बन्द कोठाभित्रको दैनिकी
न्युयोर्क : म प्रायः समूहमा हिँड्ने, दिनहुँ धेरैभन्दा धेरै मानिससँग भेटघाट गर्ने अनि रमाइलो गर्ने स्वभावको व्यक्ति।अनि पेसाको चरित्र पनि त्यस्तै।यतिबेला कोरोनाको सन्त्रासले अमेरिकाको न्युयोर्कको एक कोठामा थुनिएको छु।अर्थात् सेल्फ क्वारेन्टाइनमा छु।दैनिक मृत्युका खबर लेखेर, बन्दकोठामा प्रत्येक पल मृत्युको डरमा बाँचिरहेको छु।साथै, मेरा आस्था भगवान्् श्री पशुपतिनाथसँग कामना पनि गरिरहेको छु, आफ्नो र आफूजस्ता सबैको।
२४ सै घण्टा नसुत्ने सहरका मान्छे यतिबेला मजस्तै सबै बन्दकोठाभित्र २४ सै घण्टा सुतिरहेका छन्, कोरोनाको सन्त्रासमा।कल्पना गर्छु, करिब ३५ वर्ष पुगेको म, मेरो आधाभन्दा बढी जीवन बाँकी छ।तर, परिस्थितिले मलाई घरीघरी सोच्न बाध्य बनाउँछ कतै बाँकी जीवनले यहीँनेर बिट मर्ने त होइन ? आठ दिनदेखि सेल्फ क्वारेन्टाइनमा बसेको मेरो मनले सोच्ने सवाल नै यही हो।मृत्युसँग कत्ति नडराउने मान्छे म, साँच्चिकै भन्नुहुन्छ भने मलाई यतिबेला ज्यानको खुब माया लागेर आएको छ।सायदा म आफ्नै मुलुकमा हुन्थँे त यस्तो सोच नै आउने थिएन कि ?
म न्युयोर्क राज्यको व्यस्तमध्येको एक सहर क्विन्समा बस्छु।म बस्ने अपार्टमेन्ट बिल्डिङमा सात नेपाली परिवार बस्छन्।हामी कामबाट फर्किने या काममा जाने बेला साँझ बिहान भेटिन्थ्यौं र भन्थ्यौं, ‘नमस्कार, कस्तो हुनुहुन्छ, परिवारलाई कस्तो छ, अनि नेपालमा सबै ठीक छ नि ? ’ तर धेरै भयो मेरो कसैसँग भेट भएको छैन।सायद उहाँहरू पनि यस्तै सोच्दै हुनुहोला।यदि, फोहोर फ्याँक्न या अत्यन्तै जरुरी सामान लिन बाहिर निस्किहाल्नुपरेछ र भेट भइहल्यो भने हामी चार÷पाँच हात परबाट नमस्कार गर्छाैं र त्रसित मुद्रामा भन्छौं सब ठीक छ नि ? एकअर्कामा आत्मीयता साट्न अंकमाल गर्ने त कुरै छैन।हामीले ढोका खोल्दा, पैसा लिँदादिँदा, सामान साटासाट गर्दा या मानिस हिँडिरहेका बेला उसको नजिक पुग्न सकिरहेका छैनौं।पाहुना पाल्न खुब रहर गर्ने हामी घरको घण्टी बजाएर कोही भित्र आइहाल्छ कि भन्ने मनमा त्रास पालेर बसेका छौं।केही साथीभाइले त घरमा केही नआउनुहोला भनेर फेसबुकमा स्ट्याटससमेत लेखिसके।
धेरैजसो नेपाली तथा अन्य समुदायका मानिस त्यत्ति भेटघाट गरेको या कुराकानी गरेको देख्न पाइन्न।अमेरिकाका अन्य राज्यमा भन्दा बढ्ता संक्रमितको संख्या बढेर पनि हुन सक्छ, मेरो मोबाइलको घण्टी ज्यादा बज्छ अनि सामाजिक सञ्जालको इन बक्समा म्यासेज आइरहेको छ र सोधिएको छ, त्यहाँ कस्तो छ अहिले ? मैले पनि विश्वभर रहनुभएका साथीभाइ, आफन्त, अभिभावक, इष्टमित्रलाई सोधिरहेको छु, तपाईंहरूको तिर कस्तो छ ?
न्युयोर्कमा कफ्र्यु आदेश जारी भएको त छैन् तर अत्यावश्यकबाहेकका पसल बन्द गर्नू भन्ने आदेश यहाँका गभर्नरले दिएका छन्।विद्यालय या विश्वविद्यालय बन्द छन्।लाग्छ, यो सहरमा मान्छे बस्न छाडिसके।कुनै गाउँको एउटा चोकमा जम्मा हुने संख्यामा दुई÷चार जना मानिस हिँडिरहेको देखिन्छ।केही दिनपहिले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस लेखेँ अमेरिकाको सरकारी संयन्त्रप्रति चित्त नबुझेको कुरालाई लिएर।त्यसलाई धेरैले समर्थन पनि जनाउनुभयो।साँच्चिकै भन्नुहुन्छ भने अहिले अमेरिकी सरकारले जनतालाई सुरक्षित राख्नका लागि गरेका प्रयासमा म व्यक्तिगत रूपमा १० प्रतिशत पनि सहमत हुन सक्दिनँ।
हुन त म नेपाली नागरिक हुँ, नेपाल सरकारले गरेका प्रयासको खुलेर प्रशंसा गर्छु।तर, यहाँका नागरिकले भोगेको कुरा लेख्ने अधिकार मलाई छ।यो टिप्पणी लेख्दासम्म अमेरिकामा ५० हजारभन्दा बढ्दा व्यक्ति संक्रमित भइसकेका छन् भने सात सयभन्दा बढ्दा मानिसले ज्यान गुमाइसकेका छन् तर यहाँको सरकारका काम हेर्दा लाग्छ, अझै केही मानिस मरेपछि अनि यहाँ कम्तीमा एक लाख मान्छे संक्रमित भएपछि मात्रै सरकारले कडा कदम चाल्छ।यद्यपि, सरकारले एक हजार डलर बराबर चेक दिने र घरभाडालगायत अन्य छुट दिने ललिपप भने देखाइरहेको छ।
अझ अर्को वास्तविक कुरा के छ भने अमेरिकामा प्रत्येक साता कमाउने अनि त्यही हप्ता रमाउने चरित्रका मानिस बस्छन्।तपाईं हामीलाई जस्तो तीन पुस्तालाई पुग्ने गरी कमाऊँ र थुपारौं भन्ने सोच अमेरिकीमा पाइँदैन।काम गरेबापत प्रत्येक साता आउने चेकका आधारमा खर्चको निर्धारण हुन्छ।मोबाइल, बिजुली, पानी अनि घरभाडा, घरको किस्तालगायत बिल पनि त्यही चेकका आधारमा बैंक खातामा सेड्युल मिलाइएको हुन्छ।तर, अमेरिकीमा धेरै मानिस ती बिलको त्राहीत्राही अवस्थामा छन्।एक जना नजिकका भाइले मसँग जिस्किँदै भने, ‘दाइ एक साता काम नहुँदा जीवन नै सकिएजस्तो अनुभव हुने देशमा अब कति बस्नु हो ? ’ उनको यो प्रश्नमा दम छ।नेपालीहरू कसरी बसेका होलान् भन्ने तर्क तपाईंको मनमा आइहालेको हुनुपर्छ।नेपालीमा बचत गर्ने स्वभावका कारणले हुन सक्छ, यो अवस्था अझै केही साता लम्बिए पनि धान्न सक्छन्।तर, यहाँका अमेरिकी देख्छु र हाम्रो संस्कृति स्मरण गर्छु।
दैनिकी कसरी बित्छ भन्नुहुन्छ भने, म फिल्म हेर्न खुब रुचाउने मान्छे।नेटफेलेक्स, अमाजोन प्राइममा भएका हिन्दी र नेपाली चलचित्र प्रायः हेरिसकेँ, अंग्रेजी अलिक कम हेर्छु।धेरैजसो दोहोर्याइसकेँ।मलाई नजिकबाट चिन्नेहरू भन्छन्, ‘यसले दूध हालेको चिया पायो भने भातसँगै दिए पनि खान्छ।’ हो, दैनिक ८ ÷१० कप चिया पिउँछु।म्याकबुकमा चार्ज जोडिइरहेको हुन्छ।दाहिनेपट्टि दुई÷तीन चियाका कप हुन्छन्, एकमुष्ट माझ्न लैजान्छु।मलाई समाचार र अन्य विषयवस्तु लेख्नलाई चाहिएजति प्लेट फर्म छ।यहाँ खसोखास डटकममा लेख्छु भने अन्नपूर्ण मिडिया नेटवर्कका लागि अमेरिकाबाट लेख्छु।यसर्थ दैनिक सन्त्राससँगै सुत्ने, मुभी हेर्ने अनि लेख्ने दैनिकी हो।साथै, साथीभाइ इष्टमित्रसँग फोनमा लामो गफ पनि हुन्छ।यसैगरी, दैनिक साँझ–बिहान म भगवानलाई पुकारिरहेको हुन्छु।भगवान्् मानिसले मानव भएर कसरी बाँच्ने भन्ने चेतिसके, सिकिसके।यसर्थ कृपया अब यसलाई यहीँनेर रोकिदिनुस् र मानवजातिप्रति कृपा गर्नुहोस्।जय पशुपतिनाथ !
प्रतिक्रिया दिनुहोस !