सैनिक फौज ब्यारेकमै

सैनिक फौज ब्यारेकमै

काठमाडौं  : जंगीअड्डाले कोरोना भाइरस संक्रमणबाट जोगिन सैनिक फौजलाई ब्यारेकभित्र ‘लकडाउन’ गरेको छ। अत्यावश्यक कामबाहेक सैनिक फौज बाहिर निस्किँदैनन्। फौजीले खटिएको स्थानमा ड्युटी गरिरहेका छन्। कोरोना संक्रमण रोकथामका लागि फौजलाई खटिएको स्थानमै लकडाउन गरिएको हो।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले कोरोना संक्रमणबाट जोगिन फौजलाई ब्यारेकभित्रै लकडाउन गरिएको बताए। ‘कोरोना भाइरसको संक्रमणबाट जोगिन अधिकतम सतर्कता अपनाएका छौं’, प्रवक्ता पाण्डेले अन्नपूर्णसँग भने, ‘चिकित्सक टोलीलाई तैनाथी अवस्थामा राखेका छौं।’

जंगीअड्डाले चिकित्सकको टोली तयारी अवस्थामा राखेको छ। उनीहरूलाई आवश्यकताअनुसार अन्य सरकारी टोलीसँग समन्वय गरी खटाउने तयारी छ। जंगीअड्डाभित्र आधा सैनिक अधिकारी लकडाउन छन् भने बाँकी घरबाट काम गरिरहेका छन्। मुलुकभरका ब्यारेकभित्र रहेका सैनिक अधिकारीलाई बाहिर जान बन्देज लगाइएको छ। सर्वसाधारणलाई सैनिक ब्यारेकभित्र पस्न निषेध गरिएको छ। अत्यावश्यकबाहेक सैनिक अधिकारीको बिदा कटौती गरिएको छ।

ब्यारेक हाताभित्रका वासस्थानमा खाटको दुरी कम्तीमा एक मिटर राख्ने व्यवस्था मिलाइएको छ। अनावश्यक भेटघाट र गतिविधि निषेध गरिएको छ।

ब्यारेकबाहिर हुने सबै तालिम बन्द गरिएको छ। बिदा सकाएर फर्किएकाहरूलाई १४ दिन क्वारेन्टाइमा राखिनेछ। क्वारेन्टाइन बसेपछि मात्र उनीहरू अन्य फौजसँग मिसिनेछन्। जंगीअड्डाले भीड नहोस् भनेर झन्डै आधाजसो फौजलाई घरबाट काम गर्न भनेको छ।

सेनाले कोरोना रोकथाम र सम्भावित महामारी रोक्न चिकित्सकसहितको टोली गठन गरेको छ। जंगीअड्डाले कोरोनाको जोखिम न्यूनीकरण गर्न सैनिक चिकित्सकसहित रथी तथा अन्य अधिकृतसहितको विशिष्ट टोली गठन गरेको हो। सेनाको यो टोलीले अन्य सरकारी निकायसँग समन्वय गर्नेछ।

संक्रमण देखिए अन्य सरकारी निकायसँगको समन्वयमा सैनिक चिकित्सकको उक्त टोली फिल्डमा उत्रिनेछ। नेपाली सेनाका पृतनाहरूले मुलुकभर आइसोलेसन वार्ड र क्वारेन्टाइनस्थल बनाएका छन्। पूर्वी पृतनाले १ सय ५४ बेडको आइसोलेसन वार्ड र ४ सय ४० बेडको क्वारेन्टाइनस्थल बनाएको छ। मध्य पूर्वी पृतनाले १ सय ९ आइसोलेन वार्ड र २ सय १ क्वारेन्टाइनस्थल बनाएको छ।

मध्य पृतनाले १ सय ८७ बेडको आइसोलेसन वार्ड र ३ सय ५८ बेडको क्वारेन्टाइनस्थल बनाएको छ। पश्चिम पृतनाले ६४ बेडको आइसोलेसन वार्ड र ५९ बेडको क्वारेन्टाइनस्थल, मध्यपश्चिम पृतनाले १ सय २५ बेड क्षमताको आइसोलेसन वार्ड र २ सय ४१ बेडको क्वारेन्टाइन, उत्तरपश्चिम पृतनाले ७७ बेडको आइसोलेसन वार्ड र २ सय ६० बेडको क्वारेन्टाइन बनाएका छन्। सुदुरपश्चिम पृतनाले १३ बेडको आइसोलेसन र ५२ बेडको क्वारेन्टाइन बनाएको सेनाले जनाएको छ। उपत्यका पृतनाले ७० वटा बेडको आइसोलेसन वार्ड बनाएको छ।

सेनाले मातहतलाई कोरोना रोकथाम र नियन्त्रणबारे विभिन्न युनिटमा प्रशिक्षणका कार्यक्रम सञ्चालन गरिरहेको छ। सरकारले सीमा क्षेत्रमा स्थापना गरेको हेल्थ डेस्क र चिकित्सकको सुरक्षाका लागि सैनिक टोली परिचालित छ। प्रदेश सरकारसँगको समन्वयमा सेनाले सातै प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन वार्ड तयार पारेको हो। कोरोना भाइरसको रोकथाम तथा न्यूनीकरणका लागि राष्ट्रिय सेवा दलबाट तालिम लिएका विद्यार्थीलाई सचेतना फैलाउन स्वयंसेवकका रूपमा परिचालन गरेको छ।

सेनाले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई), मास्क, पञ्जा, स्यानिटाइजर उत्पादन सुरु गरेको छ। सेनाले मातहतलाई पञ्जा, स्यानिटाइजर उपलब्ध गराएको छ। उसले आवश्यकताबाहेकका विभिन्न समारोह, कार्यक्रम, दैनिक हुने पिटी परेडमा पनि उच्च सतर्कता अपनाएको छ। विशेष परिस्थिति र आवश्यकताअनुसार जंगीअड्डाले मातहतलाई बिदामा छाड्ने व्यवस्था मिलाएको छ।

कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि संक्रमितको उपचार गर्न सदैव तयार रहेको नेपाली सेनाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.