‘कोरोना’ समृद्धि
मानिस यतिबेला विश्वव्यापी संकटको सामना गर्न विवश छ। यो विवशताले संसारलाई नजिक पनि बनाइदिएको छ। कोरोना भाइरसरुपी महामारीको प्रभावबाट संसार आक्रान्त छ। हामी पनि त्यसबाट अछुतो छैनौं। यतिबेला सबैको ध्यान भाइरसविरुद्धको औषधी/खोप कहिले तयार होला भन्नेतिर खिचिएको छ। वाइलोजिस्ट/वैज्ञानिक यसको अनुसन्धान, अभ्यास र प्रयोगमा केन्द्रित छन्। शैक्षिक, धार्मिक, सामाजिक, औद्योगिक प्रतिष्ठानलगायत हरेक गतिविधि ठप्प छन्। आशा गरौं, संसार हल्लाइरहेको यो कोरोना भाइरस विगतका महामारीले जस्तै छिटै बिदा लिनेछ।
नेपाल सरकारले ढिलै भए पनि मंगलबारबाट मुलुक ‘लकडाउन’ गर्यो। अब यसको प्रभावकारी कार्यान्वयनमा सबैको साथ र सहयोग आवश्यक छ। जनस्वास्थ्यसँग सरोकार राख्ने विषय भएकाले हामी सबै संयमित भएर यो अभियानमा सरकारलाई सघाउनुपर्छ। लक डाउनको अर्थ कफ्र्यु नभई आमनागरिकलाई जिम्मेवार बनाउनु हो, कफ्र्यु वाध्यकारी हुन्छ। लकडाउनको अवज्ञा भएमा भोलि कफ्र्युमा जानुपर्ने अवस्थालाई निम्ता दिनु हुँदैन। बाहिर देखिएका एकाध गतिविधिले त्यस्तो संकेत गरिरहेका छन्। अनुशासनको पालना गरेर कोरोनारुपी महामारीसँग लड्ने क्षमता बढाउनुपर्छ। इटालीले समयमा संयमता नअपनाउँदा धेरै मानवीय क्षति बेहोर्नुपरेको घटनालाई हामी सबैले पाठका रूपमा लिनुपर्छ। कोभिड—१९ ले चीनपछि युरोप र अमेरिकालाई आक्रान्त पारेको छ। यतिबेला इटाली, स्पेन, अमेरिका, दक्षिण कोरिया, फ्रान्स, बेल्जियम, जापान, जर्मनी, इरान र अन्य खाडी राष्ट्र यसबाट बढी प्रभावित छन्।
कोरोना संक्रमणको बिरामी फेला परेलगत्तै नेपाल सरकारले लकडाउन नीति अवलम्बन गरेको हो। छिमेकी चीनको हुपै प्रान्तको वुहानबाट फैलिएको कोभिड–१९ नाम दिइएको यो भाइरस अढाइ महिनापछि युरोपबाट नेपालमा भित्रियो। संक्रमण नदेखिँदै आवश्यक तयारी र सतर्कता अपनाइए पनि बाहिरी मुलुकबाट आउने यात्रुलाई क्वारेन्टाइनमा नराख्दा नेपाल पनि त्रासको सिकार हुनुपर्यो। चीनले अवलम्बन गरेको लकडाउन नीति छिटो अपनाउन नसक्दा यस्तो परिस्थिति उत्पन्न भएको हो। ढिलो भए पनि यसको प्रभावकारी कार्यान्वयन आजको आवश्यकता हो। कार्यान्वयनमा छिद्र देखा परे भने भोलि सरकारलाई कठोर निर्णय लिनुपर्ने अवस्था आउन सक्छ।
कोरोनाबाट बच्न सुरक्षा विधि पर्याप्त छ। निश्चित दूरीमा बस्ने, शारीरिक व्यायाम तथा योग गर्ने, तरल पदार्थ खाने, रुचाइएको पुस्तक पढ्ने, सिनेमा हेर्ने, नयाँ सिर्जना गर्ने जस्ता कामका लागि यो अवसर पनि हो। यो समयलाई परिवारसँग आत्मीयता बढाउने अवसरमा रुपान्तरण गरौं। कोरोनाको लक्षणबारे थाहा पाएपछि तनाव लिन आवश्यक छैन। आक्रोश, पीडा तथा असन्तुष्टि पोख्ने ठाउँ सामाजिक सञ्जाल छन्। यसको भरपूर उपयोग गर्नुपर्छ। सावुनपानीले हात धुने, बाहिर ननिस्कने, सकेसम्म कसैलाई नभेट्ने आफूलाई अनुशासित बनाउन यसले सघाउनेछ। लकडाउन लम्बिन पनि सक्ने भएकाले पूर्वतयारी आवश्यक छ।
सरकारले पर्याप्त मौज्दात रहेको भने पनि व्यापारीले कोरोनाको संकट देखाउँदै खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको कृतिम अभाव उत्पन्न गराएका छन्। संसार संकटसँग लडिरहेका बेला मौकाको फाइदा उठाउन खोज्ने व्यापारीलाई कारबाहीको दायरामा ल्याउनुपर्छ। नागरिकलाई आवश्यकीय दैनिक उपभोग्य वस्तुबाट वञ्चित गराउनु हुन्न। यसका लागि आवश्यक चेकजाँच र अनुगमन थालिनुपर्छ।
कोरोना भाइरसविरुद्धको लडाइँ सामूहिक हो। यसले राजनीतिक, सामाजिक र धार्मिक लडाइँलाई पनि थाति राखेर संसारलाई एकजुट बनाउन सघाएको छ। एकअर्काविरुद्धका आग्रह/पूर्वाग्रहलाई बिर्सेर सबैले आआफ्नो कर्म गरे भने महामारीविरुद्धको लडाइँमा सफलता हासिल गर्न सकिन्छ। हाम्रो असल निर्णयले संसारलाई बदल्न सकिन्छ भने किन एकजुट नहुने ? नेपालमा पनि राजनीतिक आग्रह/पूर्वाग्रहका शृंखला जारी छन्। यो कोरोनाको महामारीले सबैलाई एक ठाउँमा ल्याइदिएको छ। महामारीसँगको युद्धमा विजय प्राप्त गरेपछि हामीले प्रजातन्त्रको रक्षा र समृद्धिको यात्रालाई पनि यसरी नै एकजुट भएर अघि बढाउन सक्यौं भने कोरोना महामारी समृद्धिको खुड्किलोमा रुपान्तरण हुनेछ।