नेपाल फर्किन नपाएपछि चिनियाँ ईञ्जिनियरले अनलाइनबाटै काम थाले
दमौली : तनहुँमा निर्माणधिन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनामा कार्यरत चिनियाँ प्राविधिकले स्वदेशबाटै अनलाइनमा काम थालेका छन्। चिनियाँ सिनो हाइड्रो कम्पनीले ठेक्का पाएको आयोजनाको विद्युत गृहको काम एक वर्षयता ऋषिङ गाउँपालिकाको झापुटार क्षेत्रमा जारी छ। तर चीनमा देखिएको कोरोनाको संक्रमणसँगै चिनियाँ बहुल उच्च प्राविधिक कर्मचारीको अभावमा काम प्रभावित भएपछि अनलाइनबाटै विकल्प खोजिएको हो।
चीनमा कोरोनाको प्रकोप शुरु हुनु अघि नै नयाँ वर्ष मनाउन गएका ईञ्जिनियरसहितका कर्मचारी यात्रा प्रतिबन्धका कारण आउन सकेका छैनन्। काम प्रभावित हुन थालेपछि चिनियाँ इञ्जिनियरहरुले डिजाइनसहितका अरु प्राविधिक काम अनलाइनबाटै गर्न थालेको आयोजनाका साइट इञ्चार्ज विदुर अधिकारीले अन्नपूर्णलाई बताए। ‘काम धेरै प्रभावित नहोस् भनेर उहाँहरुले उतैबाट काम थालेको जानकारी पाएका छौं,’ उनले भने।
आयोजनाका वरिष्ठ अधिकृत तुलसी सापकोटाका अनुसार निर्माण कम्पनी सीनो हाइड्रोले सामान्य श्रमिकका रुपमा झण्डै दुई सय नेपालीलाई काम दिए पनि ईञ्जिनियर र दक्ष प्राविधिकको काम चिनियाँलाई नै दिएको छ। उनका अनुसार २५ को हाराहारीमा चिनियाँ प्राविधिक आयोजनामा कार्यरत छन्। तर बिदा मनाउन गएका भण्डै एक दर्जन कर्मचारी फर्कन सकेका छैनन्। ‘केही कर्मचारी कोरोनाका कारण फर्कन सकेका छैनन्,’ उनले भने,‘तर पहिल्यैदेखि यहाँ भएकाले भने काम गरिरहेका छन्।’
क्वारेन्टाइन पछि दुई काममा
चीनमा कोरोनाको संक्रमण देखिएकै अवधिमा आयोजनाका दुई चिनियाँ कर्मचारी काममा फर्किएका छन्। आयोजना स्रोतका अनुसार उनीहरु त्रिभुवन विमानस्थलबाट सोझै आए पनि यहाँ भने केही दिन क्वारेन्टाइनमा बसेका थिए। ‘उतै (चीनमा) परीक्षण गरेर आएका रहेछन्,’ साइट इञ्चार्ज अधिकारीले भने ‘तर यहाँ केही दिन अलग्गै राख्यौं।’ अतिथि कक्षमा राखिएका उनीहरुले साता दिन पछि केही नभएको प्रमाणपत्र पेश गरे पछि मात्र उनीहरुलाई काममा लगाइएको उनले बताए।
चिनियाँ कामदारमा मनोवैज्ञानिक त्रास
देशमा फैलिएको संक्रमणका कारण काम गरिरहेका चिनियाँको काममा पनि प्रभाव परेको छ। ‘उनीहरु आफ्ना परिवार र देशको अवस्थाले चिन्तित देखिन्छन्,’ पोखरेलले भने ‘काममा भए पनि मनोवैज्ञानिक त्रासमा उनीहरु छन्।'
प्रतिक्रिया दिनुहोस !