राजमार्गमा अलपत्र परेका यात्रुका लागि 'निःशुल्क खाजा घर'
राजविराज : पूर्व-पश्चिम राजमार्गमा अलपत्र परेका यात्रुलाई लक्षित गरी सप्तरीको शम्भुनाथ नगरपालिका-३ का व्यवसायीले 'निःशुल्क खाजा घर' सञ्चालन गरेका छन्।लकडाउनका कारण सवारी साधन चल्न नसक्दा हिँडेरै घरतर्फ लागेका यात्रुलाई निःशुल्क खाजा खुवाउन पूर्व पश्चिम राजमार्ग छेउमै रहेको ट्राफिक चौकमा खाजा घर सञ्चालन गरिएको हो ।
लकडाउनले पसल पनि बन्द रहँदा काठमाडौं, पोखरा, वुटबललगायतका स्थानबाट घर हिँडेका यात्रुहरुले खानापानीसम्म नपाइ रहेकाले बजारवासीले पहल गरेर यात्रुका लागि निःशुल्क खाजाको व्यवस्था गरेको छ । 'सुरुमा आफ्नै पहलमा खाजा घर सञ्चालन गरे, पछि बजारका व्यवसायीको पनि साथ र सहयोग पाइरहेको छु,' स्थानीय विरेन्द्रकुमार साहले भने, 'बजारभरिका व्यवसायीले चिउरा, भुजा, दालमोट, चाउचाउ, बिस्कुटलगायतका सामग्री उपलब्ध गराइरहेका छन्, सोही सामग्री राजमार्ग भएर हिँड्दै गइरहेका यात्रुहरुलाई दिँदै आएको छु।'
उनले खाजा बाहेक पनि बजारमा क्लिनिक तथा औषधि पसल सञ्चालन गरिरहेकाले सामान्य खालका औषधि समेत निःशुल्क वितरण गर्दै आएको बताए । ४ दिनअघि सञ्चालन गरेको खाजा घरमा शुक्रबारसम्म करिब सयजना यात्रुहरुलाई निःशुल्क खाजा खुवाइएको बताउँदै बताए। उनले लकडाउनको अवधिभर खाजा घर सञ्चालनमा रहने बताए ।
व्यवसायीले अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्याएर सहयोग गर्न स्थानीय, प्रदेश र संघ सरकारसँग आग्रह समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस !