युरोप बन्द : अन्योल र त्रासमा नेपाली

युरोप बन्द : अन्योल र त्रासमा नेपाली

काठमाडौं : युरोपमा अवैध (बिनाभिसा) बसेका नेपाली कोरोना भाइरस (कोभिड–१९)को बढ्दो संक्रमणले संकटमा परेका छन्। पोर्चुगलमा एक नेपालीलाई कोरोना संक्रमणको पुष्टि भएपछि युरोपका नेपाली आतंकित भएका छन्।

अध्ययन गर्न गएका तथा वैधानिक रूपमा काम गर्ने नेपालीलाई त्यहाँको सरकारले कामबराबरको रकम उपलब्ध गराएको हुनाले दैनिकीमा समस्या छैन। जो अवैध छन् उनीहरूको हकमा भने समस्या हुने देखिएको छ। पोर्चुगल र स्पेनमा नेपाली अवैध रूपमा बसोबास गर्दै आएका छन्। त्यहाँ सजिलै वैधानिक हुन सकिने हुनाले त्यस्ता नेपालीको संख्या ती दुई मुलुकमा बढी छन्। त्यहाँ कागज बनाएर अन्य मुलुक पुग्ने गर्छन्। अन्य युरोपेली मुलुकमा पनि केही न केही नेपाली ओभरस्टे (भिसाबाहेक) बस्दै आएका छन्। उनीहरू बढी चिन्तित रहेको नेपाली दूतावासको अनुमान छ।

युरोपमा हजारौंको संख्यामा नेपाली अवैध बसोबास गरिरहेका छन्। युरोपमा रहेका राजदूतका अनुसार नेपालीमा महामारी भएको जानकारी आएको छैन। ‘नेपालीसँग कुनै न कुनै माध्यमले जोडिएका छौं’, फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले मंगलबार अन्नपूर्णसँग टेलिफोनमा भने, ‘पोर्चुगलको फारवामा एक नेपालीलाई संक्रमण भएको र त्यहाँ ४०–४५ नेपालीलाई क्वारेन्टाइनमा राखिएको जानकारी आएको छ।’

नेपालीको नाम सार्वजनिक गरिएको छैन। आइसोलेसनमा राखेर र उपचार भइरहेका नेपालीको स्थिति सामान्य रहेको जानकारी उनले दिए। युरोपेली महासंघ (ईयू)का लागि राजदूत रहेका लोकबहादुर थापाले पनि यहाँका नेपालीलाई कोरोनाले आक्रमण गरेको जानकारी नभएको बताए। सिंगो युरोप आक्रान्त रहेकाले सबै सचेत भएर घरमै बस्नुको विकल्प नभएको उनले उल्लेख गरे। ‘युरोप औपचारिक रूपमै लकडाउनझैं छ’, उनले भने, ‘बुधबार साँझ ईयू नेतृत्वको भिडियो कन्फरेन्स गर्दै नियन्त्रण र उपचारका थप निर्णय लिनेछन्।’

अधिकांश मुलुक १५ दिनका लागि लकडाउन भएका छन्। इटाली र स्पेन यसअघि नै लकडाउन थिए। बेल्जियम, नेदरल्यान्ड र लग्जेम्बर्गसमेत हेर्ने राजदूत थापाले त्यहाँ रहेका नेपालीमा समस्या नभए पनि सन्त्रास रहेको बताए।

‘वैधानिक रूपमा काम गर्नेलाई अन्य समस्या पनि रहँदैन। सरकारले खानाका लागि पैसा उपलब्ध गराउँछ’, उनले भने, ‘अवैध बस्ने तथा दैनिक ज्यालादारी गर्नेलाई असहज भए दूतावासले सहयोग गर्नेछ। आफ्ना नागरिकलाई सहयोग गर्नु हाम्रो कर्तव्य हो।’

ईयूअन्तर्गतका सबै मुलुकमा कोरोना महामारी फैलिएपछि १५ दिनका लागि सटडाउन गरेका हुन्। उनीहरूलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाइएको छ। कतिपय स्थानमा नागरिक बाहिर निस्किरहेकाले त्यहाँ उनीहरूलाई सुरक्षाकर्मी परिचालन गरेर भए पनि भित्रै राख्ने नीति ईयूले लिएको अधिकारीले बताए। सुरुमा अत्यावश्यक सामग्री र औषधि किन्न वा काममा जान दिइएको थियो। इटाली र स्पेन प्रभावित रहे पनि अहिले फ्रान्स, जर्मनी, पोर्चुगल, डेनमार्क, स्विटजरल्यान्डमा फैलिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले युरोप कोरोना महामारीको केन्द्रबिन्दु बनेको जनाइसकेको छ। इटाली र स्पेन हुँदै ठूलो जनसंख्या रहेको मुलुक फ्रान्समा फैलिएको मात्र होइन, ९१ जनाको मृत्यु भएको छ। ती मुलुकका अधिकांश सिनेमा हल, क्याफे, संग्रहालय, विद्यालय, कलेज, रेस्टुराँ, पार्क, खेलकुद स्थल, पसल बन्द छन्। इटालीमा १५ सयभन्दा बढीको मृत्यु भएको छ। सोमबारदेखि त्यहाँ देशव्यापी प्रतिबन्ध लागू गरिएको छ। त्यस्तै प्रतिबन्ध युरोपभर लगाएर रोग नियन्त्रण गरिने निर्णय भएका छन्।

युरोपमा रहेका सबै नेपाली दूतावासले आफ्नो कार्यक्षेत्रमा पर्ने मुलुकलाई पनि ध्यानमा राखेर सूचना ल्याएका छन्। बेलायत, फ्रान्स, जर्मनी, स्पेन, डेनमार्क, रसिया र स्विट्जरल्यान्डका दूतावासले सिंगो युरोपमा आफ्ना नागरिकलाई पर्ने समस्याबारे सम्पर्क गरिरहेको जनाएका छन्। सरकारले सबै दूतावासलाई सक्रिय रहन र आफ्ना नागरिकको स्वास्थ्यमा ध्यान दिन निर्देशन दिएको छ।

डब्लूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले महामारी नियन्त्रण गर्न आक्रामक कदम चाल्न, समुदायलाई परिचालन गर्न र मानव मृत्यु रोक्न मानिस–मानिसबीचको दूरी कायम राख्न आग्रह गरिरहेका छन्। बेलायतमा पनि पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या दोब्बर हुँदै गएकाले त्यहाँका नेपाली पनि आक्रान्त छन्। अधिक नेपाली अवैध रहेको मुलुक स्पेनमा झन्डै ७ हजारमा कोरोना संक्रमण देखिएको छ। स्पेनमा प्रधानमन्त्री पेद्रो सान्चेजीपत्नी बेगोना गोमेजलाई संक्रमण देखिएपछि निवासमै उपचार भइरहेको छ।

संकटकाल घोषणा भएकाले सरकारले नागरिकलाई आवश्यक उपभोग्य सामग्री र औषधि किन्न वा काममा जानबाहेक घरबाहिर निस्किन प्रतिबन्ध लगाएको हो। युरोपमा मात्र होइन, खाडी क्षेत्रका नेपालीमा पनि सन्त्रास उत्तिकै छ। अमेरिका र अस्ट्रेलियामा रहेकाको अवस्थाबारे सरकारले जानकारी लिइरहेको छ। खाद्यान्न नपाएको अवस्थामा दूतावासमा सम्पर्क गर्दा त्यस्तो समस्या सल्टाउने कामहरू दूतावासले गरिरहेको जानकारी दिइएको छ।

हामी समन्वयमा छौं : राजदूत अधिकारी

झन्डै ६ करोड ३५ लाख जनसंख्या रहेको फ्रान्समा ६ हजारभन्दा बढीमा संक्रमण भइसकेको हुनाले सबैमा त्रास रहेको उनले बताए। प्रधानमन्त्री इन्वार फिलिपले कोभिड–१९ का कारण सघन उपचार गराउनुपर्ने बिरामी बढेकाले सकभर अधिक समस्या नभएसम्म आफ्ना चिकित्सकसँग फोनमा छलफल गरेर सेल्फ क्वारेन्टाइन (घर)मा बस्ने र समस्या भए मात्र जानेजस्ता धारणा बाहिर आएका छन्। घरमै बस्ने बाहिर ननिस्कन उर्दी जारी छ। केही अत्यावश्यक भए अनलाइन बसेर सर्टिफाई गरी मात्र निस्किन पाउने व्यवस्था गरिएको छ।

सीमाहरू पूर्ण सिल गरिएका छन्। फ्रान्स सुनसान छ। ठूलो संख्यामा वृद्धि भइरहेकाले समस्या समाधानमा सरकार लगातार लागिपरेको छ। उनले हेर्ने अर्को मुलुक पोर्चुगल जहाँ नेपाली कागज बनाउन (युरोप बस्न पाउने हुन्)का लागि त्यहाँ काम गर्छन्। पोर्चुगलको फारोमा कृषिमा काम गर्ने एक नेपालीलाई संक्रमण भएको खबर छ। अन्यलाई क्वारेन्टाइनमा राखिएको छ। कन्सुलर सेवाबाहेक अन्य काम भएका छैनन्।

सबै कार्यक्रम रद्द : भट्टराई, स्थायी प्रतिनिधि जेनेभा

स्विट्जरल्यान्ड मात्र होइन, युरोप नै ‘लकडाउन’ भइसकेको छ। हुन त अन्य मुलुकको तुलनामा स्विट्जरल्यान्डमा त्यस्तो ठूलो समस्या छैन। तापनि सुरक्षित हुन उपाय अवलम्बन गरिएको छ। इटालीसँग जोडिएको मुलुक हुनाले त्यहाँ संक्रमण बढेपछि यहाँ सर्न सक्ने भन्दै स्विसले सबै सुरक्षा अवलम्बन गरिरहेको उनले सुनाए। उनले भने, ‘अहिलेसम्म स्थिति नियन्त्रणमा नै छ। इटाली र स्विटजरल्यान्डमा पनि नेपाली छन्। उनीहरूलाई संक्रमणले छोएको जानकारी अहिलेसम्म पाएका छैनौं। अवैतनिक दूत र गैरआवासीय नेपालीसँग नियमित छलफलमा छौं।’

कार्यालय जान बन्द भएको छ। कार्यालयमा अत्यावश्यक कार्यका लागि भन्दै चार घण्टा दुई जना गएर खोल्ने गरिएको छ। सबै काम इमेलबाट हुने गरेको छ। स्विटजरल्यान्ड र इटालीमा बसोबास गर्ने नेपालीलाई खानाको प्रबन्ध सरकारले गरिदिएको छ। असहज भए दूतावास सहयोगका लागि सबै उपाय अवलम्बन गर्न तयार रहेको जानकारी उनले दिए।

पाँच जनाभन्दा बढी एकै स्थानमा उभिन रोक लगाइएको छ। संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संघसंस्थामा इमेलमार्फत काम भएका छन्। ९५ प्रतिशत काम घरबाटै हुन्छ। कतिपय विद्यार्थी नेपाल फर्कन खोजे पनि रोकिएका छन्।

नेपालीमा संक्रमण छैन : युवनाथ लम्साल, राजदूत डेनमार्क

डेनमार्कमा रहेको नेपाली दूतावासले डेनमार्कसहित अन्य स्कन्डिभियन मुलुक हेर्छ। त्यो क्षेत्रमा कमै नेपाली रहे पनि उनीहरूमा संक्रमण नदेखिएको उनले बताए। सबै लकडाउन छ। घरमै बसेर काम गरिरहेका छन्। ‘हामीले पनि बाहिर ननिस्किन र राज्यले गरेको आग्रहलाई पालना गर्न गैरआवासीय नेपालीसहित सबैलाई जानकारी गराएका छौं’, उनले भने। डेनमार्कका राजदूतले नर्वे, स्विडेन, फिनल्यान्ड, आइसल्यान्ड, लिथुआनिया, लाट्िभया तथा स्टोनिया हेर्ने हुनाले त्यहाँका नेपालीसँग पनि लगातार सम्पर्कमा रहको उनले बताए।

स्पेनमा त्रास निकै : नियोग उपप्रमुख हरिहरकान्त पौडेल, स्पेन

स्पेनमा झन्डै सय जना नागरिको मृत्यु भएको छ। इटालीपछि सबैभन्दा बढी प्रभावित भएको मुलुक स्पेन हुनाले यहाँ रहेका नेपालीमा त्रास रहनु स्वाभाविक रहेको भन्दै नियोग उपप्रमुख पौडेलले भने, ‘७० प्रतिशत नेपाली बार्सिलोनामा बस्छन्। त्यहाँ नेपालीलाई संक्रमण भएको खबर छैन। भिसामा रहेकालाई समस्या छैन। भिसाभन्दा बाहेकलाई केही समस्या हुन सक्छ।’

स्थिति भयावह रहेकाले नेपालीबारे दूतावास नियमित सम्पर्कमा रहेको र कार्यहरू गरिरहेको उनले बताए। कूटनीतिक परिवार बाहिर निस्किन पाउने हुनाले सक्दो सहयोग हुने उनले स्पष्ट पारे। उडानदेखि सबै बन्द गरिएकाले पूरा सुनसान छ। समय–समयमा सरकारले दिने निर्देशनलाई पालना गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.