कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता
बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा खटेकास्वास्थ्यकर्मीका लागि भत्ताको व्यवस्था गरेको छ। शनिबार बसेको गाउँकार्यपालिकाको बैठकले स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता अक्कलबहादुर रानाले बताए।
त्यसैगरी कर्मचारीहरुलाई २५ प्रतिशत थप भत्ता उपलब्ध गराउने निर्णय भएको उनले सुनाए। ‘हामीले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नका लागि उनीहरुलाई शतप्रतिशत थप भत्ता दिने निर्णय गरेका छौँ’, उनले भने, ‘कार्यपालिकाबाट यो निर्णय पारित भएको छ।’
यस्तै कोरोनाका कारण कुनै कर्मचारीको मृत्यु भएमा उसको आश्रित परिवारको सदस्यलाई १० लाख क्षतिपूर्ती दिने निर्णय गरेको छ।
बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ५० लाखको राहत कोष स्थापना गर्ने निर्णय पनि गरेको छ। कोषमा गाउँपालिका अन्तर्गतका कर्मचारीको १० दिनको तलब कट्टा गरी जमा गर्ने, लकडाउन अवधिभर जनप्रतिनिधिले पाउने सेवा सुविधा सबै सो कोषमा राख्ने निर्णय समेत भएको प्रवक्ता रानाले जानकारी दिए।
दुई हजारको राहत
जिल्लाको पुर्चौंडी नगरपालिकाले लकडाउनमा छाकटार्न कठिन भएका परिवारलाई राहत वितरण कार्य सुरु गरेको छ। नगरपालिकाले तथ्यांक संकलन गरेर असंगठित क्षेत्रका मजदुरलाई शनिबारदेखि राहत वितरण सुरु गरेको नगरपालिकाका प्रवक्ता दलबहादुर धामीले बताए।
‘हामीले नगरपालिकाका प्रत्येक वडाबाट तथ्यांक संकलन गरेका छौं। दैनिक मजदुरी गरेर खाने ४१० परिवारको तथ्यांक संकलन भएको छ। उनीहरुलाई हामीले दुई हजार बराबरको खाद्यान्न वितरण गर्न थालेका छौं।’
कोराना भाइरस रोकथाम तथा नियन्त्रण नगरस्तरीय समन्वय समितिको बैठकको निर्णय अनुसार राहत वितरण भइरहेको हो। राहतमा दाल, चामल, नुन, तेल र साबुन राहत स्वरुप वितरण गर्न थालिएको प्रवक्ता धामीले बताए।
प्रतिक्रिया दिनुहोस !