सिक्किम सेमिफाइनलमा

सिक्किम सेमिफाइनलमा

मलंगवा : कञ्चनजंघा फुटबल क्लब सिक्किम सर्लाहीको बागमतीमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सिक्किम मंगलबार भएको दोस्रो क्वार्टरफाइनल खेलमा आयोजक बागमती नगरपालिका फुटबल क्लबलाई १—० गोलले हराउँदै प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको हो ।

तीन राष्ट्रिय खेलाडी र दुई विदेशी खेलाडीसहित मैदानमा ओर्लिएको आयोजक बागमती नगरपालिकाले खेलभर विपक्षीलाई गतिलो चुनौती दिए पनि जवाफी गोल भने फर्काउन सकेन । सिक्किमका लागि खेलको १८औं मिनेटमै करण थापाले निर्णायक गोल गरेका थिए । पहिलो हाफमा सिक्किमले खेललाई आफ्नो नियन्त्रणमा राखेको थियो ।

खेलाडीबीच गतिलो तालमेल नमिल्दा बागमतीले पहिलो हाफमा सोचेजस्तो प्रदर्शन गर्न सकेन । विदेशी खेलाडी पिटर सेगुनले रक्षापंक्तिमा उत्कृष्ट प्रदर्शन गरेका कारण आयोजक टोली थप गोल खानबाट जोगिएको थियो । खेलको २१औं मिनेटमा सिक्किमका सुब्रोतो सोरेनले बागमतीका योगेश

गुरुङलाई डीबक्स नजिकै लडाउँदा बागमतीले गोल फर्काउने गतिलो अवसर पाएको थियो । तर, विमल घर्तीमगरले प्रहार गरेको बल गोलभन्दा केही माथिबाट बाहिर हुइँकिएको थियो ।

यसैगरी २७औं मिनेटमा सुनील बलले गोलपोस्ट नजिकै पाएको बललाई गोलमा परिणत गर्न नसक्दा बागमतीको अर्को अवसर खेर गएको थियो । दोस्रो हाफमा भने बागमतीले सिक्किमलाई दबाबमा राखेको थियो । पहिलो हाफमै गोल गरेका कारण सिक्किम दोस्रो हाफमा रक्षात्मक नीतिसहित मैदानमा ओर्लिएको थियो ।

दोस्रो हाफमा बागमतीका खेलाडीले करिब आधा दर्जन सशक्त प्रहार गरे पनि सिक्किमका गोलरक्षकले उत्कृष्ट बचाउ गरेका थिए । बागमतीबाट राष्ट्रिय टोलीका विमल घर्तीमगर, सुनील बल र बुद्ध चेम्जोङले पनि खेलेका थिए । राम्रो खेल देखाएका सिक्किमका गोलरक्षक निगम सिंह म्यान अफ दी म्याच घोषित भए । सिंहले १० हजार रुपैयाँ र एक जोर बुट पुरस्कार पाए । बुधबार तेस्रो क्वार्टरफाइनल खेल ब्वाइज युनियन क्लब काठमाडौं र नेपाल पुलिस क्लबबीच खेलिनेछ । बागमती र सिक्किम बाई पाएर सीधै क्वार्टरफाइनलमा पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.