आइसोलेसन कि यातनास्थल

आइसोलेसन कि यातनास्थल

विराटनगर : कोरोनाको आशंका गरिएका सप्तरी सुरुंगाका २४ वर्षीय एक युवालाई विराटनगरको कोसी अस्पतालको आइसोलेसनमा राखियो। चैत ७ गते कतारबाट आएपछि सामान्य ज्वरो आउने समस्या देखिएसँगै इसोलेसनमा भर्ना गरिए पनि परीक्षणबाट उनमा कोरोनाको संक्रमण नरहेको पाइयो। आइसोलेसनबाट चैत १३ गते घर जाने बिदा पाएर निस्किएका उनको अवस्था भने निकै दर्दनाक थियो।

शरीरभरि मच्छरले टोकेका डाम थिए। अनुहार सुन्निएको थियो। उनी कुनै अर्कै संसारबाट आएजस्तो व्यवस्था देखाउँथे। उनले भने, ‘समस्या ठीक गर्न ल्याएजस्तो लागे पनि दुई दिन आइसोलेसन बेडमा बस्दा अरू समस्या पो थपिए।’ आइसोलेसन बेडमा रातभर मच्छरले टोकेर बस्न सक्ने अवस्था नभएको ती युवाको गुनासो छ। उनले भोक र तिर्खा लागेका बेला खान र पानीसमेत नपाइने गरेको सुनाए।

‘बिहान ७ बजे पानी माग्यो भने दिउँसो ३ बजे ल्याइदिन्थे। खानेकुरा पनि कुकुरलाई जस्तो परैबाट फ्यालिदिन्थे,’ उनले भने, ‘कोही छेउ नपर्ने र रेखदेख गर्न पनि कोही आउँदैनथे। आइसोलेसनमा साह्रै अमानवीय व्यवहार भयो।’ विश्वभर कोरोना भाइरसको त्रास फैलिएका बेला बिरामीलाई उपचार गराउनका लागि भनेर तयार पारिएको आइसोलेसन वार्डभित्र यातनास्थलमा जस्तो व्यवहार भएको उनको गुनासो छ।

उनले स्वाब परीक्षणका लागि नमुना संकलन गर्दा चिकित्सक छेउमा आए पनि त्यसबाहेक चिकित्सक र स्वास्थ्यकर्मीलाई आफूले नदेखेको बताए। बन्द कोठाबाट बाहिर निस्कँदा अर्कै संसारमा आएको अनुभूति भएको उनले सुनाए।

कतारबाट चैत ४ गते नेपाल आएका मोरङको बूढीगंगा गाउँपालिकाका एक युवा पनि मंगलबारदेखि कोसीमै आइसोलेसनमा छन्। तर, उनमा ज्वरो आउनेदेखि लिएर स्वास्थ्यसम्बन्धी समस्या छैन। ‘ओछ्याउने र ओढ्ने कपडाबिनै खाली बेडमा समय बिताउनुपर्छ,’ उनले भने, ‘रातभर मच्छरले टोकेर बसिसक्नु नुहँदा पनि झुलको व्यवस्था गरिएको छैन।’ ती युवाले झुल, खाना र पानीको व्यवस्था गरिदिन आग्रह गर्दा बेवास्ता गरिएको सुनाए। उनको पनि शरीरभरि मच्छरले टोकेका डाम छन्।

भारतको कोलकाताबाट आएका विराटनगरका एक व्यक्तिलाई पनि सामान्य ज्वरो आएपछि मंगलबारदेखि ती युवासँगै ल्याएर राखिएको हो। दुवै जना एउटै शौचालय प्रयोग गर्छन्। एउटै कोठाभित्रका अलग–अलग बेडमा बस्छन्। अस्पतालको आकस्मिक कक्षमा बनाइएको आइसोलेसन भद्रगोल अवस्थामा छ। जतिबेलै झिँगा र मच्छर भन्किइरहेका हुन्छन्। खानेकुरा राम्रो छैन। त्यो पनि भनेका बेला पाउँदैनन्। ती युवाले भने, ‘केही कुराको व्यवस्थाबिनै खाली बेड भएको एउटा कोठाभित्र हामीलाई बन्धक बनाएर राखिएको छ। उपचार पनि सुरु गरिएको छैन। यहाँबाट कहिले बाहिर निस्कनुजस्तो भएको छ।’

उनीहरूले भने, ‘हामीले के अपराध गरेका थियौं र यस्तो भोग्नुपर्‍यो ? ’ उनीहरूले भित्रको वातावरणले आफूहरूलाई झन् तनाव भएको र नभएको रोग थपिएला भन्ने चिन्ता बढेको गुनासो गरे।

कोसी अस्पतालमा मात्र होइन, मोरङमा आइसोलेसन भनेर तयार गरिएका सबै वार्डको अवस्था उस्तै रहेको उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलको भनाइ छ। मोरङमा पथरीशनिश्चरेमा १०, सुन्दरहरैंचा नगरपालिकामा दुई, ग्रामथान गाउँपालिकामा चार, गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यायमा १५, मंगलबारे अस्पतालमा १५, कोसी अस्पतालमा ६, हाम्रो अस्पतालमा ५, सुरक्षा अस्पतालमा ५ र विराट नर्सिङ होममा १२ गरेर ८४ वटा आइसोलेसन बेड तयार गरिएका छन्।

ढुंगेलले कोरोनाको आशंकामा आइसोलेसनमा राख्ने नाममा मान्छेलाई अनावश्यक दुःख दिने र अप्ठ्यारोमा पार्ने काम भइरहेको बताए। ‘कोरोनाको आशंका गरिएका व्यक्तिलाई आइसोलेसनमै राख्ने हो,’ उनले भने, ‘तर दुःख दिने र अप्ठ्यारोमा पार्ने काम गर्न पाइँदैन।’ मानवअधिकारका कुरा पनि जोडिने भएकाले आइसोलेसनमा राज्यले तोकेको न्यूनतम मापदण्डअनुसार सेवा–सुविधा उपलब्ध गराउनै पर्ने ढुंगेलको भनाइ छ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयको निगरानी प्रतिवेदन तथा अनुगमन समितिका संयोजक एवं स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले सय दशमलव ४ डिग्री भन्दामाथि ज्वरो आएका, थकाइ लागिरहनेलगायत कोरोनाको लक्षण देखिएका शंकास्पद बिरामीलाई आइसोलेसनमा राखिने बताए। त्यसपछि परीक्षणबाट मात्रै उनीहरूमा कोरोना भए÷नभएको पुष्टि हुने र उपचार पनि थालिने उनको भनाइ छ। उनका अनुसार फ्रन्ट लाइनटमा स्वास्थ्यकर्मीको ड्युटी डेस्क हुनुपर्ने, एउटादेखि अर्को बेडको दूरी दुई मिटर, भिन्दाभिन्दै बिरामीलाई राख्न छुट्टाछुट्टै बेड, प्रत्येकलाई छट्टै बाथरुम, शौचालय, साबुन र स्यानिटाइजरको व्यवस्था, खाना, पानी र सुरक्षाको उचित प्रबन्ध एवं उपचार र ल्याब परीक्षणको व्यवस्था आइसोलेसनको मापदण्डभित्र पर्छन्।

कोसी अस्पताल आइसोलेसनका फोकल पर्सन डा. डेनप्रसाद आर्चायका अनुसार अहिलेसम्म आइसोलेसनमा ६ जनालाई राखिएको छ। कोरोनाको रिपोर्ट नेगेटिभ आएका कारण ६ जना घर फर्किसकेको उनले बताए। अरू तीन जनाको नमुना परीक्षणका लागि पठाइएको र रिपोर्ट आउन बाँकी रहेको डा. आचार्यको भनाइ छ। ‘शंकास्पदलाई उपचार र निगरानीका लागि हामी २४ घण्टा नै खटिएका छौं’,

डा. आचार्यले आइसोलेसनमा कुनै कमजोरी हुन नदिने हिसाबमा काम भइरहेको बताए। उनले भने, ‘आइसोलेसनमा राखिएकालाई हामी भीआईपी सम्मान दिन सक्दैनौं। सरकारी अस्पाताल भएकाले आइसोलेसन त्यति सुविधासम्पन्न पनि नहुन सक्छ।’

अस्पतालकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. संगीता मि श्राले भने गैरजिम्मेवारीपूर्ण जवाफ दिइन्। ‘मेरो घरमा पनि मच्छर छ। यो सिंगो विराटनगरकै समस्या हो।’ डा. मि श्राले कोही–कसैको सहयोग नपाएको अवस्थामा आइसोलेसनलाई व्यवस्थित गर्ने प्रयास भइरहँदा नकारात्मक टिप्पणी भइरहेको दाबी गरिन्। उनले भनिन्, ‘सबै कर्मचारी र चिकित्सक त्रासमा भएकाले आइसोलेसनमा राखिएकालाई राम्ररी हेर्न भ्याएको छैन।’

उनले मच्छरले खाएको गुनासो आएमा झुलको व्यवस्था भने गर्न सकिने बताइन्। यता, संक्रमणको आशंका गरिएकालाई राखेर उपचार गर्न विराटनगरस्थित नेसनल टे«डिङ कम्पनीको भवनमा सामाजिक विकास मन्त्रालयले ५० बेडको कोरोना अस्पताल तयार गर्दै छ। स्वास्थ्य प्रमुख बस्नेतले केही दिनभित्रै काम सकेर अस्पताल सञ्चालन गरिने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.