सीमामा रोकिएका नेपाली भन्छन्,- सरकार, निकै दु:ख पायौं, स्वदेशकै क्वारेन्टाइनमा बस्न चाहन्छौं

सीमामा रोकिएका नेपाली भन्छन्,- सरकार, निकै दु:ख पायौं, स्वदेशकै क्वारेन्टाइनमा बस्न चाहन्छौं

बैतडी : भारतको झुलाघाट र धार्चुलाका विभिन्न क्वारेन्टाइनमा बसेका नेपाली नागरिकले स्वदेश फर्कन पाउनुपर्ने माग गरेका छन् । आफूहरुलाई क्वारेन्टाइनमा बसेको १४ दिन पूरा भइसकेको र आफूहरुलाई कुनै स्वास्थ्य समस्या समेत नभएकाले स्वदेश फर्काउन उनीहरुले माग गरेका हुन् । 

भारतीय क्वारेन्टाइनमा बसेको दुई हप्ता बढी भइसकेको र खान-बस्न समेत समस्या भएको बैतडीको दोगडाकेदार गाउँपालिकाका कृष्णानन्द भट्टले जानकारी दिए । 'हामी एउटै विद्यालयमा ८० जनाभन्दा बढी एकै ठाउँमा बसेका छौं । खानपीनको समस्या छ । सुत्नका लागि धेरै अप्ठ्यारो भएको छ, उनले अन्नपूर्णसँग भने, 'हामीलाई क्वारेन्टाइनमा बसेको १६ दिन भइसकेको छ । आधा किलोमिटर टाढाबाट पानी ल्याएर खाना बनाउनुपर्ने बाध्यता छ । हामी स्वदेशकै क्वारेन्टाइनमा बस्न चहान्छौं।'

'क्वारेन्टाइनमा बसेको १६ दिन भइसक्यो । ३÷४ सय जना एकै ठाउँमा छौं । भारत सरकारले खानाको व्यवस्था गरेको भएपनि बसोबासको निकै समस्या भएको छ , बैतडीको पुर्चौंडीका उत्तम बोहराले धार्चुलाबाट अन्नपूर्णसँग फोनमा भने, 'क्वारेन्टाइनको बसाई निकै असहज छ । नुहाउन नपाएको दुई साता भयो। हामी आफ्नै देशको क्वारेन्टाइनमा बस्न तयार छौं ।'

क्वारेन्टाइनमा एकै कोठामा धेरैजना मिलेर बस्नुपर्ने, ओछ्याउने र ओढ्ने व्यवस्था समेत नहुँदा आफूलाई निकै समस्या भएको पुर्चौंडी ८ का दीर्घराज जोशीले बताए । उनले सरकारसँग स्वदेश फिर्ता गरिदिन माग गरेका छन्।
 
शौचालयको समेत समस्या रहेको मजदुरले बताएका छन् । पुर्चौंडीका केशव पाठकले भने, 'पैसा कमाउन भारत आएका हाम्रो यस्तो बिजोग भयो।' भारतको झुलाघाटमा अढाई सय बढी र धारचुलामा एक हजार बढी नेपाली मजदुर क्वारेन्टाइनमा छन् । 

मजदुर ल्याउने तयारीमा स्थानीय प्रशासन 

भारतीय क्वारेन्टाइनमा बसेको नेपाली मजदुरलाई स्थानीय प्रशासनको स्वदेश फर्काउने तयारी छ । भारतीय क्वारेन्टाइनमा बसेका मजदुरलाई स्वदेश फर्काउन भारतीय पक्षले पनि ताकेता गरिरहेकाले स्थानीय प्रशासनले फर्काउने तयारी गरिरहेको हो । 

सीमा क्षेत्रमा रहेका मजदुरको लगत संकलन गरेर सबै जिल्लाको समन्वयमा केही दिनमा मजदुरलाई फर्काउने तयारी रहेक सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए। उनले दुवै ठाउँमा बैतडीका मात्रै ९ सय जना छन् । तिनीहरुलाई ल्याएर क्वारेन्टाइनमा राख्नका लागि सम्बन्धित पालिकालाई क्वारेन्टाइन निर्माण गर्न निर्देशन दिइसकेको बताए।

मजदुरलाई स्वदेश फर्काउनु अघि उनीहरुको स्वास्थ्य चेकजाँच गरेर मात्रै ल्याइने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले बताए । उनले भने, 'नेपालीलाई दुई हप्ता क्वारेन्टाइनमा राख्ने तयारी गरेर फर्काउने तयारी गरेको छौं । जुनजुन जिल्लाका मजदुर त्यहाँ फसेका छन् । ति जिल्लासँग समन्वय भइरहेको छ ।'


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.