बिक्री हुन थाल्यो संस्थानको चामल

डोल्पा : कुनै बेला बिक्री नभएर गोदाममै कुहिन्थ्यो। स्थानीयले स्वादिलो नभएको भन्दै किन्न आनाकानी गर्थे। तर यतिबेला नेपाल खाद्य संस्थानको चामल धमाधम बिक्री हुन थालेको छ। लकडाउनका कारण डोल्पामा संस्थानको चामल बिक्री र माग बढेको हो।
हाल दैनिक ६० क्विन्टलभन्दा धेरै चामल बिक्री भइरहेको छ। खाद्य व्यवस्था तथा बिक्री केन्द्र डोल्पाले पछिल्लो समय चामलको माग बढेको जनाएको छ। पहिला दैनिक बढीमा २० क्विन्टलसम्म बिक्री गर्न मुस्किलले हुन्थ्यो। तर लकडाउनका कारण दुई गुणाले चामलको बिक्री बढेको खाद्य व्यवस्था तथा बिक्री केन्द्र डोल्पाका प्रमुख कमलराज पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार लकडाउनमा खाद्य व्यवस्थाले सबै चामलमा दश प्रतिशत मूल्य घटाएको छ। चामलको मूल्य घट्नु र लकडाउनले खाद्यान्न संकट हुने डरले सर्वसाधारणले चामल धेरै किनेको पाण्डेको अनुमान छ। हाल सबैभन्दा धेरै जापानी चामल बिक्री हुने गरेको खाद्य व्यवस्था तथा बिक्री केन्द्रका बासुदेव रिजालले जानकारी दिए। दैनिक ६० क्विन्टलभन्दा धेरै बिक्री भए पनि गोदाममा मौज्दात रहेको र ढुवानी पनि भइरहेकाले समस्या नभएको केन्द्रको दाबी छ।
जिल्लामा खाद्यान्नको मौज्दात भएकाले अभाव नहुने प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। उनका अनुसार ढुवानीमा सहजता भएकाले पनि नागरिकले मागअनुसार पाएको बताए। जिल्लामा चामल बिक्री दैनिक बढेपछि ढुवानीलाई पनि तीव्रता दिएको छ। यसवर्ष मात्रै ढुवानी हुनुपर्ने जिल्लाको कोटाको १८ हजार क्विन्टल चामलमा हाल एक हजार क्विन्टल मात्रै ढुवानी भएको छ। हाल जिल्लामा खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डोल्पा शाखामा तीन हजार, जुफालमा दुई हजार र काईगाउँमा ६ सय क्विन्टल चामल मौज्दात छ।
प्रतिक्रिया दिनुहोस !
