साबुन र मास्क बोकेर जनप्रतिनिधि घर-घरमा
धनकुटा : महालक्ष्मी नगरपालिका-३ का वडाध्यक्ष भरत थापा यतिबेला स्थानीयको घर-घरमा पुगेर मास्क र साबुन बाँडिरहेका छन् । आफ्नो वडामा कसैलाई कोरोना संक्रमण नदेखियोस् भनेर घर-घर डुलेर मास्क र साबुन वितरण गरेको वडाध्यक्ष थापाले बताए ।
उनले मास्क र साबुन मात्रै होइन स्वास्थ्यकर्मी साथैमा लगेर हातधुने तरिका समेत वडावासीलाई सिकाउने गरेका छन् । मास्क अभाव भएपछि गाउँमै रहेका उद्यमीलाई बनाउन लगाएर वडाका हरेक घरमा परिवारका सबै सदस्यलाई उपलब्ध गराएका छन् ।
सो वडामा ४ सय ७० घर रहेका छन् । ती घरलाई हालसम्म २५ सय मास्क बाँडिएको उनले बताए । बजारमा साँवुनको अभाव रहेको कारण पर्याप्त बांड्न नसकिएको उनले बताए ।
त्यस्तै सोही नगरपालिकाका २ कार्यालयले पनि घरैमा पुगि मास्क वितरण गरिरहेको छ । वडाध्यक्ष धुव्र रायका अनुसार वडासमितिका अन्य सदस्य, स्वास्थ्य कर्मी र टोलवस्ती संगठनलाई परिचालन गरेर मास्क वितरण गरिएको छ।
८ नं. वडा कार्यालयले पनि गाउँमै रहेका उद्यमीलाई परिचालन गरेर मास्क उत्पादन गरिरहेको छ । सो वडाले वडाका मुख्य चोकमा वाल्टिन र साँबुन राखेर हात धुने व्यवस्था गरेको छ । सबै स्थानीयलाई मास्क वितरण कार्य भइरहेको वडाध्यक्ष रामबहादुर खड्काले बताए । 'स्थानीयबाट मास्कको माग धेरै आएको छ । उनले भने,' पर्याप्त उपलब्ध गराउन उत्पादन जोड दिएका छौं ।'
महालक्ष्मी नगर भरिका अन्य वडा कार्यालयले पनि घरमै पुगेर मास्क वितरण कार्य तीव्र बनाएका छन् । कारोनाको त्रासवाट जोगिन स्थानीयमा जनचेतना फैलाउने काममा लागि परेको वडाध्यक्षहरुको भनाई छ । विदेश वटा फर्किएका व्यक्तिप्रति उच्च निगरानी र उनीहरुलाई वेला वखत स्वास्थ्य निगरानी समेत गरिएको वडाध्यक्ष खड्काले बताए ।
खाद्यान्न अभाव हुन थाल्यो
कोरोना सन्त्रासले लकडाउन लम्बिएसँगै महालक्ष्मी नगरपालिकामा अत्यावश्यक खाद्यान्नको अभाव हुन थालेको महालक्ष्मी नगरपालिकाका सूचना अधिकारी खगेन्द्र नेपालले बताए । उनका अनुसार नगरपालिका क्षेत्रमा रहेका बजारका व्यापारीले मौज्दात रहेको खाद्य सामाग्री सकिदै गएको र आपूर्तिका लागि नगरपालिकासँग चासो राख्न थालेका छन् । जिल्लाका सम्वन्धित निकायसँग समन्वय गरेर खाद्यान्न आपूर्तिलाई सहज वनाउने काम समेत भइरहेको सूचना अधिकारी नेपालले बताए ।
जनप्रतिनिधिको सेवासुविधा विपद् कोषमा
महालक्ष्मी नगरपालिकाका जनप्रतिनिधिहरुले सेवासुविधा बापतको रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । कोरोना भाइरसको संक्रमण रोकथाममा सावधानी अपनाउन जनप्रतिनिधिहरुले चैत महिनाको सम्पूर्ण सेवा सुविधा वापतको रकम कोषमा जम्मा निर्णय गरिएको नगरपालिका प्रमुख पर्शुराम नेपालले बताए ।
नगर प्रमुख, उप-प्रमुख, सम्पूर्ण वडाका अध्यक्ष र कार्यपालिकाका सदस्यहरुले प्राप्त गर्ने रकम विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरिएको उनले बताए । कोषको रकमले कोरोना भाइरस आशंका गरिएका र संक्रमित विरामीको उपचार, क्वारेनटाइन निर्माण, माक्स उत्पादन तथा वितरणसहित सावधानीका काममा खर्च गरिनेछ । कोषमा हालसम्म करिब १० लाख रकम छ । १५ लाख पुर्याउने लक्ष्य लिइएको छ ।
प्रतिक्रिया दिनुहोस !