सडकका कुकुरलाई ‘मासु भात’
दाङ : लकडाउनका कारण दाङका सडकमा भोकै रहेका सडक कुकुरलाई नवौं दिनदेखि मासु भात खुवाउन सुरु गरिएको छ। स्थानीय जनप्रतिनिधि र व्यवसयायीको सक्रियतामा कुकुरलाई खाना खुवाउन सुरु गरिएको हो।
स्थानीय होटल र घरमा निर्भर रहेका कुकुर लकडाउनका कारण कमजोर भएको देखेर उनीहरुको जीवन रक्षाका लागि खानाको व्यवस्था गरिएको तुलसीपुर उपमहानगरपालिका ५ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहले बताए। वडाध्यक्ष शाह, व्यवसायी ललितजंग शाह र भूपेन्द्र डाँगीले बजारका करिब एक सय कुकुरलाई मासुभात खुवाउन सुरु गरेका हुन्।
भोकका कारण कुकुरहरु चोकचोकमा मर्ने अवस्था देखेर उनीहरुको रक्षाका लागि खाना व्यवस्थापन गरेका हौं, शाहले भने, कुकुरको जीवन रक्षा पनि हाम्रो दायित्व हो। भोकै कोही नमरोस् भन्ने ध्येयले खाना खुवाइरहेका छौं। यो निरन्तर रहन्छ। जति भेटिन्छ सबैलाई खुवाउँछौ।’ होटलहरु बन्द हँुदा कुकुर खाना नपाएर भोकै भएको अवस्थालाई सहज गराउन यो अभियान थालिएको शाहले बताए।
उनले मानव जीवन मात्रै भन्दा महत्वपूर्ण जीवन कुकुरको भएको हुँदा मानवीय समवेदनाले कुकुरलाई खाना खुवाउन थालेको बताए।