संसद्‌मा कोरोनाको चिन्ता : सरकारलाई गम्भीर हुन आग्रह

संसद्‌मा कोरोनाको चिन्ता : सरकारलाई गम्भीर हुन आग्रह

काठमाडौं : प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले ‘कोभिड–१९’ भित्रिन नदिनका लागि आवश्यक सावधानी अपनाउन र औषधिजन्य सामग्रीको कृत्रिम अभाव सिर्जना हुन नदिन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले कोरोना भाइरसको जोखिम बढ्दै गर्दा बजारमा कृत्रिम अभाव सिर्जना गर्ने क्रम बढेको र मास्कलगायत अत्यावश्यक सामग्रीको अभाव हुन थालेको भन्दै तत्काल आपूर्ति व्यवस्था मिलाउन सभामुखमार्फत सरकारसँग आग्रह गरेका हुन्।

नेपाली काँग्रेसका सांसद पुष्पा भुसाल गौतमले विश्वमा फैलँदै गएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भित्रिन सक्नेतर्फ सचेतना अपनाउन आग्रह गरिन्। नेकपाका सांसद धर्मशिला चापागाईले बजारमा अत्यावश्यक वस्तु अभाव हुन थालेकोतर्फ ध्यानाकर्षण गराउँदै छानबिन गरी अभाव सिर्जना गर्नेलाई तत्काल कारवाही गर्न आग्रह गरे। उनले सामान लुकाउने र कालोबजारी गर्ने अवस्था देखिएकाले अनुगमन गरी वस्तुस्थितिबारे सार्वजनिक गर्न माग गरे। 

छिमेकी मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि अहिलेसम्म नेपालमा रोगको सङ्क्रमण देखिएको छैन। चीनबाट आएका एक व्यक्तिमा देखिएको सङ्क्रमण हटिसकेको र त्यसपछि कसैमा नदेखिएको सरकारले जनाएको छ। बिहीबार मात्रै ‘कोभिड–१९’ को नियन्त्रण र रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना भित्रिन नदिन उच्च सतर्कता अपनाउने, बजारमा अभाव सिर्जना हुन नदिने र जनचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णय गरिसकेको छ।

विश्वका ८४ देशमा ‘कोभिड–१९’ को सङ्क्रमण फैलिसकेको छ। गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोभिड–१९ बाट विश्वभर ९८,३७० जना संक्रमित भएको पुष्टि भइसकेको छ। जसमध्ये ३,३८३ जनाले ज्यान गुमाइसकेका छन्। साथै ५५,४१८ जना निको भएका छन्।  

भ्रष्टाचार र पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न माग 

प्रतिनिधिसभाको शून्य समयमा बोल्ने क्रममा सांसदहरुले भ्रष्टाचार नियन्त्रण गर्न र पेट्रोलियम पदार्थको मूल्य स्वचालित दरमा राख्न माग गरेका छन्। नेपाली काँग्रेसका सांसद डिला सङ्ग्रौलाले कोरोना भाइरस जसरी नै भ्रष्टाचार मौलाएको बताउँदै सेक्युरिटी प्रेसको विषयमा छानबिन गरी दोषीलाई कारवाही गर्न र भ्रष्टाचार रोक्न सरकारको ध्यानाकर्षण गराइन्। 

काँग्रेसका अर्का सांसद दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दोब्बर कर बढाएको भन्दै त्यो फिर्ता गर्न माग गरे। पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय दरको आधारमा स्वचालित राख्नुपर्नेमा पाँच रुपैयाँ प्रतिलिटर बढी रहेको भन्दै उनले उक्त रकम फिर्ता गराई अपारदर्शी ढङ्गले सङ्कलन गरिएको रकमको अवस्था सार्वजनिक गर्न माग गरिन्।

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना 

शून्य समयमा प्रतिनिधिसभा सदस्यले दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेर अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरे। सांसदले मिर्गौला दिने समीक्षा सङ्ग्रौलाको साहसको उच्च प्रशंसा गर्दै सफल मिर्गौला प्रत्यारोपणले स्वदेशको अस्पताल र स्वदेशी चिकित्सकको विश्वास बढेको बताइन्।

नेकपाका सांसद पूर्णकुमारी सुवेदीले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै नेपालको चिकित्सा क्षेत्रको प्रशंसा गरे। नेकपाका अर्का सांसद नवराज सिलवालले प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेर नेपालको औषधि विज्ञानले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेको भन्दै खुशी व्यक्त गरे। उनले भने ‘मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीको ओलीको नेतृत्व अझै आवश्यक छ।’ नेकपा सांसद देवप्रसाद गुरुङले प्रधानमन्त्रीको शीघ्रस्वास्थ्य लाभको कामना गर्दै आउँदै गरेको महिला दिवसको अवसरमा समेत शुभकामना व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.