‘अफिम’बाँड्ने बाबा

‘अफिम’बाँड्ने बाबा

दार्शनिक कार्ल माक्र्सले धेरै पहिले धर्मलाई अफिमसँग तुलना गरेका थिए। यतिबेला त्यो झनै सत्य साबित हुन सक्छ। आजभोलि आफूलाई धर्मगुरु बताउनेहरू अफिम व्यापारीसरह बनेका छन्। कतिपय मुलुकमा त तिनको शक्ति राजनेताको भन्दा बढी देखिन्छ। 

जर्ब धर्मान्धताको कुरा आउँछ, भारतको नाम सबैभन्दा पहिले सम्झिइने गरिन्छ। पछिल्लो दशकमा हिन्दुत्वको राजनीतिले मलजल पाएसँगै धर्मगुरुहरूको प्रभाव र  तिनको कुकृत्य एकसाथ बढिरहेको छ। लाखौँ भक्त, अर्बौं रुपैयाँ, शक्तिकेन्द्रमा बलियो प्रभावले तिनको शक्ति विस्तार गर्न ठूलो भूमिका खेलेका छन्। आम मानिसमा रहेको साम्प्रदायिक भावना, कमजोर शिक्षा प्रणाली पनि यसका लागि जिम्मेवार छन्।

धर्मगुरुहरू मानिसलाई मूर्ख बनाउन मात्रै होइन, गम्भीर अपराध गरेर त्यसबाट उम्किन पनि सफल भएका छन्। अनेकौँ बाबाजीहरू बलात्कार, हत्या, ठगी, आगजनीजस्ता गम्भीर अपराधमा मुछिएका छन्। केही जेलमा छन्। 

र, यो रोग कुनै एक धर्ममा सीमित छैन। क्याथोलिक चर्च पादरीहरूको अपराध शृंखला कुनै एक मुलुक र एक युगमा सीमित छैन। जसको जालो बिस्तारै सार्वजनिक हुँदै गएको छ। मुस्लिम धर्मगुरुहरूले खुलेआम आतंकलाई समर्थन गर्दै आएका छन्। म्यानमारजस्ता मुलुकमा बौद्ध भिक्षुहरू अल्पसंख्यक रोहिंगा मुस्लिममाथिको बर्बरतालाई समर्थन गरिरहेका छन्। यस्तो देखिन्छ, धर्मको अफिम राजनीतिमा घोलिएपछि त्यो झनै खतरनाक बन्ने गर्छ। 

गम्भीर अपराधमा संलग्न नभएका धर्मगुरुहरू पनि झुट र भ्रमको सहारामा आफ्नो प्रभावक्षेत्र विस्तार गरिरहेका छन्। श्री श्री रविशंकर, जग्गी वासुदेवलगायत स्वामीहरू बारम्बार चर्चामा रहने गरेका छन्। तिनले विज्ञानको अपव्याख्या मात्रै गरेका छैनन्, अन्य समुदायमाथि घृणाजन्य घटना फैलाउन आगो झोस्ने काम पनि गरिरहेका छन्। यस्तै मानिसकता बोकेर हुर्केको समाजमा जहिले पनि साम्प्रदायिक हिंसा मच्चिने खतरा हुन्छ। हालै दिल्लीमा भएको मुस्लिम नरसंहारलाई यसको उदाहरण मान्न सकिन्छ। 

यस्ता केही भारतीय धर्मगुरुबारे यहाँ चर्चा गरिन्छः

गुरमित राम रहिम सिंह

भारतीय धर्मगुरु गुरमित राम रहिम सिंहको अपराधको फेहरिस्त निकै लामो छ। उनले दुई दशकअघि दुई महिला भक्तलाई बलात्कार गरेका थिए। सो विषयलाई सार्वजनिक गर्ने पत्रकारको समेत उनले हत्या गरेका थिए। साथै, चार सय जना भक्तलाई जबर्जस्ती धार्मिक तथा आध्यात्मिक कार्य गर्न बाध्य बनाएको आरोप पनि उनीमाथि लागेको थियो। डेरा सच्चा सौदा नामक धार्मिक पन्थका नाइके उनलाई सन् २०१७ मा सीबीआई अदालतले बलात्कारमा दोषी ठहर गरेको थियो। अदालतमा दोषी ठहर हुनेबित्तिकै उनका समर्थकले हिंसा मच्चाएका थिए। जसमा कयौँको ज्यान गएको थियो। अगस्ट २०१७ मा उनलाई २० वर्षका लागि जेल सजाय सुनाइयो। 

गत वर्षको जनवरीमा पत्रकार राम चन्दर छत्रपति हत्यामा पनि उनी दोषी साबित भए। र, अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको छ। छत्रपतिले बलात्कारबारे समाचार छापेको पाँच दिनमै उनको हत्या गरिएको थियो। धर्मका अलावा राम रहिमले अनेकौँ फिल्म र एल्बम पनि निकालेका थिए। उनले आफूलाई अभिनेता, निर्देशक, लेखक, गीतकार समेत भन्दै आएका थिए। धेरैले उनलाई रकस्टार बाबाका  रूपमा चिन्थे।

राम रहिमले २३ वर्षको हुँदा गैरनाफामुखी धार्मिक संस्था खोलेका थिए। विश्वभर यसका ४६ केन्द्र खोलिएका थिए। रक्तदान अभियान चलाउँदै आफूलाई समाज रूपान्तरण गर्ने व्यक्तिका रूपमा प्रस्तुत गर्ने उनले सन् २०१० मा एउटा सामूहिक विवाह कार्यक्रम राखेका थिए। जसमा उनका एक हजार भक्तले यौनकर्मीसँग विवाह गरेका थिए। 

आशाराम बापु 

आशाराम बापुमाथि लामो समयदेखि गम्भीर अपराधको आरोप लाग्दै आएको थियो। तर, उनी आफ्नो शक्ति प्रयोग गरेर सजायबाट उम्किँदै आएका थिए। अन्ततः नाबालिग भक्तमाथि बलात्कार गरेको आरोप पुष्टि भएसँगै उनी सन् २०१३ देखि जेलमा छन्। उनलाई आजीवन जेल सजाय तोकिएको छ। उनले उत्तर प्रदेशकी एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेका थिए।

उनलाई जेल सजाय तोकिएपछि दशौँ हजार समर्थकले अदालतबाहिर नाराबाजी गरेका थिए। 

आशाराम बापुमाथि उनकै दुई जना भक्तले आफ्नी छोरीमाथि बलात्कार गरेको उजुरी दिल्लीमा दर्ता गराएका थिए। ती पीडित किशोरीले आफूमाथि आशारामले एक घण्टाभन्दा बढी समय दुव्र्यवहार गरेको, मुख मैथुन गर्न लगाएको र कसैलाई भने परिवारलाई मारिदिने धम्की दिएको खुलासा गरेकी थिइन्। चिकित्सकीय जाँचबाट पीडितको आरोप प्रमाणित भएको थियो। तर, आशारामले सबै आरोप अस्वीकार गर्दै आएका थिए। 

७७ वर्षका अशारामलाई जेलसजाय भएसँगै उनका अन्य कृत्य पनि सार्वजनिक हुन थालेका छन्। उनले गुजरातमा अर्की महिलालाई बलात्कार गरेको पनि सार्वजनिक भएको छ। 

आशारामको वास्तविक नाम असुमल हरपलानी हो। पाकिस्तानमा जन्मिएका उनको परिवार अहमदाबादमा बसाइँ सरेको थियो। सन् १९७२ मा उनले आश्रम खोलेका थिए।  

सन २००८ मा उनको आश्रमनजिकै दुई जनाको लाश भेटिएको थियो। ती लाशबाट अंग गायब पारिएका थिए। अनुसन्धानका क्रममा आशारामका सात अनुयायी पक्राउ परेका थिए। 

प्रज्ञा सिंह ठाकुर

२९ सेप्टेम्बर, २००८ मा भारतको महाराष्ट्र र गुजरात राज्यमा तीन वटा बम विष्फोट गराइयो। जसबाट १० व्यक्तिको मृत्यु हुनुका साथै ८० भन्दा बढी मानिस घाइते भए। दुई वटा बम महाराष्ट्रको मालेगाउँमा विष्फोट भएको थियो, जहाँ नौ जनाले ज्यान गुमाएका थिए। 

मालेगाउँको भिक्कु चोकमा रहेको एउटा होटलनजिकै हिरो होन्डा मोटरसाइकलमा राखिएको बम विष्फोट भएको थियो। 

सो विष्फोट गराएको आरोपमा प्रज्ञा सिंह ठाकुर पक्राउ परिन्। सुरुमा उनी हिन्दूवादी भारतीय जनता पार्टीको भ्रातृ संगठन अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) की कार्यकर्ता थिइन्। पछि आफूलाई साध्वी घोषणा गरेकी उनी अहिले भाजपाको तर्फबाट सांसद् छिन्। त्यति मात्र होइन, गान्धी हत्यामा गोड्सेको पक्षमा वक्तव्य पनि दिइरहेकी छन्। 

बम विष्फोटमा उनको मोटरसाइकल नै प्रयोग भएको अनुसन्धानबाट खुल्यो। २००८ मा अजमेर दरगाह, सम्झौता एक्सप्रेसलगायत बम विष्फोटमा उनको मुख्य भूमिका रहेको अर्का आरोपित स्वामी असीमानन्दले बयान दिए। अनेकौँ प्रयासपछि उनले स्तन क्यान्सर भएको भन्दै सन् २०१७ मा जमानत पाइन्। तर, जेलबाट छुटेपछि उनी राजनीतिमा प्रवेश गरिन्। गत वर्षको आम चुनावमा भोपालबाट उनले कंग्रेसका दिग्विजय सिंहलाई पारजित गर्दै चुनाव जितिन्।

रामपाल

सतलोक आश्रमका संस्थापक रामपालले आफूलाई सन्त कबिरको अवतार दाबी गर्दै आएका थिए। हाल उनी हत्या आरोपमा हिसार सेन्ट्रल जेलमा आजीवन कारावासको सजाय काटिरहेका छन्। 

विभिन्न छ वटा जघन्य अपराधको आरोप उनीमाथि लागेको थियो। सन् २०१० देखि २०१४ सम्म अदालतले ४३ पटक झिकाउँदा पनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको थिएन। उनका भक्तले लाठी, गोली बर्साएर प्रहरीलाई लखेटेका थिए। अन्ततः २०१४ मा उनी पक्राउ परे। उनको आश्रमभित्र पाँच महिला र एक बच्चाको शव फेला परेको थियो। 

नित्यानन्द

नित्यानन्दमाथि पनि बलात्कारको आरोप लागेको छ। भारतमा जन्मेकी एक अमेरिकी नागरिक आरती रावले सन् २०१२ मा उनलाई बलात्कार आरोप लगाएकी थिइन्। तर, नित्यानन्दले आरोप अस्वीकार गर्दै आएका छन्। 

स्थानीय टेलिभिजनले नित्यानन्द र एक अभिनेत्रीको अश्लील भिडियो पनि सार्वजनिक गरेको थियो।

अन्नपूर्ण सम्पूर्णबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.