खोर नै घर

खोर नै घर

राजविराज : सप्तरी छिन्नमस्ता गाउँपालिका–५ स्थित राजविराज–कुनौली सडकको भिरालोमा डोम बस्ती छ। ऐलानी जमिनमा ११ जना डोम परिवार बस्छन्। टोलको कुनामा जुक्तिदेव मरिकको घर छ।

साढे तीन फिट लम्बाइ र त्यत्ति नै चौडाइको एककोठे घरमा हात टेकेर पस्नुपर्छ। खुट्टा तन्काएर सुत्ने ठाउँ छैन। ६५ वर्षीय मरिक त्यही घरमा गुँडुल्किएर सुत्छन्। भुइँमा पराल ओछ्याइएको छ। उनी परालमाथि मैलो कम्बलमा सुत्छन् र त्यही ओढ्छन्। छाप्रोको ठाउँठाउँमा प्वाल छ। छानो कालो प्लास्टिकको छ।

मरिकले दुई छोरी र तीन छोरा हुर्काए। छोरीहरू प्रमिला र सुशीलाको १६ वर्ष नपुग्दै विवाह भयो। छोरा ठूला हुँदै गएपछि छुट्टिए। उनको भागमा त्यही छाप्रो पर्‍यो। गरिबी र भूमिहीनताको संकट झेल्न नसकेर पत्नी दुई दशकअघि छाडेर हिँडेपछि मरिक एक्लिए। यी वृद्ध खाना पकाउन सक्दैनन्। दया गरेर कसैले ल्याइदियो भने छाक टर्छ।

बाँसको छाप्रोमा चिसो भुइँमा सुत्ने यी एक्ला होइनन्। पूर्ववडाध्यक्ष जयप्रकाश ठाकुरका अनुसार टोलका सबैलाई चुलो बाल्न धौ–धौ छ। पुस्तांैदेखि ऐलानी जमिनमा बस्दै आएका डोम समुदायको घर भनेकै एककोठे छाप्रो हो।

रीता मरिकको परिवार हावापानी नछेकिने गरी बाँसको बत्ती र थोरै परालले छाएको झुप्रोमा पराल ओछ्याएर सुत्छ। कालो प्लास्टिकले छाएको फुसको छाप्रोमा पिंकीदेवी मरिकको परिवार पनि भुइँमै रात गुजार्छ। गोला मरिकको पाँचजनाको परिवारको बास त सुँगुरको खोरमाथि बनेको मचानमा छ।

पराल र प्लास्टिकले छाएको फुसको छाप्रोमा हिउँदबर्खा कटाउँदै आएका उनीहरू वर्षामा चुहिने, गर्मीमा आगलागी हुने र हावाहुरीले उडाउने त्रासमा हुन्छन्। बस्ती हटाउन छेउका जग्गाधनीले छाप्रोनजिकै खाल्डो खनेका छन्। पानी जम्ने हुँदा दुर्गन्ध र लामखुट्टेको प्रकोप छ।

झापामा मल्लिक, सप्तरीपूर्व बाँसफोर र मरिक, सप्तरीमा मरिक, सिरहा र धनुषामा मल्लिक र डोम, पर्सामा मल्ली र राउत थर लेख्ने डोम समुदायको जनसंख्या राष्ट्रिय जनगणना २०६८ अनुसार १३ हजार २ सय ६८ छ। सबैभन्दा बढी सप्तरीमा एक हजार आठ सय ७१ छ।

अति विपन्न यी प्रत्येक परिवारसँग गरिखाने मेलोका नाममा बाँसजन्य सामग्री बनाउने सीप मात्र छ। उनीहरूले बनाएका सुपली, ढाला, कोनिया, ढकिया भगवान्लाई चढाइन्छ। कानुनी रूपमा छुवाछुत अन्त्य छ। डोमलाई सबैभन्दा तल्लो जातका रूपमा राखिएकाले उनीहरू शोषणको मारमा छन्।

‘नेपालमा डोम र मेस्तर जातिको अवस्था’ नामक पुस्तकका लेखक मणिलाल विश्वकर्मा भन्छन्, ‘जीवनका सबै क्षेत्रमा सबैभन्दा पछाडि रहेको डोम समुदायले भोगिरहेको समस्यामा छुवाछुत, विभेद, बेरोजगारी, भूमिहीनता, परम्परागत पेसाको गिरावटलगायत छन् भने राजनीतिक समस्यामा प्रतिनिधित्व, पहुँच, नियन्त्रण र सहभागिता कोसांै टाढा छ।’ शिक्षा र चेतना अभाव र कानुन कार्यान्वयन हुन नसक्दा विभेदमा परेका यिनीहरू अछुत बन्नुपरेका कारण पीडामा छन्।

सप्तरीमा खोरजस्तो घरमा बालक।

छिन्नमस्ता ६ का देवनारायण मरिक भन्छन्, ‘विभेदमा सबैभन्दा बढी मारमा परेको डोम र अन्य दलितलाई एकै किसिमले विश्लेषण गरिएकाले सही निष्कर्षमा पुग्न नसकिएको हो।’

आदिवासी, जनजाति, मधेसी, महिलाका कुरा खूब उठे, गरिब खसको पनि कुरा उठ्यो। तर दलितभित्रका दलित डोम समुदायको कुरा उठ्न नसको डोमका अगुवाको भनाइ छ। ‘अरू समुदायका मानिस मन्त्री–सांसद बन्न नपाएकाले विभेद भएको गुनासो गर्छन्। हाम्रो समुदायबाट त वडा सदस्यसमेत कतै छैनन्’, राजगढ गाउँपालिका–२ का नरेश मरिक भन्छन्, ‘सामाजिक, आर्थिक, राजनीतिक रूपमा सबैभन्दा पछाडि रहेको यो समुदायको न्यायोचित व्यवस्थापनमा राज्यको ध्यान कहिले पुगेन।’

उनीहरूले जग्गाको स्वामित्व नभएका कारण घर बनाउन सरकारी सहयोग पाएका छैनन्। ‘पुस्तौंदेखि जहाँ बस्यौं त्यही ठाउँमा घर बनाउन नपाउने व्यवस्था किन गरेको होला ? हाम्रो जन्म र मृत्यु भुस्याहा कुकुर जत्तिको पनि छैन’, जुक्तिदेव भन्छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.