भारतबाट औषधि ल्याउँदै सेना

भारतबाट औषधि ल्याउँदै सेना

काठमाडौं : जंगी अड्डाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि भारतबाट ५३ प्रकारका औषधि खरिद गर्ने टुंगो लगाएको छ। भारतीय औषधि कम्पनी ‘ब्युरो अफ फार्मा पिएसयु’ले जंगी अड्डालाई ती औषधि उपलब्ध गराउने टुंगो लागेको हो। नेपाली सेनाले ‘ब्युरो अफ फार्मा पिएसयु अफ इन्डिया’ नामको भारतीय सरकारी कम्पनीमार्फत उक्त औषधि खरिद गर्ने भएको हो। 

भारतले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि ५३ प्रकारका औषधि दिन सकिने जनाएको थियो। सोही औषधि खरिद गर्न जंगी अड्डाले करिब २ करोड ४० लाख नेपाली रुपैयाँ (१ करोड ५० लाख भारु) उक्त भारतीय कम्पनीलाई पठाउने प्रक्रिया अगाडि बढाएको छ। जंगी अड्डाले उक्त रकम भारतीय कम्पनीलाई पठाउन बुधबार रक्षामार्फत परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भारतबाट औषधि खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए। प्रवक्ता पाण्डेले अन्नपूर्णसँग भने, ‘भारतले ५३ प्रकारका औषधि दिने भनेको छ। त्यही औषधि खरिद गर्न पैसा पठाउन लागिएको हो।’ नेपाली सेनाले नयाँदिल्लीबाट हवाई माध्यमबाट ती औषधि नेपाल ल्याउने तयारी गरेको छ। भारतीय कम्पनीले पठाउने औषधि नयाँदिल्लीस्थित नेपाली दूतावाससम्म ल्याइदिनेछ। त्यहाँबाट भने नेपाली सेनाले हवाईमाध्यमबाट ल्याउनु पर्नेछ।

सैनिक प्रवक्ता पाण्डेले भने, ‘यथाशक्य चाँडै भारतबाट औषधि ल्याउँछौं। अन्तिम चरणमा छौं।’ सेनाले वैशाख ७ गते १ करोड ८४ लाख ४१ हजार ७ सय ६ दशमलव ३५ अमेरिकी डलर बराबरको (२ अर्ब २० करोड रुपैयाँ बढी) स्वास्थ्य सामग्री खरिद गर्न चिनियाँ कम्पनी ‘चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरेसन’सँग सम्झौता गरिसकेको छ। चीनबाट समेत ती स्वास्थ्य सामग्री बढीमा १० दिनभित्र नेपाल ल्याइसक्ने नेपाली सेनाले जनाएको छ।

मन्त्रिपरिषद्को चैत १६ को बैठकले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि सरकार–सरकार (जीटुजी) प्रक्रियाबाट औषधि र स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो। सोहीबमोजिम जंगी अड्डाले चीन, भारत, दक्षिण कोरिया, इजरायल र सिंगापुरलाई स्वास्थ्य सामग्री खरिद गर्नेबारे पत्राचार गरेको थियो। चीन र भारतले स्वास्थ्य सामग्री दिन सकिने प्रतिउत्तर दिएका थिए। सोहीबमोजिम जंगी अड्डाले चीन र भारतबाट स्वास्थ्य सामग्री खरिद प्रक्रिया अघि बढाएको थियो।

भारतले स्वयं कोरोना भाइरससँग लडिरहेको अवस्थामा उसले स्वास्थ्य सामग्री दिन नसिकने तर औषधि भने सहजै उपलब्ध गराउन सकिने जनाएको थियो। सोहीबमोजिम नेपाली सेनाले भारतबाट कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि ५३ प्रकारका औषधि खरिद गर्न लागेको हो। नेपालमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि त्यसको नियन्त्रण र रोकथामका लागि स्वास्थ्य सामग्री खरिद गर्न सरकारले ओम्नी समूहलाई जिम्मा दिएको थियो।

चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा उक्त कम्पनीले चरम भ्रष्टाचार गरेको भन्दै सरकारले ओम्नीसँगको सम्झौता तोडेको थियो। त्यसपछि औषधि खरिद गर्ने जिम्मा नेपाल सेनालाई दिएको थियो। सेनालाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिए पनि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको व्यक्तिगत स्वार्थले निजी कम्पनी मार्फतबाट समेत स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडि बढाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.