गण्डकी प्रदेश आउने सबैलाई 'डिसइन्फेक्सन'
दमौली : गण्डकी प्रदेशमा सावधानीपूर्वक अत्यावश्यक आवतजावत हुन थालेको छ। खाद्यसामाग्री, अड्किएका यात्रु तथा अन्य आवश्यक यात्रा गर्नेहरुका लागि यस अघि तापक्रम जाँचेर प्रवेश अनुमति दिइएकामा अहिले जोखिम कम गर्न भन्दै तनहुँस्थित मुग्लिङ पुलमा 'डिसइन्फेक्सन' गरेर अनुमति दिन थालिएको छ।
कोरोना जोखिम घटाउन भन्दै लकडाउन जारी रहेका बेला पछिल्लो समय अड्किएका यात्रु तथा अत्यावश्यक सामाग्री सवारीको चहलपहल बढेपछि अझ बढी सतर्कता अपनाइएको हो। यस अघि जिल्ला प्रवेश गर्ने सबैको तापक्रम जाँच गरेर प्रवेश दिने गरिएको थियो। तर अहिले त्यसका अलावा आगन्तुक सवारीलाई किटनाशक छरेर मात्र आउन दिन थालिएको छ। आँबुखैरेनी गाउँपालिकाले प्रदेशको प्रवेश बिन्दुमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्य अधिकारीलाई स्यानिटाइजरसहितको प्रविधि उपलब्ध गराएपछि हरेक सवारी किटनाशक छरेर मात्र जिल्लाभित्र आउने गरेका छन्। पुलमा खटिएका प्रहरी सुरक्षाकर्मीले किटनाशक छर्न सघाएका छन्।
'गाउँपालिकाले डिसइन्फेक्सन गरेर मात्र सवारी प्रवेश दिने भनेपछि सुरक्षाकर्मीबाट किटनाशक छर्न थालिएको छ,' ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरिक्षक बुद्धि सुवेदीले भने। उनका अनुसार सबै सवारी साधनमा यसरी किटनाशक छर्ने गरिएको हो। आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले तापक्रमसँगै स्यानिडाइज समेत गरिएपछि स्वास्थ्य सतर्कता अझ बढेको देखिएको बताएका छन्। आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य कर्मचारी सुरेन्द्रकुमार श्रेष्ठले स्वास्थ्य चेकजाँचसँगै सवारीमा पनि किटनाशक छरिएकाले जोखिम कम हुने अपेक्षा गरे। 'विहानदेखि साँझसम्म नै यस्तो प्रबन्ध गरेका छौं,' उनले भने,'यसले जोखिम घटाउन मद्दत गर्नेछ।'
मुग्लिङस्थित प्रवेशबिन्दुबाट खाद्यान्न सामग्री, तरकारीका साथै एम्बुलेन्स, अड्किएका यात्रु र अन्य अत्यावश्यक सेवाका सवारी साधन नियमित आइरहेका छन्।
प्रतिक्रिया दिनुहोस !