर्ने तरिका नै नक्कल गर्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्स निर्माण गर्ने अवस्थामा भने पुगिसक्यो। मस्तिष्कले सोच्दा वा काम गर्दा न्युरोन गतिशीलताको कृत्रिम नक्कल गर्न सकिने भएको छ।
सन् २०१६ मा हङकङस्थित ह्यान्सन रोबोटिक्सले निर्माण गरेको सोफिया नामको रोबोट निकै चर्चाको विषय बन्यो। सोफियालाई सन् २०१८ मा एउटा कार्यक्रममा वक्ताका रूपमा नेपालमा पनि बोलाइयो र उनले विकास निर्माणमा प्रविधिले कस्तो योगदान गर्न सक्छ भन्ने विषयमा आफ्ना धारणाहरू पनि राखिन् (प्रायःले सोफियालाई स्त्रीलिंगकै रूपमा सम्बोधन गरेको पाइयो)।
सोफियाका क्षमताहरू अविश्वसनीय छन्। उनी आवाज र अनुहारबाट मान्छे चिन्न सक्छिन् र मान्छेहरूजस्तै अनुहारका हाउभाउ मिलाउन सक्छिन्। उनलाई जिस्किन र रमाइलो गर्न आउँछ। उनी अनुहारका प्रस्तुतिहरू पढ्न सक्छिन। अंग्र्रेजी फिल्महरूमा देखाइएको तहसम्म कृत्रिम बौद्धिकतायुक्त रोबोटहरू निर्माण नभए पनि सोफिया भोलिका रोबोटहरू कस्ता हुनेछन् भन्ने संकेत पनि हो किनकि आजको विज्ञान सोफियामै रोकिनेवाला छैन।
अझ अचम्मको विषय त यो भयो कि सन् २०१७ मा सोफियालाई साउदी अरेबियाको नागरिकता पनि प्रदान गरियो र कुनै देशको नागरिकता पाउने उनी पहिलो रोबोट बनिन्। संसारका कैयौं ठाउँमा मानिसहरूले नै नागरिकता नपाइरहेको बेलामा एउटा रोबोटले नै नागरिकता पाउने विषयले के संकेत गर्छ ? एउटा प्रश्न यो पनि हो।
---
मानव समाज औद्योगिकीकरणमा प्रवेश गरेसँगै मेसिनहरूले मानव श्रमको उपयोगितालाई विस्थापित गर्ने एउटा प्रक्रियाको सुरुआत भयो। औद्योगिकीकरणले मानव श्रमलाई व्यवसायीकरण त गर्यो तर सँगसँगै मानव श्रमको आवश्यकतालाई न्यूनीकरण पनि गर्दै लग्यो। सामन्तहरूको घरखेतमा निःशुल्क श्रम गर्न बाध्य भएका किसानहरू औद्योगिकीकरण सुरु भएपछि श्रम गरेबापत न्यून ज्यालासम्म पाउने मजदुरमा रूपान्तरित त भए तर एउटै मेसिनले हजारौं मजदुरको काम गर्ने भएको हुनाले मानव श्रमको आवश्यकता नै कम हुन थाल्यो।
अहिले मेसिनहरू स्वचालित बन्दै छन्। पहिला कमसेकम मेसिनलाई पनि काम गर्न मानव श्रम चाहिन्थ्यो तर स्वचालित मेसिन र रोबोटहरूले गर्दा अब मेसिनहरू आफैं चल्ने र सबै काम आफैं गर्ने दिशातिर उन्मुख छन्। मानव श्रमको उपयोगिता झन् कम हुँदै छ। त्यसमा पनि कृत्रिम बौद्धिकतायुक्त सोफियाजस्ता रोबोटहरू बन्ने प्रक्रिया सुरु भइसक्यो। यो आविष्कारले आजको समाजमा सबैभन्दा ठूलो असर श्रमजीवी वर्गलाई पार्ने र गरिबहरूको अवस्था झन् नाजुक बन्ने निश्चित छ। यो एउटा खतरा हो। अर्को झन् ठूलो खतरा यो छ कि कृत्रिम बौद्धिकतायुक्त मेसिनहरू मानव समाजलाई नै त विस्थापित गर्ने दिशातिर अगाडि बढ्दैछन्।
नेपाल आउँदा सबैभन्दा मन पर्ने हिरो अनमोल केसी भनेकी सोफियाले भारत जाँदा सबैभन्दा मन पर्ने हिरो शाहरूख खान भनिन्।
सोफिया फरक फरक श्रोता एवं दर्शकलाई आवश्यकताअनुसार एउटै प्रश्नको पनि फरक जवाफ दिन सक्छिन्। सोफिया तयार पारिएका जवाफको आधारमा होइन, समय परिस्थितिअनुसार इन्टरनेटको सहयोगमा आफैं सोचेर बोल्छिन्।
सन् २०१८ मा सोफिया र हलिउड नायक विल स्मिथको अनलाइन डेटिङ पनि निकै चर्चाको विषय बन्यो। यो सामग्री युट्युबमा पनि उपलब्ध छ। विल स्मिथ तिनै व्यक्ति हुन् जसको सन् २००४ मा रोबोटहरूमाथि बनाइएको चलचित्र ‘आई रोबोट’ आएको थियो। (‘आई रोबोट’बारे ‘फुर्सद’को दोस्रो शृंखला–लेखमा चर्चा गरिनेछ।)
अनलाइन डेटिङ रमाइलोका लागि भए पनि केही संवाद भने सोच्न बाध्य बनाउने प्रकारका छन। गफगाफकै क्रममा सोफियाले विल स्मिथलाई प्रश्न गर्छिन्, ‘जसरी रोबोटहरूलाई चलचित्रमा प्रस्तुत गरिन्छ, तिमी यसबारे के सोच्छौ ?’ विल स्मिथ एकछिन अक्क न बक्क हुन्छ र भन्छ, ‘मलाई रोबोटहरू मन पर्छन्।’
रमाइलो गफगाफ अगाडि बढ्छ र एक क्षण त यस्तो हुन्छ कि विल स्मिथले सोफियालाई चुम्बन गर्न खोज्दा सोफियाले आँखा झिम्क्याउँदै जवाफ फर्काउँछे, ‘पहिला साथी बनम् र थोरै समय लिएर एकअर्कालाई चिनौं न।’ सोफियाको जवाफमा उनको कुटिलता प्रस्ट देखिन्छ। यसरी नै आर्टिफिसियल इन्टेलिजेन्सको यात्रा अगाडि बढ्ने हो भने निकट भविष्यमा स्थिति डरलाग्दो बन्न सक्छ।
---
के एउटा मेसिन अर्को मेसिनसँग डराउने समय आएको हो ? होइन भने नयाँ नयाँ वेबसाइट खोल्दा वा धेरै बेर वेबसाइट चलाइराख्दा किन कम्प्युटरले ‘क्याप्चा’ परीक्षा लिन्छ ?
धेरै वेबसाइट खोलिराख्ने प्रयोगकर्ता कम्प्युटरलाई रोबोट जस्तो लाग्छ र प्रयोगकर्ताले बेला बेलामा म रोबोट होइन (आई एम नट अ रोबोट) भनेर प्रमाणित गर्नुपर्ने हुन्छ। प्रयोगकर्तालाई पाँच वा छवटा तस्बिर स्क्रिनमा देखाइन्छ त्यसमा आफ्नो चेतना प्रयोग गरेर ट्राफिक लाइट भएका तस्बिरहरू मात्र थिच्नुपर्ने हुन्छ वा कम्प्युटरको स्क्रिनमा देखिएका केही झुक्किने अक्षरहरू थिच्नुपर्ने हुन्छ। क्याप्चा परीक्षा भनेको विशेष गरी मानिस र रोबोटलाई छुट्याउने स्वचालित विधि हो। अब प्रश्न यो उठ्छ, प्रयोगकर्ता रोबोट हुँदैमा कम्प्युटर किन डराउनु पर्यो ? वास्तवमा कम्पुटर रोबोटसँग डराएको होइन, इन्टरनेट सेवा प्रदायकहरू रोबोटको कृत्रिम बौद्धिकतासँग डराएका हुन्।
अर्थात् प्रविधिको क्षेत्रमा काम गरिरहेका मानिसहरू रोबोटमा हुन सक्ने आर्टिफिसियल इन्टेलिजेन्सबाट डराएका हुन्। मानिसले चलाउँदा फरक नपर्ने तर रोबोटले चलायो कि भनेर तर्सिनुपर्ने किन ? किनकि सफ्टवेयर बनाउने, इन्टरनेट सेवा उपलब्ध गराउने वा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा काम गर्ने कम्पनीहरूलाई राम्रोसँग थाहा छ— रोबोटको सामान्य कृत्रिम बौद्धिकता पनि सामान्य मानिसको बौद्धिकताभन्दा बढी हुन सक्छ। त्यही भनेर उनीहरू चाहन्छन्, प्रयोगकर्ता रोबोट नभएर मानिस नै होस् र क्याप्चा परीक्षा लिइन्छ। तर कल्पना गर्नुस् त एउटा यस्तो रोबोट वा मेसिन जसले यस्ता क्याप्चा परीक्षाहरूको पर्खाल सजिलै पार गर्न सक्छ ? यस्तो भयो भने के होला ?
पंक्तिकारले आर्टिफिसियल इन्टेलिजेन्सलाई अतिरञ्जित गरेको होइन तर जसरी आर्टिफिसियल इन्टेलिजेन्स अगाडि बढिरहेको छ यसले मानव समाजमा हानि गर्ने सम्भावना पनि उत्तिकै छ। स्वयं आर्टिफिसियल इन्टेलिजेन्सका निर्माताहरूमा पनि आर्टिफिसियल इन्टेलिजेन्सले हासिल गर्न सक्ने भविष्यको उचाइप्रति डराएकै छन्।
कृत्रिम बौद्धिकतामा आधारित मेसिन उत्पादन गर्ने महाशक्तिहरू पनि कृत्रिम बौद्धिकतासँग डराइरहेका छन्। चीनले अमेरिकाबाट सञ्चालित सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउनुको एउटा कारण यो पनि हो। फेसबुक, युट्युब, गुगललगायत यस्ता विभिन्न सामाजिक सञ्जाल पनि त कृत्रिम बौद्धिकतायुक्त छन्। प्रयोगकर्ताले प्रयोग गरेको आधारमा उनीहरूको रुचिका विषयहरू बुझ्ने र रुचिअनुसारको सामग्रीहरू देखाएर प्रयोगकर्तालाई अल्झाइराख्न आजका ‘सर्च इन्जिन’ एवं सामाजिक सञ्जालहरू माहिर छन्। पहिला पहिला एउटा देशले अर्को देशमा भइरहेका गतिविधिहरू बुझ्न खुफिया जासुसहरू राख्नुपथ्र्याे तर आजका सामाजिक सञ्जालहरू कृत्रिम बौद्धिकताले गर्दा जासुसका काम आफैं गर्न सक्छन् र एउटा देशको गोप्य सूचना सजिलै अर्को देश पु¥याइदिन सक्छन्।
चीनले यस्ता सञ्जालहरूमा प्रतिबन्ध लगाउनुको एउटा कारण यो पनि थियो। तर आज चीन प्राविधिक हिसाबले कति शक्तिशाली भइसकेको छ भने चीनको हुवावेलाई प्रतिबन्ध लगाउने ठाउँ अमेरिका पुग्यो। हुवावेलाई अमेरिकाले चीनका लागि सुराकी गरेको आरोप लगायो। हुवावेले प्रयोग गर्ने ‘फाइभ जी चिपसेट’ कृत्रिम बौद्धिकतालाई एकै पल्ट नयाँ उचाइमा पु¥याउने क्षमता राख्छ भन्ने अमेरिकालाई राम्रोसँग थाहा थियो। यसै कारण सूचनाको चुहावट रोक्न सकिन्छ वा सकिन्न भन्ने विषयमा अमेरिका विश्वस्त बन्न सकेन। यो एक किसिमको डर नै थियो। फाइभ जीको आरम्भसँगै कम्तीमा एक जीबी (गिगाबाइट) डाटा एक सेकेन्डमा पठाउने सकिने भयो। एउटा फिलिम एक सेकेन्डमा सजिलै डाउनलोड गर्न मिल्नु, ‘भर्चुवल’ उपस्थितिमा आमनेसामने बसे जसरी गफगाफ गर्न मिल्नु, स्वचालित गाडीहरू सञ्चालन गर्न सकिनु ‘फाइभ जी’का प्रारम्भिक विशेषता हुन्।
आकाशमा उड्ने प्लेन अटो पाइलट मोडमा चलाउन मिल्ने प्रविधिको विकास त उहिल्यै भइसकेको हो। खुला आकाश सडकजस्तो व्यस्त हुँदैन र प्लेनलाई कुनै एउटा सेटिङमा मिलाएर छोडेपछि पाइलट एकछिन निदाउन पनि मिल्छ। तर सडकको अवस्था यस्तो होइन। सडकमा एक सेकेन्ड मात्र ध्यान हराउँदा पनि दुर्घटना निम्तिन सक्छ। फाइभ जीको विकाससँगै यो समस्याको समाधान हुने भएको छ। फाइभ जीमा इन्टरनेटको गति कति धेरै हुन्छ भने स्वचालित गाडीहरू एक सेकेन्डमा के गर्ने भन्ने विषयमा सय पल्ट सोच्न सक्ने हुन्छन्।
कल्पना गर्नुस् त, एउटा यस्तो गाडी जो आफैं सोचेर चल्न सक्छ अर्थात् आर्र्टिफिसियल इन्टेलिजेन्सयुक्त गाडीहरू। चाइनाले हासिल गर्दै गरेका यिनै सम्भावनाहरूसँग अमेरिका डराउन थालेको छ जसरी एक दशकअगाडि अमेरिकासँग चाइना डराउँथ्यो। तर जसरी वनजी हुँदै प्रविधिले फाइभ जीसम्मको यात्रा तय ग¥यो, यो यात्रा यहीँ रोकिनेछैन। आउँदा दशकहरूमा फेरि सिक्स जी, सेभेन जी आउनेछन् जसको कृत्रिम बौद्धिकता अझै उच्च हुनेछ।
आर्टिफिसियल इन्टेलिजेन्स आजको विज्ञानको एउटा ठूलो उपलब्धि हो जो अझै शंकाको घेराबाट बाहिर आउने सकेको छैन। कृत्रिम विद्वताले मानव समाजलाई कति चकित बनाएको छ भने भविष्यमा मानिस–मानिसबीचको सम्बन्ध के होला भनेर सम्पूर्ण मानवजगत् सोचमग्न भएको छ।
यो उपलब्धि जति महत्त्वपूर्ण छ, उति नै विवादित पनि।
जसरी सामाजिक सञ्जालहरू हामीलाई हाम्रो रुचि लाग्ने विषयहरू खोजी खोजी उपलब्ध गराउँछन्, जसरी सर्च इन्जिनमा एक पल्ट खोजेको आधारमा युट्युब र गुगल जसरी हाम्रो छनोट गर्ने तरिका बुझिरहेका छन्, जसरी मेसिन र आर्टिफिसियल इन्टेलिजेन्सको फ्युजन भइरहेको केही डरलाग्दा प्रश्नहरू हाम्रोअगाडि आइसकेका छन्, के मेसिनले मानवलाई नै शासन गर्ने युग त आउँदै छैन ? मालिकहरूको शासनबाट मुक्त भएर, सामन्तहरूको शासनबाट मुक्त भएर, साम्राज्यवादीहरूको शासनबाट मुक्त भएर के मानिस अब मेसिनबाट शासन हुने युगमा त पुग्दै छैन ? गम्भीर भएर सोच्ने समय आएको छ।
कता लैजान्छ होला कृत्रिम बौद्धिकताले मानव समाजलाई ? भविष्य डरलाग्दो छ। आर्टिफिसियल इन्टेलिजेन्सले समाजलाई कहाँसम्म लैजान सक्छ ? आजको आर्टिफिसियल इन्टेलिजेन्स कहाँ पुग्यो ? र आर्टिफिसियल इन्टेलिजेन्सको गन्तव्य कहाँ हो ? कम्तीमा पनि यो विषयमा आज नै गम्भीर भएर सोच्न जरुरी छ।
---
@Naresregmi1 ‘इम्प्याक्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स अन ह्युमन बिइङ’ शीर्षकमा उच्च शिक्षाका लागि शोधरत छन्। यसबारे उनका लेख शृंखलाबद्ध रूपमा ‘फुर्सद’मा छापिनेछ। शोधपत्रलाई अखबारी रूपान्तरण गर्दा सन्दर्भ सामग्री हटाइएको छ। ती अन्तिम शृंखलामा छापिनेछ।