‘भोकैले मरिने भइयो !’

‘भोकैले मरिने भइयो !’

सप्तरी : सरकारले  लकडाउनको निर्णय गरे पनि राहत वितरणमा तदारुकता नदेखाउँदा  सप्तरीका निम्नवर्गीय नागरिक प्रभावित भएका छन् । यसको सबैभन्दा ठुलो असर दैनिक श्रम गरी कमाएर खाने वर्गमा परेको छ । घरबाहिर निस्कनै नपाउँदा दैनिकी कसरी चलाउने भन्ने चिन्ता थपिँदो छ । यस्तै शारीरिक अशक्तसमेत लकडाउनका कारणले प्रभावित बन्न थालेका छन् ।

मागेर जीवनयापन गर्दै आएका सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्वर ४ सिल्हटकी एक दृष्टिविहीन दलित परिवारको दैनिकी कष्टकर बनेको छ । 
 ५२ वर्षीया भोल्वीदेवी राम दुबै आँखा नदेख्ने हुँदा गाउँमा मागेर आफूसहित बालक छोरोको गुजारा चलाउँदै आएकी थिइन्  । जन्मिएदेखि दृष्टिविहीन भएकी भोल्वीदेवीले १५ वर्षअघि उखम मोचीसित  विवाह गरिन् ।  ऐलानी जग्गामा परालले बेरिएको झुप्रोबोहक सम्पतिको नाममा अरु केही नरहे पनि उखमले ज्याला मजदुरीको काम गरेर भोल्वीदेवीलाई खुसी नै राखेका थिए । तर, विवाह गरेको ५ वर्षमै पतिको मृत्यु भएपछि भोल्वीदेवीको त्यो खुसीमा पनि नराम्रोसँग ग्रहण लाग्यो र मागेर जीविकोपार्जन गर्ने बाध्यता आईपर्यो । 

    
भोल्वीदेवीका दुई सन्तानमध्ये जेठो छोरा ११ वर्षीय दिनेश पनि जन्मिएदेखि नै दृष्टिविहीन छन् । दिनेशको लापनपालनको जिम्मा राजविराजस्थित एक संस्थाले लिए पनि कान्छो छोरा १० वर्षीय दिपकको लालनपालनको जिम्मा भने उनकै काँधमा छ । अहिले लकडाउनका कारणले मागेर खाने बाटो पनि थुनिएको भन्दै उनले बालक छोरालाई भोकै राख्नु पर्दा झनै पीडा महशुस हुने गरेको बताइन् ।

राजविराज नगरपालिका–१६ की अमलादेवी सदा ज्यालादारी मजदूर हुन् । कृषि र निर्माणसम्वन्धी काम गरेर उनले दुई छोरीसहित तीन जनाको परिवार पालेकी छिन् ।  लकडाउन गर्ने निर्णयसंगै निर्माणसम्वन्धी काम रोकिएपछि उनको रोजिरोटी पनि खोसिएको छ । 

आफू संगसंगै छोरीहरू पनि कयौं छाक भोकै बस्नु परेको उनले सुनाइन् । कमाउन भन्दै ५ वर्षअघि काठमाडौं गएका पतिले अर्को विवाह गरेर उतै बसेपछि आफूले दुःख पाएको उनको भनाइ छ ।

अमलामात्र होइन, स्थानीय गंगीयादेवी सदाको अवस्था पनि उस्तै छ । १५ वर्षअघि पति नारायणको मृत्यु भयो । त्यसपछि ज्याला मजदूरी गरेर उनले दुई छोरीको पालनपोषण गरिन् र उनीहरूको विवाह पनि गराइन् । तर, छोरीहरुको आर्थिक अवस्था कमजोर भएका कारण दुई नातिनी पाल्ने जिम्मा अहिले पनि उनीमाथि नै छ । जसोतसो जिविका चलाइरहेका बेला सबैतिर काम बन्द हुँदा के खाने भन्ने चिन्ता सुरु भएको उनले गुनासो गरिन् । ‘रोगले त विस्तारै लान्थ्यो होला, पेट बाँधेर कति दिन बाँचिएला’, उनी भन्छिन्,‘अब त कसैले देला र खाउँला भन्नेबाहेक अर्को विकल्प नै छैन।’

समस्या अमला र गंगियाको मात्र होइन । सप्तरी जिल्लामा भूमिहीन र सुकुम्बासीको बसोबास ठूलो छ । ज्याला मजदूरी गरेर जिविकोपार्जन गर्ने ती हजारौं मजदूरको अवस्था यतिबेला दयनीय छ । सदरमुकाम राजविराजमा मात्रै करिव २ सय ५० मजदूर कामको खोजीमा विभिन्न स्थानबाट दैनिक जम्मा हुने गरेका थिए । लकडाउनको निर्णयले पाउने गरेको काम पनि रोकिँदा साह्रै गाह्रो भएको हनुमानगर कंकालिनी नगरपालिकास्थित गोवरगाढाका मजदूर विनोद यादवले बताए ।

लकडाउनको मौका छोप्दै उपभोग्य सामग्रीमा गरिएको मूल्य वृद्धिले पनि श्रमजीवी वर्गलाई पिरोलेको  छ । दाल, चामल, तरकारीलगायतका सामानमा एक्कासी भएको मुल्यवृद्धिले किनेरै खानुपर्ने तथा मजदूरी गरेर जिविकोपार्जन गरिरहेका प्रत्यक्ष प्रभावित भएका छन् । सम्वन्धित निकायले बजार नियन्त्रण गर्न नसक्दा निम्नवर्गका व्यक्तिलाई छाक टार्नसमेत समस्या हुन थालेको राजविराजका मजदूर नेता केदार देव बताउँछन् ।

यस्ता वर्गका लागि संघ, प्रदेश र स्थानीय सरकारले विशेष राहत प्याकेज नै बनाएर कार्यान्वयमा ल्याउनु पर्ने उनले माग गरे। ‘सरकारले समयमै यस विषयमा ध्यान नदिए जनता रोगले भन्दा पनि भोकले मर्छन्’ उनले थपे, ‘बेलैमा सोचौं, नत्र अनर्थ हुन सक्छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.