मन्त्री अर्यालको अगुवाइमा घर-टहरा भत्काउन थालेपछि कोलाहल
महोत्तरी : महोत्तरी गौशलास्थित निगौल गाई गौशालाको जग्गामा बनेका घर, टहरा भत्काउन सुरु गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालको नेतृत्वमा निगौल गाई गौशालाको जग्गा अतिक्रमण गरी बनाइएका ३० घर टहरा भत्काउन थालिएको हो। 
मन्त्री अर्यालले मिचिएका सार्वजनिक जग्गा फिर्ता गर्ने सरकारको नीतिअनुसार नै घर टहरा भत्काउन लागिएको जानकारी दिइन् । यहाँ रहेका ३० घर मध्ये ३ घर मात्रै सुकुम्बासी देखिएको र अरु चाहीँ सुकुम्बासीको नाममा हुुकुमबासीहरुले जग्गा अतिक्रमण गरेको दाबी गरिन् । सार्वजनिक तथा गुठीका अभिक्रमित गर्ने अभियान काठमाडौंबाट यसअघि नै सुरु भएको र प्रदेश २ मा गौशलाबाट सुरु गरिएको मन्त्री अर्यालले बताइन्। 
घर भत्काउन तीनवटा डोजर प्रयोग गरिएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री स्वयं खटिएका छन् । दिउँसो ३ बजेसम्म १० वटा घर भत्काइ सकिएको छ । स्थानीयहरु आत्तिदै घरका सामान निकाली रहेका छन् । प्रहरीले पनि सामान निकाल्न सहयोग गरिरहेको छ।
मन्त्री अर्याल घर टहरा भत्काउने कामको नेतृत्व गर्न हेलिकप्टरबाट आएकी हुन् । शनिबार साँझ ५ बजेभित्रमा घरटहरा हटाउन गाई गौशालाले अन्तिम अल्टिमेटम दिएको थियो । सूचनालाई अटेर गरे कुनै पनि समयमा संरचना खाली गर्न यसअघि लिएको ३५ दिन समयावधि फागुन १२ मै सकिसकेको थियो।
अन्तिम अल्टिमेटम सकिए पनि यसरी घर भत्काइएला भन्ने नठानेका स्थानीयहरुले कुनै पूर्व तयारी गरेका थिएनन् ।
आइतबार बिहानैदेखि कुनै घरमा चुलो बलेको छैन । गाउँलेहरू भोकै छन्। 
प्रतिक्रिया दिनुहोस !