कामै नगरी १० लाख भुक्तानी

कामै नगरी १० लाख भुक्तानी

डोल्पा : जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकाको उपभोक्ता समितिले नक्कली कागजपत्र बनाएर १० लाख रकम भुक्तानी लिएको पाइएको छ । अनुगमन प्रतिवेदन नै नक्कली बनाएर समितिले रकम लिएको हो ।

त्रिपुरासुन्दरी मन्दिरदेखि कुमारीकोट बगरहुँदै फोक्सुण्डो प्रवेशद्धार सुलिगाड जाने पदमार्ग निर्माणका लागि नेपाल पर्यटन बोर्डले १० लाख रूपैयाँ उपलब्ध गराएको थियो । आर्थिक वर्ष ०७५-०७६ को पर्यटन पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पदमार्ग निर्माणको जिम्मा उपभोक्ता समितिलाई दिइएको थियो । समितिको मिलोमतोमा सव ओभरसियर जंगबहादुर थापाले तयार गरेको प्रतिवेदनको आधारमा नगरपालिकाले रकम भुक्तानी दिएको हो ।

तत्कालिन निमित्त नगर कार्यकारी प्रमुख हिराचन्द्र धरलाले कामै नभएको योजनामा रकम भुक्तानी दिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ । योजना अनुगमन संयोजक समेत रहेकी नगर उपप्रमुख चन्द्रकुमारी बुढाको किर्ते दस्तखत गरेर रकम भुक्तानी दिइएको हो । ‘म नभएको अवस्थामा निमित्त कार्यकारी हिराचन्द्र धरलासँगको मिलेमतोमा रकम दिइएछ’ उपप्रमुख बुढाले भनिन्, ‘फागुन २० गते नगर प्रमुखलाई निवेदन लेखेर कारवाही गर्न माग गरेपछि मात्रै कामै नगरी रकम दिएको खुलेको हो ।’

धरलालाई काम नभएको योजनाको रकम भुक्तानी नगर्न बारम्बार सचेत गराउँदा आफ्नै किर्ते दस्तखत भुक्तानी दिदाँ निकै अचम्म लागेको उनको भनाइ छ । सो योजना आफूले अनुगमन नगरेको बुढाले बताइन् । भुक्तानीका लागि दिइएको सिफारिसमा ०७६ बैशाख २८ मा सुरू भएको काम ०७६ असार १९ मा सम्पन्न भएको उल्लेख छ । धरलाले पदमार्ग तथा नगरका नीतिगत निर्णयमा मेयर÷उपमेयरलाई थाहा नदिइ स्वनिर्णय गरेको पाइएको छ ।

मनोमानी ढङ्गबाट उनले रकम भुक्तानी गर्न थालेपछि फागुन २३ मा कार्यपालिकाको बिशेष बैठक बस्यो । बैठकले धरला र उपभोक्ता समिति पदाधीकारीमाथि छानविन गरी कारबाहीको लागि सिफारिस गर्ने निर्णय गरेको छ । तर नगरप्रमुख ओमबहादुर बुढा भने नक्कली कागजातका आधारमा रकम भुक्तानी लिने र दिनेमाथि कारबाही हुने दावी गर्छन् ।

रकम भुक्तानी दिने उपभोक्ता समितिका अध्यक्ष खिमबहादुर बुढाले योजना सम्पन्न नभएको स्विकारे । ‘म काम विशेषले जिल्ला बाहिर थिए, समितिका सदस्य र गाउँलेलाई काम गर्न आदेश थियो । म आउँदा आर्थिक मसान्त सकिन लागेपछि प्रक्रिया मिलाएर रकम भुक्तानी लिएका हौ’, उनले भने । रकम लिन उपप्रमुखको दस्तखत किर्ते नगरिएको र फिर्ता जाने रकम सबैको सल्लाहमा पछि काम गर्ने गरी उपभोक्ताको खातामा राखिएको उनले बताए ।

कामै नगरी रकम लिएको हल्ला भएपछि दुई दिनदेखि पदमार्ग निर्माणको काम थालिएको छ । धरलाले उपभोक्ताको मिलेमतोमा कमिसनका लागि रकम भुक्तानी दिएको स्थानीयको आरोप छ । अन्नपूर्णसँग धरलाले भने, ‘मैले एक रूपैंयाँ पनि कमिसन खाएको छैन, प्राविधिकले तयार गरेको कार्यसम्पन्न रिर्पोट र योजना शाखाको टिप्पणीका आधारमा रकम भुक्तानीका लागि लेखालाई सिफारिस दिएको थिए ।’ योजनाको कामै नभएको उनले पनि स्विकारे । कामै नभएको योजनाको टिप्पणी नगरपालिका योजना शाखा प्रमुख हेमन्त बोहराले उठाएका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.