ब्यूँतियो ‘दमनको राप’

ब्यूँतियो ‘दमनको राप’

इटहरी : २००७ सालले प्रजातन्त्र ल्यायो, २०४६ सालले बहुदल अनि २०६३ सालले गणतन्त्र। क्रान्तिका यी मुख्य तीन वर्ष नेपालको इतिहासमा चर्चित छन्। क्रान्तिका यी उपलब्धि जति आनन्ददायक छन्, त्यसका लागि आफ्नो ज्यान हत्केलामा राखेर हिँड्ने योद्धाले भोगेको दुःख त्योभन्दा बढी पीडादायक छन्।

छयालीसको जनआन्दोलनको बेलामा नेपाली युवाले भोगेको पीडा ‘दमनको राप’ नाटकका रूपमा प्रदर्शन गरिएको छ। सुनसरीका पत्रकार राजकुमार कार्कीले भोगेको सत्य घटनामा आधारित यो नाटकले जेलभित्रको यातना र कैदीको मनोभावना प्रस्तुत गर्छ। नाटक गोपाल देवानले लेखेका हुन् भने निर्देशन विक्रम श्रीले गरेका छन्।

२०५२ सालमा पहिलो पटक प्रदर्शित उक्त नाटक त्यो बेला ३२ ठाउँमा प्रदर्शन गरिएको थियो। देश गणतन्त्रमा गइसकेको अहिलेको समयमा यो नाटकले ऐतिहासिक चलचित्र हेरेझैं अनुभूति दिलाउँछ। नाटकमा प्रयोग गरिएका संवादले दर्शकलाई अहिले पनि जुरुक्क उचाल्छ, समवेदनाले छुन्छ। नाटक जीवन्त बनाउन कलाकारले निकै मेहनत गरेका छन्।

नाटकका लेखक गोपाल देवानले उक्त नाटकका मुख्य पात्र कवि तथा पत्रकार राजकुमार कार्कीको संघर्ष र जेल जीवनका कथामा आधारित रहेको बताए। पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलनमा संलग्न हुँदा कार्की पटक पटक गरी करिब पाँच वर्ष जेल बसेका थिए। उनी कविता लेखेकै कारण १२ पटकसम्म जेल परेका थिए। जेलमा उनले पाएको यातना र उनको तत्कालीन पारिवारिक, आर्थिक अवस्था पनि नाटकमा प्रस्तुत गरिएको देवानले बताए।

इटहरी मेट्रिक्सको प्रस्तुति रहेको नाटक इटहरी, विराटनगर हुँदै प्रदेश १ का सबै जिल्ला अनि सातवटै प्रदेशमा प्रदर्शन गर्ने तयारी गरेको निर्देशक विक्रम श्रीको भनाइ छ।

नाटकमा कार्कीको प्रतिरूप अभिनय कलाकार दीपेन्द्र सिंह दर्नालले गरेका छन्। आरम्भ नाट्य डबलीको प्रस्तुति रहेको नाटकमा दर्नालका अतिरिक्त लेखक गोपाल देवान, आईपी भट्टराई, शान्तिराम राई, पानस गुरुङ, मौसमी कार्की, सञ्जय गिरी, प्रभात पोख्रेल, नमिता लिम्बू, कुमारप्रसाद ढुंगाना, अशेष तिम्सिना, दीपेन्द्र राई, कृष्ण तिम्सिना, कमानसिंह याम्फू, सबिना राई, प्रकाश पोख्रेल, तीर्थ बराइली लगायतको अभिनय पनि सशक्त छ। महानन्द पुरस्कारसमेत पाएको उक्त नाटक दुई घण्टा २० मिनेटको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.