प्रेस लेखेको मोटरसाइकलमा लागूऔषध
![प्रेस लेखेको मोटरसाइकलमा लागूऔषध](https://annapurnapost.prixacdn.net/media/albums/lagu-ausad_20200310111009_M7UgUrOL0F.jpg)
सिमरा : प्रेस लेखेको मोटरसाइकलमा लागूऔषध ओसारपसार गर्ने भारतीय नागरिकसहित दुइजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यलय सिमराको प्रहरी टोलिले नौ सय थान प्रतिबन्धित लागूऔषध फेनारगन, डाइजीपाम र नुफिनसहित दुई जनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ का ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारत बिहारका २२ वर्षीय नासिर आलम रहेका छन् । सिंहलाई ना ६२ प ६२६७ नम्बरको मोटरसाइकल र आलमलाई साइकलसहित नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक गोविन्द पुरिले जानकारी दिए ।
लागूऔषध बिक्री गर्न ल्याइरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको डिएसपी पुरीले बताए । सिंहले प्रयोग गरेको मोटरसाइकलमा प्रेस लेखिएको छ ।
पक्राउ परेका सिंह भने पत्रकारिता क्षेत्रका होइनन् । उनले लागूऔषध ओसारपसार र बिक्री गर्न मोटरसाइकलमा प्रेस लेखेर दुरुपयोग गरेको देखिन्छ । प्रारम्भिक अनुसन्धानबाट राजमार्गमा चेकजाँच नहोस् भनेर प्रेस लेखेको मोटरसाइकल प्रयोग गरेको हुनसक्ने देखिएको डिएसपी पुरीले बताए ।
प्रेसको दुरुपयोग गरिएको मोटरसाइकल कसको नाममा दर्ता भएको अनुसन्धानबाट खुल्ने र पक्राउ परेकालाई लागूऔषध मुद्दामा कारवाही गरिने डिएसपी पुरीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)