सडकको गरालोमा ताल्चा
![सडकको गरालोमा ताल्चा](https://annapurnapost.prixacdn.net/media/albums/sadak-tala_20200407075146_HZv5sNMvh9.jpg)
बेनी : बेनी-दरवाङ सडक अन्तरगत पश्चिम म्याग्दीको व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मुख्य नाकाको सडकमा ताल्चा लगाइएको छ। बेनी-दरवाङ म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई सदरमुकाम बेनीसँग जोड्ने मुख्य सडक हो।
कोरोना भाइरसको संक्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका-६ छ्यारछ्यारेस्थित मुल सडकमा फलामको रड तेर्साएर ताल्चा लगाएका हुन्। यो सडक भएर म्याग्दीको मालिका र धवलागिरी तथा बागलुङको तमानखोला गाउपालिकाका बासिन्दा सदरमुकाम बेनी आवत जावत गर्छन्।
दरवाङदेखि सदरमुकाम बेनीतर्फ आउने ठाउँमा आवत जावत रोक्न गरालो हालेर ताल्चा लगाएको वडा अध्यक्ष सन्तोष सुवेदीले बताए। 'साझ बिहान लुकिछिपी आवतजावत बढेपछि फलामेबार राखेर ताल्चा लगाइएका हौ' उनले भने 'खतराबाट बच्न सडकमै ताल्चा लगाएर बन्द गर्नुपरेको हो।' वडाध्यक्ष सुवेदीका अनुसार एक गाउँबाट अर्को गाउँ जावतजावतमा थप कडाइ गर्नेगरी प्रहरीसहित छ युवा खटाइएको छ। बिरामी र अत्यावश्यक परेकालाई सहज हुनेगरी वडाध्यक्ष सुवेदी, इलाका प्रहरी कार्यालय र लायन्स क्लब अफ दरबाङका पूर्वअध्यक्ष हीरा पुनलाई साँचो दिइएको छ।
लकडाउन (बन्दाबन्दी)को कार्यान्यनका लागि म्याग्दीका गाउँगाउँमा प्रहरीसँगै स्वंयसेवक परिचालन भएका छन्। एकबाट अर्को वडामा आवतजावत गर्न अनुमति लिनुपर्ने भएको छ। गाउँ छिर्ने नाकाका सडकमा गरालो राखेर प्रवेश निषेध गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)