मादी मलिलो धरा
विदेश भ्रमणमा जाँदा अक्सर कतिपय मलाई सोध्ने गर्थे, ‘तिमी नेटिभ (मूल निवासी) नेपाली हौ ? ’ कोही मलाई भारतीय मूलका ठान्थे त कोही भारतबाट बसाइँ सरेको अनुमान गर्थे। हिमालयको सेरोफेरो मेरो जन्मथलो भन्दा कतिपयलाई आश्चर्य लाग्थ्यो। हिमालय शृंखलामा सर्वोच्च शिखर सगरमाथाभन्दा १९ किलोमिटर दक्षिणपूर्वमा अवस्थित विश्वको पाँचौं अग्लो शिखर मकालुको काख मेरो जन्मथलो भन्दा तिनीहरू छक्क पर्थे।
पिलुवा पुलबाट मादीसम्मको सडक मार्गको दूरी साढे दस किलोमिटर हो। तर बाटो कच्ची भएकाले जुनसुकै गाडी मादी पुग्न सक्दैन भन्ने जानकारी पाएपछि खाँदबारीबाट दुइटा चारपांग्रे गाडीको व्यवस्था गरेका थियौं। चैनपुरबाट ओरालो झरेपछि माया र पिलुवाको संगम देखियो। अरुण नदीको एउटा सहायक नदी हो– पिलुवा। त्यही पिलुवा र मायाका कथा–उपकथा किम्वदन्ती सुनेर हामी हुर्कियौं। जति रात छिप्पिँदै जान्थ्यो, माया खोलाको गर्जन बढ्दै गएको प्रतीत हुन्थ्यो सानोमा। ५० वर्षअगाडि माया खोला तरेपछि केही मास्तिर खेतमा वास बसेको सम्झन्छु।
जुन माया खोलाको गर्जन सुनेर म हुर्किएँ, त्यो माया खोला अहिले त्यही मात्रामा गर्जिए जस्तो लागेन। समुद्री सतहबाट झन्डै पाँच सय मिटर उचाइमा रहेको रामवेनी दोभानबाट मादी नगरपालिका सुरु हुँदो रहेछ। पहिलेको मादी रामवेनी, मादी मूलखर्क र मावादिन गाविसलाई गाभेर २९ सय मिटर उचाइका भञ्ज्याङ, खर्कसमेत समेटी मादी नगरपालिका भएको रहेछ,। पिलुवा र मायाको संगम अर्थात् मादी रामवेनीको रामालयमा रामनवमीमा ठूलो मेला लाग्थ्यो।
रामालय शिवालयको स्मृति छचल्किरहेका बेला पानी बोकेको एउटा ट्याक्टर उकालो लाग्न संघर्ष गरिरहेको देखियो। कच्चा भए पनि यो बाटो फराकिलो छ। केहीबेरमै मेरो जन्मथलो/घरमुनि गाडी रोकियो। कान्छा हजुरबा र हाम्रो गरी एक जोडी घर केही वर्ष अगाडिसम्म टाढाबाट प्रस्ट देखिन्थ्यो। एक सय वर्ष पुरानो एउटा जीर्ण घर अहिले पनि पुरानो वैभवको इतिहास समेटेर उभिएको छ जबकि ८५ वर्षअगाडि बनेको म जन्मेको अर्को घर भत्काइएको हुँदा हामी केहीको स्मृतिमा मात्र शेष छ।
नेपाल एकीकरणपूर्व अरुण नदीपूर्वका इलाकालाई पल्लो किराँत भनिन्थ्यो। २०१८ साल वैशाखमा भएको प्रशासनिक विभाजनअनुसार ७५ जिल्लाको नामाकरण भयो। त्यसपहिले ३५ जिल्ला अस्तित्वमा थियो। त्यसअन्तर्गतको पूर्व ६ नम्बर चैनपुर र ४ नम्बर भोजपुरको थुमसभा उत्तर र थुम संखुवा उत्तरका क्षेत्र र अन्य पाँचवटा थुम समावेश गरी संखुवासभा जिल्लाको न्वारन भएको थियो। अर्थात् संखुवा र सभा नामक दुइटा नदीको नामबाट संखुवासभा नामकरण भएको हो। त्यही संखुवासभाको मादी सिरिसेमा २०१९ चैत १७ गते गोधूलिमा मेरो जन्म भएको थियो।
म जन्मिएको घरको पश्चिमपट्टिको जगमाथि सानो पर्खाल अझै ठिङ्ङ उभिएको छ। शिशु अवस्थामा त्यो घर बडेमानको लाग्थ्यो मलाई। ती बारी र पाखापखेरा विस्तृत लाग्थ्यो। यसपटक त्यो बारी फाँट सानो लाग्यो। तराईमा ठूला–ठूला फाँट देखिसकेकाले त्यसको तुलनामा सानो लागेको हुन सक्छ। यद्यपि जीवनरूपी यात्रामा भ्रमको जालो बुनिँदै जान्छ र समयको अन्तरालमा भ्रमको पर्दा च्यातिँदै पनि जान्छ। अन्तिम अवस्थामा सायद विगतको सम्पूर्ण अध्याय भ्रमको जञ्जाल लाग्न पनि सक्छ।
जंगलभित्रको सयौं रोपनी क्षेत्र धेरै वर्षसम्म हाम्रो परिवारको स्वामित्वमा रह्यो, जहाँ ऐंसेलु फल्थ्यो, लालुपाते फुल्थ्यो। राति जंगलबाट बाघ हाम्रो घरबारीसम्म आउँथ्यो, खोर र टाटनामा रहेका खसी–बोका खान। घरछेउमा आएर होक््रयाङ गर्दै बाघ गर्जन्थ्यो। ‘हे जंगलकी देवी...’ भन्दै हजुरआमा वनदेवीको पुकारा गर्नुहुन्थ्यो। हामी निःशब्द सिरकमा गुटमुटिन्थ्यौं।
म जन्मिएको ठाउँ भग्नावशेषजस्तो छ। त्यही अवशेषअगाडि उभिएर हामीले तस्बिर खिच्यौं/खिचायौं। मेरो मानसपटलमा शैशवावस्थाका स्मृति सल्बलाउन थाले। यही ठाउँ हो, जहाँबाट उत्तरतिर चियाउँदा मोहक हिमशृंखला देखिन्थ्यो। त्यसमध्येको अग्लो मकालु हिमाल कहिले धुम्मिएको हुन्थ्यो त कहिले मुस्कान छरिरहेको हुन्थ्यो। मुस्कुराएको मकालु सबैलाई प्रिय लाग्थ्यो। आज घाम लागेको छ र मकालु त्यसरी नै मुस्कुराइरहेको छ। म तोतेबोली बोल्दा र बामे सर्दा जस्तो मकालु थियो आज पनि त्यस्तै लाग्छ जबकि मेरा कपाल फुलिसकेका छन्। यद्यपि मकालुमा पनि पहिलेजस्तो बाक्लो हिउँ देखिँदैन भन्छन् केही पाका। पिरामिड आकारको शिखर मकालु आरोहण गर्न कठिन थियो कुनै बेला। तर अहिले हिउँदमा समेत मकालु आरोहण हुन थालेको छ।
मकालुको काखमा अवस्थित मादी रमणीय छ। साँच्चै मादी सुन्दर छ, मनोरम छ। २०२७ साल हिउँदमा अर्थात् ५० वर्षअगाडि यो रमणीय उधानबाट हाम्रो परिवार विराटनगर बसाइँ सरेका थियो। झन्डै पाँच दिन पैदल हिँडेर हामी धरान पुगेका थियौं। बसाइँ सर्दाको थोरै चेत भए पनि मादीसँग भौतिक रूपमा लामो अवधिसम्म सान्निध्य टुट्ला भन्ने त्यो बेला सोचिएको थिएन। त्यसको १५ वर्षपछि २०४१ र ४२ सालमा दुईपटक मादी पुगेको थिएँ। त्यो बेला विराटनगरबाट धनकुटाको सिधुवासम्म बस चल्न थालिसकेको थियो। सिधुवा/वसन्तपुरबाट पूरा एक दिनको पैदल यात्रापश्चात् मादी पुगेपछि म थलिएको थिएँ। परम्परागत भाषामा गोडामा कैडा लागेको भन्थे। त्यो बेला मादी आउन जति हतार थियो, फर्कन त्यत्तिकै हतार भयो। त्यसैले दुईपटक गरेर एक साता पनि म मादीमा टिकिनँ। आज पनि त्यही सिलसिला मेरो जीवनमा उपक्रम भएर पछ्याइरहेको छ। कुनै ठाउँ पुग्न हतार, पुगेपछि फर्किहाल्न हतार।
हाम्रो घरमास्तिर पँधेरो थियो निरन्तर पानी बगिरहने। त्यहींबाट गाग्रीमा बोकेर हाम्रो घरमा पिउने पानी ल्याइन्थ्यो। बाल्यावस्थामा पँधेराछेउ खोल्सामा लडेका कारण मेरो निधारमा अहिले पनि गहिरो खत विद्यमान छ। (२०२५ सालमा राजविराज बस्दा लागेको चोटका कारण अर्को खत थपिएको हो।) झिसमिसेमै पँधेरो जानु, नुहाउनु र पानी ओसार्नु परिवारका महिला सदस्यहरूको प्रातचर्या थियो। सायद त्यो निकै कठिन काम पनि थियो। बसाइँ सर्नुको एउटा कारण सहजता/सुलभताको खोजी पनि हुन सक्छ। त्यही पँधेराछेउ एउटा सानो कटेरो थियो, जहाँ गाईवस्तुको वास हुन्थ्यो अनि अग्नि ऊर्जाका लागि दाउरा र झिँझा भण्डारणसमेत गरिन्थ्यो। बुवा समाज सेवाको क्षेत्रमा सक्रिय रहँदा घोडा पनि पालिएको थियो। २०१६ सालमा प्रधानमन्त्री बीपी कोइराला धनकुटा भ्रमणमा आउँदा बुवा पनि बीपीको स्वागतमा उखुडाँडा मूलघाटसम्म बडाहाकिमसँगै आफ्नै घोडामा पुग्नुभएको प्रसंग मैले सुनेको थिएँ।
पँधेरो कटेपछि जंगल सुरु हुन्थ्यो। जंगलभित्रको सयौं रोपनी क्षेत्र धेरै वर्षसम्म हाम्रो परिवारको स्वामित्वमा रह्यो, जहाँ ऐंसेलु फल्थ्यो, लालुपाते फुल्थ्यो। राति जंगलबाट बाघ हाम्रो घरबारीसम्म आउँथ्यो, खोर/टाटनामा रहेका खसी–बोका खान। घरछेउमा आएर होक््रयाङ गर्दै बाघ गर्जन्थ्यो। ‘हे जंगलकी देवी...’ भन्दै हजुरआमा वनदेवीको पुकारा गर्नुहुन्थ्यो। हामी निःशब्द सिरकमा गुटमुटिन्थ्यौं। सानो छँदा बनझाँक्रीका अनेकौं किम्वदन्ती/किस्सा पनि सुनियो। दिउँसोसमेत भयावह लाग्ने त्यो जंगलमा विचरण गरेको स्मृति ममा अझै शेष छ।
पहाडका घरको भुईंतलामा अँगेना, भान्सा, मझेरी हुने गर्छ जबकि माथिल्लो तलालाई बुइगल भनिन्छ। अँगेनामा आलु पोलेर नौनीसँग खाँदाको स्वाद विशिष्ट हुन्थ्यो। जन्मिएको बीसौं दिन म अँगेनामा झरेको प्रसंग आमाले सुनाइरहनु हुन्थ्यो। भुतभुते खरानीको रापले सानामा पोलेकाले होला, कतिपय मामलामा म तातिरहें। मकालुसँग ठोक्किएर फर्केको स्याँठले हिर्काएकाले होला कतिपय मामलामा म चिसो अर्थात् उदासीन पनि रहें। त्यसैले होला मसँगको सहकार्य कतिपयलाई न्यानो र कतिपयलाई चिसो लागेको पनि हुन सक्छ।
हाम्रो बारीमा थुप्रै प्रजातिका वृक्ष–वनस्पति थिए, जहाँ लटरम्म सुन्तला, कागती, भोगटे, ज्यामिर, नास्पाती, अनार, केरा, चाक्सी, लप्सी, जुनार, अम्बा, बिमिरो, वेदानालगायत अनेकौं फल फल्थे। मधु बिमिरो भन्ने एउटा फल निकै गहु्रँगो हुन्थ्यो। हाम्रा बारी–बगैंचामा सयपत्री थलकमल, रूखकमल, चिनियाँचम्पा, कटरचम्पा, टक्कर, चुवा, पारिजात, बेली, चमेली, सुनक्यारा, दूधक्यारा, हंसराज, गुलाफसहित दर्जनौं फूल फुल्थे। घरबारीको पुछारमा दाना (रुद्राक्ष) को वृक्ष थियो। त्यो रूखका हाँगामा लामपुछ«े अर्थात् लामो पुच्छर भएका चरा बस्थे। गौंथली, जुरेलीजस्ता चरा चिरबिर गरिरहन्थे।
यसै पनि आकाशमा कहिलेकाहीं बथानका बथान चरा उडिरहेको देखिन्थे। त्यसलाई हामी कर्याङकुरुङ भन्थ्यौं। ती चरा साइबेरियादेखि उडेर आउँदा रहेछन्। हिउँदमा बारीभरि पहेंलपुर तोरीका फूल देखिन्थे। वनस्पतिका कुरा गर्दा तीतो स्वादको बेकामको तीतेपाती पनि जताततै झांगिएको हुन्थ्यो। जीवहरूका कुरा गर्दा जुका पनि प्रशस्त लाग्थे। जुकाले टोक्दा कहिलेकहीं बालबालिका र महिला कहालिन्थे। तीतेपातीको पातले समातेर तानेमा शरीरमा टाँसिएर रगत चुसिरहेको जुका झथ्र्यो। अझ लेकमा पाइने जुका रूखबाट मान्छेका टाउकामा झर्थे। सायद तापक्रमका कारण रूखमा झुन्डेको जुकाले मनुष्य आगमनको भेउ पाउँथ्यो होला। यसपटक खाँदबारी यात्रामा प्रशोधित तीतेपाती बेच्न राखेको रमाइलो/सुखद दृश्य देखियो तर सबै नभएर एउटा खास प्रजातिको तीतेपाति औषधिका रूपमा बिक्री हुँदो रहेछ।
रुद्राक्षका कुरा गर्दा एकमुखे रुद्राक्ष दुर्लभ मानिन्छ। त्यस्तै एउटा एकमुखे रुद्राक्ष हाम्रो परिवारसँग थियो र अद्यावधि छँदै छ। कसैकसैले स्यालसिं अर्थात् स्यालको सिं र नागमणीको पनि चर्चा गर्थे। तर मैले न त कहिल्यैे स्यालसिं देखे, न नागमणि। साथै वैज्ञानिक तथ्यविपरीत स्यालसिं र नागमणि हुन्छ भन्नेमा मेरो विश्वास पनि रहेन।
हामी सानो छँदा मादीमा लामखुट्टेको बिगबिगी थिएन। कतिपयले मोटरसँगै लामखुट्टे पनि भित्रिएको चर्चा गर्छन् तर लामखुट्टे मोटर चढेर नभई तापक्रममा भएको वृद्धिका कारण मादीलगायत महाभारत/हिमाली क्षेत्रमा भित्रिएको हो। ५७ वर्षअगाडि खाँदबारी बस्दा लामखुट्टेको कुनै प्रकोप नभएको बुबा बद्रीप्रसाद भन्दै हुनुहुन्थ्यो। जलवायु परिवर्तन र विश्वव्यापी उष्णताको एउटा दुष्प्रभाव पहाडी क्षेत्रमा लामखुट्टेको साम्राज्य विस्तार हो।