बालुवा चाल्ने मजदुरले राहत पाएनन्

बालुवा चाल्ने मजदुरले राहत पाएनन्

धनकुटा : साँगुरीगढी-१ लावरबोटेका पूर्णशम्सेर लिम्बु लेउती खोलामा बालुवा चालेर जीविकोपार्जन गर्छन्। उनका लागि केही दशकयता परिवारको खर्च धान्ने भरपर्दो माध्यम भनेकै लेउती खोलामा बालुवा चालेर कमाएको रकम हो। कोरोना सन्त्रासले सरकारले लकडाउन घोषणा गरेसँगै यतिबेला उनको कमाइ गर्ने थलो ठप्प छ।

गाडी नचल्दा चालेको बालुवा बिक्री पाएका छैनन्। खोलामै अलपत्र छ। बरु लेउती खोलामा आउने बाढीले नै चालेको बालुवा कतिबेला लगिदिने होला भन्ने चिन्ता छ उनलाई। लकडाउन लम्बिएपछि स्थानीय तहले ज्यालादारी र मजदुरलाई राहत स्वरुप खाद्यान्न बाँड्यो। तर, लेउती खोलामा बालुवा चाल्ने अधिकांश मजदुरले राहत पाएनन्। एकातिर कमाइ गर्ने माध्यम ठप्प छ भने अर्कोतिर राहत नपाउँदा निन्द्रा हराउन थालेको उनले दुःखेसो पोखे। पहुँच हुनेलाई मात्र राहत वितरण गरेको उनको आरोप छ। 'केही मजदुरले राहत पाएछन्', उनले भने, 'हामीले पत्तै पाएनौं। केही खाद्यान्न पाए केही दिनलाई हुन्थ्यो। अब भोकै मर्नुपर्ने हो की भन्ने चिन्ता लाग्न थालेको छ।

सरकारले असारदेखि असोजसम्म तीन खोलाबाट बालुवा उत्खनन्मा प्रतिबन्ध लगाउने गर्छ। दैनिक खर्च टार्दै तीन महिनाका लागि पैसा जोहो गर्न समय पनि यति बेलै हो। तर अहिले लकडाउनले ठप्प हुँदा खर्च कसरी जोहो गर्ने भन्ने चिन्ताले सताउन थालेको अर्का मजदुर शेरबहादुर लिम्बुले बताए। 'लकडाउन पछिका केही समय त जोहो गरेको पैसाले धान्यो', उनले भने, 'अहिले छरछिमेक सँग पैचो लिएर गुजारा चलाइरहेका छौं।'

तेह्रथुम फाक्चारा घर भएकी पूर्णमाया ठकुरी १३ वर्षदेखि लेउती बगरमा बालुवा चालेर परिवारको जीविकोपार्जन गरिरहेकी छन्। जेठो छोरो र उनले बालुवा चालेर कमाएको पैसा ५ जना सदस्य भएको परिवारको घरखर्च चलाउने माध्यम हो। लेउती किनारमा रहेको लावरबोटेमा कोठा भाडामा लिएर बसेकी छन्। लकडाउन भएदेखि नै उनको कमाइ शून्य छ। कोठामा मौज्दात खाद्यान्न रित्तिन थालेको छ। वडा कार्यालयले राहत बाँडेको सुने पनि आफूले नपाएको ठकुरीले दुःखेसो गरिन्।

'राहत हामीजस्ता ज्याला मजदुरी गर्नेलाई दिने हो भन्ने सुनेको थिएँ' उनले भनिन्, 'राहतको प्राथमिकता पहुँच हुनेलाई मात्रै रहेछ।' राहतको विषयमा वडामा सम्पर्क गर्दा जुन ठाउँको स्थायी बासिन्दा हो, त्यही पाउने भन्ने जवाफ आयो। घर पुग्न तीन दिन हिँड्नु पर्छ। बाटोमा पक्रिन्छ भन्ने डर छ। कहिले गाडी आउला भन्ने आशमा बसेको उनले बताइन्।

सिम्सुवा गोलाईदेखि लाबरवोटेसम्म लेउती खोलाको किनारमा गिट्टी बालुवा चालेर काम गरी खाने डेढ सय परिवारको हाराहारीमा मजदुर छन्। केहीले स्थानीय तहबाट वितरण भएको राहत पाए। अधिकांश राहतबाट बञ्चित भएको बासिन्दाको भनाइ छ। लेउती बगरमा बालुवा चाल्न स्थानीय मात्रै नभएर भोजपुर, उदयपुर, सुनसरी र तेहथुमदेखि आएर परिवार बालुवा चालेर जीविकोपार्जन गर्छन्। गाडी चल्दा र चालेको बालुवा बिक्री हुँदा मात्रै ती मजदुरको हात पैसा पर्छ।

स्थानीय तहले हुनेखानेलाई मात्रै राहत वितरण गरेको संद्यीय समाजवादी पाटीका अध्यक्षसमेत रहेका लावरबोटेका बासिन्दा बलबहादुर राईले आरोप लगाए। यस क्षेत्रमा रोजगार मजदुर अत्याधिक छन्। चार भागमा तीन भाग छुटेका छन्। उधारो चामल निकाल्ने छन्। पसलेले पनि उधारो दिँदैनन्। लामो समयसम्मको लकडाउनले मजदुरलाई प्रभाव परेको देखिन्छ। मैले जिल्लास्तरीय समन्वय बैठकमा समेत कुरा उठाएको छु। जानकारी भएकै छ। सायद कार्यान्वयन होला, उनले भने।

यता साँगुरीगढी गाउँपालिकाका प्रवत्ता तथा कार्यपालिका सदस्य बालकृष्ण राईले दैनिक ज्यालादारी र अतिगरिब पहिचान भएका घरधुरीलाई प्राथमिकता दिएर राहत वितरण गरेको बताए। उनले वडासमिति र समन्वय समितिको सिफारिसमा भएका नामावलीलाई प्राथमिकता राखिएको बताए। यद्यपि केही नामावली छुटेकाको तथ्यांक संकलन भइरहेकाले कसैलाई पनि पक्षपात नगरी राहत दिने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.