आइसोलेसनमा भर्ना गरिएका प्रहरी जवानको कोरोना रिपोट नेगेटिभ
बैतडी : जिल्ला अस्पताल बैतडीमा आइसोलेसन कक्षमा भर्ना गरिएका प्रहरी जवानको कोरोना रिपोट नेगेटिभ आएको छ । दार्चुला घर भएका ३२ वर्षीय प्रहरी जवानलाई ज्वरो, पखाला र टाउको दुख्ने समस्या देखिएपछि शुक्रबार जिल्ला अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको थियो ।
सीमा प्रहरीचौकी झुलाघाटमा कार्यरत प्रहरी जवानको थ्रोट स्वाबको नमूना संकलन गरेर सेती प्रादेशिक अस्पतालमा पठाएको थियो। रिपोट नेगेटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. बसन्तराज जोशीले पुष्टि गरेका छन्।
यसअघि ती प्रहरी जवानको र्यापीड टेस्ट पनि गरिएको थियो । आइतबार र्यापीड टेस्टको रिपोट पनि नेगेटिभ आएको थियो । प्रहरी जवानको कोरोना रिपोट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको जिल्ला अस्पतालले जनाएको छ । यसअघि पनि कोरोना आशंकामा दुईजनालाई आइसोलेसनमा भर्ना गरेको भएपनि उनीहरुको रिपोट पनि नेगेटिभ आएपछि डिस्चार्ज गरिएको थियो।
बैतडीमा क्वारेन्टाइनमा बसेका १३३ जनाको र्यापीड टेस्ट गर्दा रिपोट नेगेटिभ आएपछि उनीहरुलाई एक हप्ता होम क्वारेन्टाइन बस्ने गरी क्वारेन्टाइनबाट बिदाइ गरिएको छ । थ्रोट स्वाब संकलन गरिएका ४२५ जनाको भने रिपोट आउन बाँकी हुँदा क्वारेन्टाइनमा नै बसेका छन् ।
प्रतिक्रिया दिनुहोस !