मिथिलाको अद्भुत यात्रा
जनकपुरधाम : मिथिलाको अद्भुत यात्रा १५ दिवसीय माध्यमिकी परिक्रमा सुरु भएको छ। १५ दिनसम्म शान्त चित्तले पैदल तय गरिने यो धार्मिक यात्रालाई विश्वकै सबैभन्दा लामो धार्मिक पदयात्रा मानिन्छ।
देवालय, तपोभूमि, यज्ञस्थलको परिक्रमा गर्दा मनवाञ्छित फल प्राप्त हुने जनविश्वास छ। मिथिला पनि देवभूमि भएकै कारण परिक्रमा गर्दा मृत्युपरान्त मोक्ष प्राप्त हुने मान्यता बोकेर हजारौं यात्री यो धार्मिक यात्रामा सहभागी हुन्छन्।
‘यो धार्मिक आस्थाको महाकुम्भ हो’, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास भन्छन्, ‘प्राचिन मिथिला भनेर धर्म ग्रन्थमा उल्लेख भएअनुसार राजा जनकको भूभागमा रहेको ८४ कोस (१३३ किमि) को परिक्रमा गर्दा मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ।’
फागुन प्रतिपदामा यो धार्मिक यात्राको सुरुवात भइ फागु पूर्णिमाका दिन समापन हुन्छ। जनकपुरको अग्निकुण्डबाट निस्कने माता जानकी र कचुरी मठबाट निस्केको भगवान रामको डोलाकै नेतृत्वमा १५ दिन यात्री पैदल यात्रा गर्छन्।
नेपालको १०५ किलोमिटर र भारतको २८ किलोमिटर कच्ची, पक्की र जिर्ण सडकमा खाली खुट्टा हिड्नु निकै कष्टकर पनि हुन्छ। परिक्रमा वि श्राम स्थलमा पर्याप्त धर्मशाला, खानेपानी र शौचालयको बन्दोबस्त नहुनुले यसलाई कष्टकर बनाएको हो। तर, जति पाइला हिँड्यो त्यत्तिकै पुण्यप्राप्ति हुन्छ भन्ने मान्यताले सबै दुःख कष्ट बिर्साएर पनि यात्रीलाई हिँडिराख्न उत्प्रेरित गर्ने गरेको महन्थ नवलकिशोर यादव बताउँछन्।
परिक्रमा यात्रीलाई मासुजन्य र मदिरा जन्य पदार्थको सेवन पूर्ण रुपमा वर्जित हुन्छ। शौच गएपिच्छे नुहाएर चोखो भइ पुनः यात्रामा समावेश हुनु पर्छ। सूर्योदयदेखि यात्रा सुरु गर्ने परिक्रमा यात्रीले खानपानको प्रबन्ध आफैं मिलाएका हुन्छन्।
यो परिक्रमा १८१० सालमा प्रारम्भ भएको मानिन्छ। भारतको कलानेश्वर, फुलहर हुँदै महोत्तरीको मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर, औरही औरसाहा हुँदै फेरि भारतको करुणा, विसौल र कलानेश्वर पुगेर परिक्रमा यात्री जनकपुर आइपुग्छन्। फागू पूर्णिमाको दिन जनकपुरको अन्तरगृह परिक्रमापछि यो क्षेत्रमा होली पर्व मनाइन्छ।