लकडाउनमा मजदुरको चिन्ता- रोगले भन्दा भोकले मरिने भो

लकडाउनमा मजदुरको चिन्ता- रोगले भन्दा भोकले मरिने भो

जाजरकोट : दैनिक ज्याला मजदुरी गरेर हातमुख जोड्दै आएकी भेरी नगरपालिका ३ थाप्ले बस्ने सीता नेपालीको परिवार यतिबेला लकडाउनको पीडामा छ। उनको परिवारलाई रोगको भन्दा भोगको चिन्ता छ ।'खानेकुरा केही छैन । कसरी गुजरा चलाउने उनले भनिन्, 'दिनहुँ काम गरेर छाक टार्थे तर १३ दिनदेखि काममा गएको छैन । घरमै छु । पैसा छैन । के खाएर पेट पाल्ने हो ।'

तीन सन्तानकी आमा उनी एकल महिला हुन् । ज्याला मजदुरी गरेर आफू र केटाकेटी पाल्दै आएकी उनलाई कोरोना भाइरसको संक्रमण फैलने चिन्ताभन्दा कसरी आफू र केटाकेटीको पेट भर्ने भन्ने पिरलो छ।

भेरी नगरपालिका ३ कल्यानपुरका देवबहादुर कार्की दैनिक ज्याला मजदुरी गरेर परिवारको गर्जो टार्थे । दिनहुँ बजारमा आएर ट्रकबाट मालसमान झार्ने, बोक्ने(पल्लादारी) लगायतका काम गर्थे । त्यसरी काम गरे वापत कमाएको पैसाले खाद्यान्न, नुन तेलको जोहो गर्थे ।

तर १३ दिनअघि कोरोना भाइरसको संक्रमण रोक्न भन्दै सरकारले देशभर लकडाउन गरेपछि उनी काममा निस्कन पाएका छैनन् । घरभित्रै बसिरहेका छन् । तर उनलाई एउटै कुराको पिरलो छ । घरमा भएको खाद्यान्न सबै सकियो । मजदुरी गरेर कमाएको पैसा पनि बचत छैन । कसरी जहान केटाकेटी पाल्ने उनले समस्या सुनाउँदै भने,' कहिलेसम्म घरबाट निस्कन पाइने होइन, त्यतिबेलासम्म हामी के खाएर बाँच्ने ?  कोरोना संक्रमणको चिन्ता भन्दा छाक टार्ने चिन्ता छ ।'

त्यस्तै, बारेकोट गाउँपालिका तोलखानाकी पवित्रा सिंह सदरमुकाममा दिनहुँ गिट्टी कुटेर गुजरा चलाउने गर्थिन् ।  श्रीमानको १० वर्षअघि मृत्यु भएपछि दुई छोरा र एक छोरी गिट्टी कुटेरै भएपनि पाल्दै आएकी थिइन तर लकडाउनले उनको चुल्हो बल्न छोडेको छ । 'कसरी केटाकेटीको पेट भर्ने हो, साह्रै समस्या भो ,' उनले भनिन्।

भेरी नगरपालिका ४ मुलपानीकी विष्णुमाया विक गिट्टी कुटेर गुजरा चलाउँछिन्। श्रीमानले दास्रो श्रीमती विवाह गरेपछि विष्णुमाया २ छोरी १ छोरा  लिएर माइतीघर बस्छिन् । 'छोराछोरी साना थिए । श्रीमानले छोडे पछि छोराछोरीको लालनपालनको जिम्मेवारी सबै मेरै काँधमा आयो,' विष्णुमायाले भनिन् ।

छोराछोरीलाई पढाउँछु भनेर माइती गाउँमा आएर गिट्टी कुटेरै गुजरा चलाउँदै आएको उनले बताइन्।' १३ दिन भो । घर बाहिर ननिस्कनु भनेका छन् । काममा जाने त कुरै छैन । घरमा खाद्यन्न छैन के खाएर बाँच्ने हो । भोकले मार्ने हो कि कोरोनाले उनले चिन्ता प्रकट गदै भनिन्,' हामी गरीबलाई सधै दुःखै दुःख छ।'

लकडाउन लम्बिदै जाँदा मजदुर वर्ग थप समस्यामा परिरहेको छ । नागरिक अगुवा राजेन्द्र विक्रम शाहले केही समय अति विपन्न परिवारको भरणपोषणको जिम्मा राज्यले लिनुपर्ने बताए । 'संकटको बेला बेलामा विपन्न परिवार बढी जोखिममा पर्ने भएकाले उनीहरुको संरक्षणमा सरकारले उचित ध्यान दिनुपर्छ,' उनले भने ।

जाजरकोटमा दैनिक ज्याला मजदुरी गरेर पेट पाल्ने परिवारको संख्या दुई हजार बढी रहेको जिल्ला समन्वय समिति जाजरकोटले जनाएको छ । तर केही स्थानीय तहले खाद्यान्न वितरण गरेपनि सदमुकाम रहेको भेरी नगरपालिकाले हाल सम्म मजदुरलाई सहयोग गर्ने कुनै सुरसार गरेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.