संसारकै सानो र अनौठो रेष्टुरेण्ट, जुन कोरोनामैत्री पनि छ
स्वीडेन : स्वीडेनमा एक अनौठो किसिमको रेष्टुरेण्ट खुल्ने तयारीमा छ । जुन रेष्टुरेण्ट मात्रै नभएर धन कमाउने भागदौडको संसारमा मानवीयता दर्शाउने थलोको रुपमा पनि चिनिएको छ ।
रासमस पर्सन र लिन्दा कार्लसनको जोडीले यस्तो नयाँ किसिमको रेष्टुरेण्ट खोल्ने योजना बनाएका हुन् । यही मे १० देखि सञ्चालन हुने यो रेष्टुरेण्ट सम्भवतः संसारकै सबैभन्दा सानो रेष्टुरेण्ट हुनेछ ।
खासगरी डिनरका लागि यो रेष्टुरेण्टलाई प्रयोग गरिने बताइएको छ । ‘टेबल फर वान’ नाम दिइएको यो रेष्टुरेण्टमा एउटै टेबल र एउटै कुर्सी हुन्छ । खानाका परिकार भने तीनवटा मात्रै ।रोचक त के भने, कुनै पनि गेस्टले यहाँ खाए वापत यति नै पैसा तिर्नुपर्ने बाध्यता हुँदैन । उनीहरुले स्वविवेकले जति मन लाग्छ उति नै पैसा तिरे हुन्छ ।
स्टकहोमदेखि ३५० किलोमिटर टाढा भर्मल्याण्डमा यो रेष्टुरेण्ट हुनेछ । यो अनौठो रेष्टुरेण्टको विशेषता के भने, भीडभाड हुने छैन । कोरोना भाइरसबाट बच्न मानिसहरु आइसोलेसन खोजिरहेका बेला यसरी एक्लै बसेर खान पाउनु उपयुक्त हुने यसका सञ्चालकको तर्क छ । कोभिड १९ महामारीसँगै थुप्रैले रोजगारी गुमाउनु परेकाले त्यस्ता मानिसका लागि यो रेष्टुरेण्ट उपयुक्त हुने बताइन्छ ।