‘गुरुमापा’ पूजामा सेनाको झमेला
काठमाडौं : देवरत्न महर्जन (ग्वारा दाजु) एक पाथी चामलको भात बोकेर सोमबार राति टुँडिखेल पुगे। उनीसँगै इतुंबहाल (इटुम्बहाल) का स्थानीय एउटा सिंगै राँगाको मासु र अन्य परिकार बोकेर टुँडिखेल पुगेका थिए। उनीहरू टुँडिखेलमा बस्ने गुरुमापालाई मासु र भात टन्न खुवाउन चाहन्थे।
रातको ११ बजिसकेको थियो। टुँडिखेलको गेटमा ताल्चा मारिएको थियो। सुरक्षामा बसेका सेनाले स्थानीयलाई भित्र पस्न दिएनन्। टुँडिखेलमा रहेका गुरुमापालाई भात खुवाउने परम्पराबारे त्यहाँका कर्मचारी अनविज्ञ थिए। भित्र पस्नका लागि सेनासँग स्थानीयको केही समय विवाद नै भयो। स्थानीय संस्कृतिसँग झिजेका पुराना कर्मचारीसँगको वार्तलापपछि बल्ल गेट खोलियो। त्यतिन्जेल ग्वारा दाजु खर्पनमा भातको भारी बोकेर उभिरहे।
भारी कतै नबिसाइ टुँडिखेल पुर्याउनुपर्ने भएकाले सेनासँगको लामो विवादले ग्वारा दाइलाई ठूलो पीडा दियो। सार्वजनिक टुँडिखेलमा सरकार र सेनाको अतिक्रमण बढ्दै गएपछि टुँडिखेलसँग जोडिएका सांस्कृतिक परम्परा यस्तै अप्ठ्यारा परिस्थितिसँग जुझ्दै आएको छ। सेनाको अनुमतिबिना सार्वजनिक टुँडिखेलमा सर्वसाधारणले पाइला टेक्न नपाउने भएपछि हरेक जात्रापर्वमा स्थानीय र सेनाको विवाद हुँदै आएको छ।
काठमाडौं सहरमा पर्ने हरेक विपद्लाई पन्छाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको टुँडिखेल कुनै समय जनताको प्रत्यक्ष स्वामित्वमा थियो। हरकोहीले खुला आवत–जावत गर्न मिल्थ्यो। पछि टुँडिखेलमा बार लगाएसँगै स्थानीय थुपै्र जात्रापर्व संकुचित हुँदै गएको इतिहाँसकार बताउँछन्।
इतिहाँसकार योगेन्द्रमान श्रेष्ठ भन्छन्, ‘टुँडिखेलमा २०१७ सालपछि लगाइएको फलामेबार सांस्कृतिक अतिक्रमणको नमुना हो।’ त्यतिबेला बेलायतकी महारानी एलिजाबेथको नेपाल भ्रमणसँगै काठमाडौंमा पश्चिमीकरण हाबी भयो। त्यसपछि राजनीतिक परिवर्तनसँगै मौलिक संस्कृतिमा प्रहार हुँदै आएको श्रेष्ठ बताउँछन्। नेवार समुुदायले प्रत्येक वर्ष पाःचह्रे (घोडाजात्रा) मा टुँडिखेलमा देवताको खट जुधाएर जात्रा मनाउँछन्।
घोडेजात्रा मनाउने प्रचलन टुँडिखेलमा बस्ने राक्षसी गुरुमापालाई घोडाको टाप (खुर) ले कुल्चिकुल्चि मार्नका लागि सुरु भएको थियो। त्यस्तै हरेक वर्ष फागुनशुक्ल पूर्णिमाको रात राक्षसका रूपमा चिनिने गुरुमापालाई काठमाडौंका स्थानीयले भातखुवाउने परम्परा छ। संस्कृतिविद् तेजेश्वरबाबु गोंगकाअनुसार पहिलेदेखि नै टुँडिखेलमा स्थानीयले देवाली मनाउने, गुरुमापालाई भात खुवाउनेजस्ता सांस्कृतिक क्रियाकलाप हुँदै आएका छन्।
गोंग भन्छन्, ‘सार्वजनिक टुँडिखेलमा बार लगाउनु त्यहाँ मनाइने सांस्कृतिक परम्परामै अंकुश लगाउनु हो।’ राज्यले आधुनिकतालाई अपनाउँदै गर्दा मौलिक संस्कृतिलाई छायाँमा पार्दै लगेको उनी बताउँछन्।
मान्छे खाने गुरुमापा
इतुंबहालका स्थानीय रत्नाकार बज्राचार्यकाअनुसार फागु पुन्ही (फागु पूर्णिमा) को रात किलागलका महर्जन गुथिबाट श्री केशचन्द्र कृत पारावर्त महाविहारमा गुरुमापाका लागि चुलोमा भात पकाइन्छ। अजंगको शरीर, अग्लो कद हेर्दै डरलाग्दो थिए गुरुमापा कुनै समय काठमाडौं सहरमा मान्छे खाने राक्षसको रूपमा चिनिन्थे।
सहरलाई गुरुमापाको त्रासबाट जोगाउन स्थानीयले वर्षको एकपल्ट एक मुरी चामलको भात र मासु खुवाउने बाचासहित बस्तीभन्दा बाहिरको टुँडिखेल पुर्याएका थिए।
यस वर्ष ६६ वर्षीय ग्वारा दाजुले यो वर्ष गुरुमापालाई भात खुवाउन खर्पनमा राखिएको पीचा (टोकरी) बोकेको बज्राचार्यले बताए। ‘पीचालाई कतै पनि नबिसाइ टुँडिखेलसम्म पुर्याइन्छ,’ उनले भने, ‘तीन पटकसम्म पीचा बोक्न मौका दिइन्छ। जसले सक्छ उसल नै टुँडिखेलसम्म बोकेर लैजाने गर्छ।’ सोमबार राति पीचा बोक्न किलागलका धेरै युवाहरूले प्रयास गरे तर सकेनन्। पछि ग्वारा दाजुले दोस्रो प्रयासमा बोक्न सफल भएका थिए।
न्यूरोडमा रहेको गणेश मन्दिरबाहेक अन्य कुनै पनि ठाउँमा पीचा बिसाउन पाइँदैन। न्यूरोडको पिपलबोटमुनि त्यहीँ भातको केही अंश राखी पूजा गरिन्छ। त्यहाँबाट भात छर्दै तिंख्य (टुँडिखेल) को बीचमा बाँकी भात खनाइन्छ। त्यहाँ पनि पूजा हुन्छ। त्यसपछि मासको दाल र रांगाको मासुलाई भातमा चढाइन्छ। गुरुमापालाई भात खुवाइ सकेपछि सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाइन्छ।
नायिखं बाजाका साथ तिंख्य पुगेका स्थानीयले पनि त्यहीँ बसेर प्रसाद ग्रहण गर्छन्। सोही रात होली समाप्त भएसँगै बसन्तपुरमा ठड्याइएको चीर टुँडिखेलमा लगेर दाह गरिने चलन छ।