स्वदेश फर्कन प्रतिबन्ध

स्वदेश फर्कन प्रतिबन्ध

काठमाडौं : कोरोना भाइरस संक्रमित मुलुकबाट नेपाली नागरिक नेपाल फर्कन नपाउने भएका छन्। सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि युरोपेली, पश्चिम एसियाली, खाडी, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानका नागरिक र त्यहाँ रहेका नेपालीलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको हो। 

गैरआवसीय नेपाली मात्र होइन पर्यटन भिसामा ती मुलुक पुगेका नेपालीसमेत शुक्रबार मध्यरातिदेखि नेपाल फर्कन पाउने छैनन्। ‘नेपाल प्रवेशमा प्रतिबन्ध लगाएका मुलुकमा रहने नेपालीसमेत नेपाल आउन पाउँदैनन्,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख सागर आचार्यले भने, ‘प्रतिबन्धित मुलुकबाट नेपाली आए उनीहरूलाई फिर्ता गरिनेछ। अब स्वदेशी हुन् या विदेशी कसैलाई नेपाल प्रवेश गर्न दिँदैनौं। ’

कोरोना भाइरस संक्रमण नफैलियोस् भनेर सरकारले सावधानी अपनाउने क्रममा त्यस्ता मुलुकबाट आउने जोकोहीलाई पनि प्रतिबन्ध लगाएको हो। नेपाल आउन नपाउने भएपछि गैरआवासीय नेपालीले भने चिन्ता व्यक्त गरेका छन्। उनीहरू कतिपय मुलुकमा आफंै आइसोलेसनमा रहनुपरेको भन्दै स्वदेश फर्कन चाहिरहेका छन्। 

प्रधानमन्त्री कार्यालयका सचिव एवं कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका सदस्यसमेत रहेका नारायणप्रसाद बिडारीले विदेशमा रहेका नेपालीलाई तत्काल स्वदेश नफर्कन आग्रह गरेको बताए। ‘विश्व स्वास्थ्य संगठनले स्पष्ट पारिसकेको छ– संक्रमित मुलुकबाट बाहिर निस्कन मिल्दैन’, सचिव बिडारीले भने, ‘जहाँ हुनुहुन्छ त्यहीं सुरक्षित ढंगले रहनुहोला। बिरामी भए त्यहीं उपचार हुन्छ, प्रतिबन्ध खुला भएपछि स्वदेश फर्कनुहोला। ’

कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले संक्रमित मुलुकबाट आउने नेपालीसहित सबै यात्रुलाई नेपाल आउन प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। 

नेपाल उडान गर्ने विभिन्न मुलुकका जहाज कम्पनीले आफ्ना नागरिक भने लैजान सक्नेछन्। सरकारले नेपाल प्रवेशमा प्रतिबन्ध लगाएका मुलुुकमा भएका नेपाली आफैं सुरक्षित रूपले बस्नुपर्नेछ। 

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस संक्रमण विश्वव्यापी फैलिरहेको छ। युरोपेली मुलुकमा सबैभन्दा बढी इटालीमा कोरोना भाइरस संक्रमण फैलिरहेको छ। विश्व स्वास्थ्य संगठनले दक्षिण एसियाली मुलुकमा कोरोना संक्रमण फैलन सक्ने चेतावनी दिएपछि सरकारले पूर्वसावधानीस्वरूप कोरोना संक्रमण देखिएका मुलुकमा रहेका सबै नागरिकलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.