डोटीमा एक महिलाको गोली हानी हत्या
डोटी : डोटीको जोरायल गाउँपालिका वडा नम्बर ४ देउथलामा एक महिलालाई गोली हानेर हत्या गरिएको छ । आइतबार बेलुकी करिब ६ बजेतिर नङनी टोलकी २० वर्षीया अनिता वनलाई भरुवा बन्दुकले गोली हानेर हत्या गरिएको प्रहरीले जनाएको छ ।
अनिताका २२ वर्षीय श्रीमान् खडक वनले गोली हानी हत्या गरेको आशङ्का गरिएको छ । मृतक अनिता र उनका श्रीमान् मात्रै घरमा भएको बेला घटना भएको र उनका श्रीमानले आफूले गोली नहानेको बताएको इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज सई महेन्द्र थापाले बताए । मृतक अनिताको छातीको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।
घरको माथिल्लो तलामा रहेका दुई कोठामध्ये भित्र पट्टिको कोठामा घटना भएको र सोही कोठाको कुनामा भरुवा बन्दुक ठड्याएर राखिएको अवस्थामा फेला परेको सई थापाले बताए । अनिताका श्रीमान् खडकले आफू घरको तल्लो तलामा रहेको बेला एक्कासि गोली पड्किएको आवाज आएको र त्यसपछि आफू माथिल्लो कोठामा जाँदा श्रीमती ढलेको देखेको बताएको प्रहरीले जनाएको छ । घटनाको समयमा खडककी आमा विपिनगरमा रहेको खडककी फुपूको घर गएको, बुबा गाउँकै माथिपट्टि रहेको पसलमा गएका र भाइ साथीहरूसंग खेल्न बाहिर निस्किएका बताइएको छ ।
घरमा श्रीमान् श्रीमती मात्र भएको समयमा घटना हुँदा श्रीमानले हत्या गरेको हुन सक्ने आशङ्का गरिएको हो। वनको घरमा राखिएको भरुवा बन्दुक अवैध रहेको समेत प्रहरीले जनाएको छ । प्रहरीले खडक वनलाई नियन्त्रणमा लिइ घटनाको विस्तृत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलीप सिं देउवाले बताए ।
डडेलधुराको भागेश्वर गाउँपालिका वडा नं ५ बगरकोट सिराडी माइती घर भएकी अनिता र खडकको गत फाल्गुन १३ गते भागी विवाह भएको र फाल्गुन २९ गते सामाजिक परम्परा अनुसार विवाह भएको पारिवारिक श्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !