कोभिड—१९ ले सिकाएको पाठ

कोभिड—१९ ले सिकाएको पाठ

आउने दिनमा सामाजिक एकता कायम राखी आपसमा मिलेर रोग, भोक र शोकविरुद्ध नलड्ने हो भने महामारीको दुष्प्रभावबाट फेरि उठ्न सकिने छैन


कोरोना भाइरसले विश्वभर नै एकाएक हमला गरेको छ। यसबाट सबै प्रभावित छन्। जो स्वस्थ्य र सबल छन्, तिनले पनि संक्रमणको डरले लकडाउनमा बस्नुपरेको छ। अबका दिनमा पनि संसारभरका मुलुकले एकैपटक कोरोनासँग युद्ध गर्नु परेको छ। विकास निर्माणलगायत सबै विषय छाडी कोरोना नियन्त्रणका लागि भन्दै भारी बजेट निर्धारण गर्नु परेको छ। कुन मुलुकमा कति मानिस कोरोनासँगको संघर्षमा हारेर हताहत भए त्यही समाचारले प्रमुखता पाएको छ। किनकि कुनै मानिस कोरोना भएको व्यक्तिको सम्पर्कमा आयो कि प्रभावित भइहाल्छ। फेरि स्वस्थ मानिसमा पनि कोरोनाको भाइरस रहन सक्ने र स्वयं उसका निम्ति नकारात्मक नभए पनि उसबाट प्रभावित मानिसमा संक्रमण हुनसक्दो रहेछ।

त्यसैले परिचित मानिस देख्दा पनि डराएर भाग्नुपर्ने समय आएको छ। मानिस सामजिक प्राणी हो। एक अर्काको सहयोगविना बाँच्न कठिन छ। त्यसैले एउटा टोल, गाउँ र सहरमा आपसमा मानिसहरू मेलमिलापका साथ सँगसँगै बस्ने गरेका हुन्। तर, संसारमा एउटा मानिस अर्को मानिससँग बोल्न, लेनदेन गर्न, आपसमा भेला हुन र सँगसँगै घुम्न प्रतिबन्ध लागेको छ। संविधानले प्रदत्ता गरेको मौलिक हकमाथि अरू कसैका कारण नभई कोरोना भाइरसको नकारात्मक प्रभावको कारण प्रतिबन्धित छन् सबै।

यहाँसम्म कि अहिले संसारभर मानिसले आफ्नै बाबु, आमा र सन्तानको शव लिएर चिहानमा जान सक्दैन। आफन्तको अन्तिम यात्रामा दुःख मान्ने, तिनलाई सजल नेत्रका साथ भावविभोर हुँदै बिदा गर्ने मानिसको त्यो भावनात्मक सम्बन्ध पनि गुमेको छ। अब त अन्तिम संस्कारको पद्धतिमा नै परिवर्नन आयो। माटो दिने, गाड्नेहरूले पनि जलाउनुपरेको छ। एकाएक भएको अस्वाभाविक मृत्युको भारी संख्याको कारण मृतकले चिहानको एक गज जमिनसम्म पाउन कठिन छ। हिन्दुहरूको संस्कारमा मृत्यु हुँदा सन्तानले मुखाग्नी दिने कर्मलाई कोरोनाले अब वन्चित गरायो। संसारमा कोरोनाको संक्रमणले जेजति मरे वा मर्ने छन् त्योभन्दा बढी संसारमा अबका दिनमा भोकले मर्ने सम्भावना छ। अहिले एकातिर किसानले उत्पादन गरेको खाद्य वस्तुले लकडाउनको कारण बजार नपाउँदा ठाउँठाउँमा सडेर गएका छन् भने अर्कोतिर आम नागरिक लकडाउनबीच खाद्य अभावमा छन्। कोरोनाको त्रासबाट किसान दोधारमा छन्, आगामी दिनमा खेती गर्न पहिले जस्तो सक्रिय हुनसक्ने अवस्था छैन। कुखुरा व्यवसायीले चारोको अभावमा जिउँदो कुखुरा माटोमुनी पुरेका छन्। अन्डा र चल्ला यत्रतत्र फाल्ल विवस छन्।

हामी किसानलाई अत्यावश्यक पर्ने मलबीउ जस्तालगायत धेरै वस्तुमा परनिर्भर छौं। जुन हाम्रो परम्परागत तरिकाबाट गाउँघरमा बीउ राख्ने प्रचलन थियो तर त्यो मासियो। मुलुक बाहिरबाट बीउ र मल किन्न सरल भएको हुँदा त्यो पुरानो परम्परा हामीले छाडिसकेका छौं। तर, अबको दिनमा बीउविजन बाहिरी मुलुकबाट आउन र पाउन कठिन देखिन्छ। हामी दैनिक उपभोग्य वस्तुमध्येको प्रमुख अन्न बालीमा पनि आत्मनिर्भर नहुँदा बाहिरबाट झिकाउने गरिएको चामल दाल र अन्य खाद्य वस्तु अबका दिन विगतमा जसरी खरिद गर्न कठिन हुनेछ। संसारका देशका सरकारको पूरै ध्यान कोरोना प्रभाव नियन्त्रणमा केन्द्रित हुनु परेको छ। त्यसैले यसको प्रभाव विस्तार हुन नदिन आम नागरिकबीच समझदारी आवश्यक भएको हो।

विगतमा हामी जताततै विचरण गर्न स्वतन्त्र थियौं। अबका दिनमा स्वयं पंक्तिकारले पनि तीनवटा कोठा र एउटा वरण्डामा विचरण गर्नुपरेको छ। जसले एक वा दुइटा कोठा भाडामा लिएर बसेको छ ऊ त्यही परिधिभित्र खुम्चिनुपरेको छ। बाहिर निस्किएमा वा जो पाए त्यसैको सम्पर्कमा आए मर्नेसम्मको डर हुन्छ। किनकि आजभोलि दैनिकजसो हामी सञ्चारमाध्यमबाट मरेको खबर मात्र सुन्न विवस छौं। यसले मानिसमा त्रास बढाएको छ।

हुन त लकडाउनको अनुभव हाम्रा जीवनमा नभएको त होइन। क्षेत्री ब्राम्हणको परिवारमा छोरीहरूले पहिलो पटक मासिक धर्म हुँदा बाह्र दिनसम्म योभन्दा कडा लकडाउनमा बस्नुपरेको थियो। सूर्यको प्रकाश र पुरुष मान्यवरको अनुहार हेर्नसम्म नदिने चलन थियो। त्यो हामीले भोगेरै आएको हो। सायद अब त्यो चलन न्यून प्रचलनमा होला। यदाकदा जेलमा पर्दा पनि मानिस लकडाउनमा परेकै हुन्। तर, त्योभन्दा पनि यो कडा हो। कारण त्यो समयमा केही मानिस र आफन्तसँग मौकामौकामा भेट्न सकिन्थ्यो।

जब संसारभर मानिस रोजगारीविहीन हुनेछन्, र आर्थिक कारोबारमा मन्दी आउनेछ तब सहयोग गर्ने ठूला राष्ट्रले पनि विगतमा जसरी साना मुलुकलाई सहायता राशी दिन सक्ने छैनन्। तसर्थ प्रत्येक मुलुकले आफ्नै स्रोत र साधनमा निर्भर हुनु पर्नेछ।

कोरोनाको दुष्प्रभावबाट बच्न लकडाउन हुने क्रममा अहिले घरभित्रका परिवारिक सदस्यबाहेक कोही हुँदैन। सुरुका दिनमा पंक्तिकारलाई पनि अत्यास लागेको थियो। किनकि बजारनै ठप्प छ। सारा पसल बन्द छन्, सडक बाटो सबै सुनसान छन्। लुकेर सामान किन्नुपर्ने वाध्यता छ। भनेको समयमा खोजेको खाद्य सामग्री पाइने अवस्था छैन। सामान किन्न टाढासम्म जान कठिन। पहिले हामी बजारको मामलामा निश्चिन्त थियौं। चाहिएको कुरा किन्न पाइन्थ्यो। काठमाडांै जस्तो सहरमा अझ बढी सरल छ। किनकि यहाँ मान्छेको परिवार संख्याभन्दा बढी सम्भवतः पसलको संख्या होला। अहिले फेरि सामान पाइहाले पनि त्यसलाई तत्काल खरिद गरी चलाउन डर हुन्छ। बाहिरबाट किनेर ल्याएको सामानको उपभोग मिति हेरेर प्रयोग गर्नुपर्ने हुन्छ। सामानको अभाव त नाकाबन्दीमा पनि भोगेकै हौं।

०७२ को भूकम्पमा पनि केही समय सकस भयो। तर, त्यो समयमा अहिले जस्तो सामान पाउँदा छुन नमिल्ने, खानै डराउनुपर्ने अवस्था भने थिएन। अहिले सामान पाए पनि किन्न डरमर्दो छ। आम नेपालीलाई वर्ष दिनसम्म पुग्ने सामान खरिद गर्न नै कठिनाइ छ। अमेरिकामा जुन भयावह स्थिति देखिएको छ, त्यो मौकामै लकडाउन नहुँदाको परिणति हो।

कोरोना भाइरस संक्रमण हुनुअघिको अवस्थामा प्रायः हामी घरबाहिर नै हुने गर्दथ्यौं। साधारण कामका निम्ति पनि घरबाहिर किनमेल गर्न बजार जान स्वतन्त्र थियौं। नोकरी सेवामा हुनेहरूको हकमा त हप्तामा छ दिन बाहिरै बितेको हुन्थ्यो। बाहिर जाने मानिसले बाहिरै खाने गर्दथे। सधैं घरमा बसेपछि तीन छाक घरमै खानुपर्ने हुँदा खाद्य सामग्री पनि धेरै चाहिने भयो। सामान अभाव हुने डरले बढी किनिने गरिन्छ। धेरै किन्दा प्रयोग नभई कुहिने हो कि भन्ने डर हुन सक्छ। तरकारी प्रायः धेरै दिनसम्म टिक्दैन, सडेर जान्छ। तर, प्रयोग गर्ने बेलामा भोलि पाइँदैन होला भनेर थोरै प्रयोग गर्नुपर्ने बाध्यता छ। आजभोलि कोभीको डाँठ र तरकारीको टुप्पा पनि फाल्ने इच्छा हुँदैन।

नेपालीमा गुन्द्रुक खाने चलन छ। यसको प्रचलन किन आयो रे भने युद्ध वा लडाईं हुँदा आम साधारण मानिस मरिने डरले आफ्नो ठाउँ छाडी भाग्दथे। भाग्दा उत्पादित हरियो तरकारी र धान सबै खाल्टोमा पुरेर जाने गर्दथे रे। अनि युद्ध सकिएपछि आएर त्यसरी स्वतः तयार भएको गुन्दु्रक र हकुवा चामल निकालेर खान्थे अरे। त्योबाहेक हिउँ पर्ने ठाउँमा चार महिनामा उब्जाएको खाद्य सामग्री आठ महिना खानुपथ्र्यो। किनकि बढी चिसो ठाउँमा नफल्ने हुँदा त्यसरी राखिएका गुन्दु्रक, सिन्की, सुकाएको तरकारी र फलफूल खाने गरिएको हुनसक्छ।

लकडाउनका बेलामा मैले किनेको र छतमा रोपेको साग जम्मा गरी गुन्दु्रक बनाएँ। बढी भएको मूलाको सिम्टा पनि सुकाएँ। मुला र मासको मस्यौरा, अनि बन्दाकोभी र मासको मस्यौरा पनि बनाएर सिसिमा राम्रोसँग सुकाएर राखेको छु। खरिद गरेका सामान सडेर नजाउन भनेर यसो गर्नु परेको हो। भोलि अभाव भयो भने त्यसको प्रयोग गर्न सजिलो हुने भएकैले त्यसो गर्नु परेको हो। अहिले यसो गर्ने बानी हटिसकेको छ। पहिले मेरै परिवारका बुज्रुकहरूले आलो घिउ हालेर टमाटर राखेको गुन्द्रुक र भात पस्किँदा राष्ट्रिय तरकारी हो, मिठो मानेर खानुपर्छ भन्ने गर्दथे। हाम्रो घरमा गुन्द्रुकले राष्ट्रिय तरकारीको उपमा पाएको थियो। पछि सुकेको पाकेकोमा तागत हुँदैन भनी सबैले आलो तरकारी खान थाले। एकताका तराई÷पहाड कहीं पनि एउटा निश्चित समयमा मात्र हरियो तरकारी किन्न पाइन्थ्यो। तसर्थ आम नेपालीको चलन मस्यौरा, मुङ वा आलुको तितौरा, गुन्दु्रक, सिन्की, मूलाको सिम्टा, साग सुकाएर, नपाउने समयको लागि जोगार गर्दथे।

अहिले कोरोनाले संसारभर मन्दी ल्याएको छ। यो आर्थिक मन्दी अझै बढेर जाने संकेत देखिएको छ। कोरोनाको प्रभाव कहीले सकिने हो निश्चित छैन। साथै कति मानिसले संसार त्यागेर जानुपर्ने हो, त्यो पनि एकिन छैन। जब संसारभर मानिस रोजगारीविहीन हुनेछन्, र आर्थिक कारोबारमा मन्दी आउनेछ तब सहयोग गर्ने ठूला राष्ट्रले पनि सहयोग गरी आएको साना मुलुकलाई सहायता राशी दिन सक्ने छैनन्। तसर्थ अबका दिनमा प्रत्येक मुलुकले आफ्नै स्रोत र साधनमा निर्भर हुनु पर्नेछ।

काठमाडौं जस्तो घना वस्तीमा चार आना जग्गा छ भने पनि छानामा, बार्दलीमा वा घरको चारैतिर तरकारी सागपात फालेका झोला र पन्नीमा रोपेर उमारेर भए पनि गुजारा गर्न जरुरी छ। कृषिमा पनि पुरानो पद्धति भए पनि अपनाउन आवश्यक छ। गाउँ छिमेकमा बीउविजन छ भने आपसमा बाँड्ने वा सट्टापट्टा गर्न आवश्यक छ। त्यसको अतिरित्ताm मल नभए गाईबस्तुको मल घरभित्रको फोहोर, भान्सामा काटेको तरकारीको मल सबै जोगाड गर्नु पर्‍यो। त्यसबाट पनि केही न केही सहयोग हुनेछ। त्यसमाथि भरसक सरकारको तर्फबाट पनि प्रयास गर्ने मल र बीउवजन आयातका लागि। त्यसैगरी उत्पादित वस्तुको बजार व्यवस्थापन कोरोना भाइरस नसर्ने गरी गर्नु आवश्यक छ। भ्रष्टाचार, सुधखोरी, कमिसनतन्त्र, नाफाखोरी राष्ट्रविरोधी मात्र नभई घातक भएकाले तिनलाई निर्मूल गर्न जरुरी छ। अब आउने दिनमा सामाजिक एकता पैदा गरी आपसमा मिलेर रोग, भोक र शोकको अन्त्य नगर्ने हो भने महामारीको दुष्प्रभाववाट फेरि उठ्न सकिने छैन।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.