कोरोना संक्रमणबारे खुल्दैनन् युरोपका नेपाली

कोरोना संक्रमणबारे खुल्दैनन् युरोपका नेपाली

लण्डन : कोरोना भाइरस (कोभिड-१९)बाट सबैभन्दा बढी प्रभावित छ, युरोप। दिनहुँ हजारौंको मृत्यु भइरहेको छ। दसौं हजार संक्रमित बढिरहेका छन्। यहाँ रहेका नेपालीको अवस्थाबारे भने ठोस जानकारी कतै उपलब्ध छैन। यो विपत्मा नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) दुवैको सञ्जाल फितलो देखिएको छ।

कोरोना महामारीका बेला गैरआवासीय नेपाली पनि संक्रमणमा परिरहेका छन्। बेलायतमा दुई जनाको मृत्युसमेत भयो। यस्ता विषयको जानकारी लिन खोज्दा एनआरएनएले दूतावास र दूतवासले एनआरएनए देखाएर पन्छिने गरेका छन्। बेलायतमा मात्रै थुप्रै नेपाली संक्रमित भएको आकलन गरिए पनि दूतावाससँग कुनै विवरण छैन।

‘हामीसँग सिधै सूचना प्राप्त गर्ने कुनै माध्यम छैन। संक्रमित हुनेहरूले पनि दूतावास वा समुदायलाई आफ्नो संक्रमणबारे जानकारी गराउन नखोजेको बुझिन्छ’, लन्डनस्थित नेपाली दूतावासका उपप्रमुख शरदराज आरन भन्छन्, ‘संक्रमित बनेर उपचार गराइरहेका र उपचार गराएर फर्किसकेका केही नेपाली मात्रै हाम्रो सम्पर्कमा आउनुभएको छ।’

कोरोनाका कारण समस्यामा पर्नेलाई सहयोग गर्न एनआरएनए यूकेले हेल्पलाइन सञ्चालन गरेको छ। हेल्पलाइन संयोजक एवं एनआरएनए यूके सचिव जित रानाभाटका अनुसार विभिन्न परामर्श लिन संक्रमित भइसकेका नेपाली पनि आउने गरेका छन्। ‘सम्पर्क गर्नेमध्ये अधिकांश आफू संक्रमित बनेको सूचना समुदायलाई थाहा नहोस् भनेर गोप्य राख्न आग्रह गर्छन्’, उनी भन्छन्।

युरोपमा सार्वजनिक तथ्यांकअनुसार धेरै नेपाली संक्रमित भएको देश हो, पोर्चुगल। त्यहाँ रहेका पत्रकार हरिकृष्ण पन्थीका अनुसार शनिबारसम्म १९ जनामा संक्रमण पुष्टि भएको छ। उनीहरूमध्ये स्वास्थ्य अवस्था गम्भीर रहने तीन जना अस्पतालमा छन् भने बाँकी घरमै ‘सेल्फ आइसोलेसन’मा। संक्रमितसँग नजिकको सम्पर्कमा रहेका अरू थुप्रै नेपाली छन्। उनीहरूमा संक्रमणको आशंका भए पनि परीक्षण गराइएको छैन। डाक्टरको सल्लाहमा उनीहरू आफैं आइसोलेसनमा रहेको पन्थी सुनाउँछन््।

स्पेनस्थित नेपाली दूतावासमा सात जना नेपाली संक्रमित भएको जानकारी आएको छ। उपनियोग प्रमुख हरिहरकान्त पौडेलका अनुसार थप तीन जना अस्पताल भर्ना भएका छन्। उनीहरूमा संक्रमण भने पुष्टि भइसकेको छैन। संक्रमित हुनेहरू सबै बार्सिलोना क्षेत्रका छन्, जहाँ धेरै नेपाली छन्। कोरोनाबाट बढी प्रभावित कोतालानिया प्रान्तमा नेपालीको बसोबास न्यून छ। त्यहाँ रहेका करिब ५ सय जना सुरक्षित रहेको उनको भनाइ छ।

‘यहाँको सरकारबाट सिधै सूचना प्राप्त गर्ने व्यवस्था छैन’, उपनियोग प्रमुख पौडेल भन्छन्, ‘हामीले यहाँको नेपाली समुदायसँग नियमित सम्पर्कमा रहेर उहाँहरूको अवस्था बुझ्ने प्रयास गरिरहेका छौं।’ संक्रमित सातमध्ये पाँच जना डिस्चार्ज भइसकेको एनआरएनए स्पेनका अध्यक्ष दिनेश गुरुङ बताउँछन्। उनका अनुसार अस्पतालमा उपचाररत दुई जनाको पनि स्वास्थ्य अवस्था सामान्य छ।

युरोपमा बढी प्रभावित इटाली, नेदरल्यान्डलगायत मुलुकमा भने कुनै नेपाली संक्रमित भएको पाइएको छैन। इटालीमा करिब १५ सय नेपालीको बसोबास रहेको एनआरएनए उपाध्यक्ष छविलाल कँडेल बताउँछन्। ‘हामी लगभग सबै नेपालीसँग एकआपसमा सम्पर्कमा छौं’, उनी भन्छन्, ‘सबैभन्दा बढी प्रभावित क्षेत्रमा रहेका नेपालीसँग पनि कुरा भइरहेको छ।’

नेदरल्यान्डमा करिब २ हजार नेपालीको बसोबास छ। नेदरल्यान्डमै बस्ने एनआरएनए युरोप संयोजक नारायण आचार्य सबै नेपालीको सम्पर्कमा रहेको बताउँछन्। सबै जना सुरक्षित रहेको उनको भनाइ छ।

नेदरल्यान्ड र लक्जेम्बर्गसमेत हेर्ने बेल्जियमस्थित नेपाली दूतावासका अनुसार बेल्जियममा एक जनाबाहेक तीनै मुलुकमा अन्य नेपाली संक्रमित भेटिएका छैनन्। ‘हामीले एनआरएनएसहित अन्य नेपाली संघसंस्था र समुदायको सहयोगमा नेपालीहरूको अवस्थाबारे जानकारी लिइरहेका छौं’, युरोपेली महासंघ (ईयू)का लागि नेपाली राजदूत लोकबहादुर थापा भन्छन्, ‘बेल्जियममा एक जना संक्रमित हुनुभएको छ। उहाँको स्वास्थ्य अवस्था सामान्य छ। अरू संक्रमित भएको सूचना आएको छैन। सबै सजग छन्।’

कोरोना महामारीको केन्द्र बनेको युरोपमा सयौं नेपाली संक्रमित रहेको आशंका गरिएको छ। उनीहरूको यकिन तथ्यांक कसैसँग छैन। नेपाली दूतावासका अधिकारी संक्रमितको विवरण संकलन गर्न कठिनाइ रहेको स्वीकार गर्छन्। यहाँका अस्पताल वा सरकारी निकायबाट सिधै सूचना लिने व्यवस्था नरहेका कारण विवरण प्राप्त नभएको उनीहरूको भनाइ छ। नेपाली संघसंस्था र स्थानीय नेपाली समुदायले खबर गरेका घटना मात्रै दूतावासको जानकारी देखिएको छ।

सरकारले विदेशमा रहेका नेपालीको यथार्थ विवरण तय गर्न आवश्यक छ। जर्मनी, डेनमार्क, फ्रान्सलगायत मुलुकमा पनि नेपाली संक्रमित भेटिएको छैन। संक्रमणमा परेर पनि सूचना बाहिर नल्याएको हुन सक्ने विषयमा राजदूतहरूबीच छलफल भइरहेको एक अधिकारी सुनाउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.