'लक डाउन’मै सप्तरीका तीन कार्यालयमा चोरी
राजविराज : सप्तरीको बोदे बरसाइन नगरपालिकाको वडा कार्यालय, स्वास्थ्य चौकी सारस्वर र अतिरिक्त हुलाक कार्यालयमा बुधबार राती लाखौं रुपैयाँ बराबरको सरसमान चोरी भएको छ ।
कोरोना भाइरस नियन्त्रण गर्न सरकारले आह्वान गरेको ‘लक डाउन’ कार्यान्वय गराउन सर्वसाधारण घरभित्र भएको मौका छोपेर केही व्यक्तिले वडा नम्वर ३ को कार्यालय तथा कार्यालयसँगै जोडिएको स्वास्थ्य चौकी र हुलाक कार्यालयमा ताल्चा फुटाएर चोरी गरेको हो ।
वडा कार्यालयबाट राजस्वतर्फ उठाइएको १८ हजार रुपैयाँ, १–१ थान कम्प्युटर र पंखा तथा राउटर चोरी भएको वडा अध्यक्ष अनोजकुमार यादवले जानकारी दिए । 'लक डाउनको बेला पनि प्रहरीले गस्ती नगर्दा यस्तो घटना भएको हो’, उनले भने,‘सरकारले आह्वान गरेको लक डाउनलाई कार्यान्वय गराउन पनि प्रहरीले गस्ती गर्नेतर्फ ध्यान पुर्याउन आवश्यक छ ।’
वडा सदस्य मो।सकिल अहमदले अन्य समयमा पनि प्रहरीले गस्ती नगर्ने गरेको गुनासो गरे । ‘यस क्षेत्रमा कुनै पनि समयमा प्रहरीले गस्ती गर्ने गरेको देखिँदैन’, उनले भने, ‘यस्तै अवस्था रह्यो भने यहाँका सर्वसाधारणले सुरक्षाको अनुभुति कसरी गर्छन् ?’
यसैगरी स्वास्थ्य चौकीबाट पंखा, वीपी इन्टुमेन्ट, वेट मेसिन (तौल नाप्ने यन्त्र) र ओटो कलेव मेसिन चोरी भएको स्वास्थ्य चौकी सारस्वरका इन्चार्ज बद्रीनारायण ठाकुरले बताए । ‘आफू बिहान आएपछि मात्रै कार्यालयमा चोरी भएको विषयमा जानकारी भयो’, उनले भने, ‘एक त यतिबेला महामारीको समयमा स्वास्थ्य क्षेत्रमा अभाव नै अभाव छ, त्यसमाथि भएको सामान पनि चोरी भयो ।’
इन्चार्ज ठाकुरका अनुसार स्वास्थ्य चौकी भवनभित्रै रहेको अतिरिक्त हुलाक कार्यालयबाट पनि केही कागज पत्र चोरी भएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !