बेलायती राजाको सुरक्षा दलमा छानिए नेपाली

बेलायती राजाको सुरक्षा दलमा छानिए नेपाली
सुन्नुहोस्

लन्डन : बेलायतस्थित एकजना भूतपूर्व गोर्खा सैनिक बेलायती राजा चाल्र्स तृतीयको सेरेमोनियल सुरक्षा दलमा नियुक्त भएका छन्। ब्रिटिस गोर्खा सेनाका अवकाश प्राप्त लेफ्टिनेन्ट कर्णेल टोलबहादुर खाम्चा किंग्स् गार्ड नियुक्त भएका हुन्।

विभिन्न औपचारिक समारोहका क्रममा राजाको निकट रहेर सेरेमोनियल ड्युटीमा खटिने किंग्स् गार्डमा अवसर पाउने खाम्चा पहिलो नेपाली हुन्।

चार महिना लामो छनोट प्रक्रियाबाट आफूले किंग्स् गार्डमा नियुक्ति पाएको जानकारी खाम्चाले दिए। आउँदो फेब्रुअरी २० तारिखदेखि उक्त भूमिकामा सेवा सुरु गर्ने उनको तयारी छ।  किंग्स् गार्डको नियुक्तिलाई आफूले व्यक्तिगतभन्दा पनि समग्र गोर्खा सैनिक र नेपालसँग जोडेर लिएको खाम्चा बताउँछन्। 

नेपाल र बेलायतबीच २ सय ८ वर्षभन्दा लामो विशेष सम्बन्ध रहँदै आएको छ। ‘यसबीचमा नेपाली गोर्खा सैनिकहरू अनवरत रूपमा बेलायतको सेवामा खटिएका छन्, उनी भन्छन्, त्यही देशका राजाको लागि इनर सर्कलमा रहेर काम गर्ने अवसरलाई मैले ठूलो प्रतिष्ठाका रूपमा लिएको छु।’

यसअघि किंग्स् गार्डमा नियुक्तिका लागि बेलायती सेनाअन्तर्गत राजदरबारमा खटिने हाउसहोल्ड डिभिजनमा सेवा गरेका सैनिक अधिकृतहरूबाट मात्रै छनोट गरिन्थ्यो। तर पछिल्लो समय इक्वेलिटी एन्ड डाइभर्सिटी (समानता र विविधता) नीतिअनुसार समावेशी रूपमा अन्य रेजिमेन्टसमेतलाई अवसर दिइएपछि गोर्खा सैनिकलाई पनि नियुक्तिको बाटो खुलेको हो। किंग्स् गार्ड बेलायती राजाको सेरेमोनियल सुरक्षा दल हो। जुन राजकीय भ्रमण, सदनको सत्र उद्घाटन, गार्डेन पार्टी, राज्यारोहण, शाही वैवाहिक समारोह, राजकीय अन्त्येष्टि, कूटनीतिक रिसेप्सनजस्ता राजाका सेरेमोनियल ड्युटीहरूका क्रममा खटिने गर्छ।

किंग्स् गार्डमा नियुक्त हुने अधिकांश सेवानिवृत्त सैनिकहरू छन्। यो नियुक्तिका लागि पूरा गर्नुपर्ने कयौं मापदण्ड छन्। जसमध्ये बेलायती सेनामा कम्तीमा २२ वर्ष सेवा गरेको अनुभव प्रमुख सर्त हो। त्यसबाहेक सैनिक करियरमा क्लिन रेकर्ड, उदाहरणीय सेवा, आदर्श व्यक्तित्वजस्ता गुणहरूको पनि मूल्यांकन गरिने खाम्चाले सुनाए। 

५७ वर्षअघि स्याङ्जा जिल्लाको शिरकोट करादीमा जन्मिएका खाम्चाका पिता पनि ब्रिटिस लाहुरे थिए। पिताकै पदछाप पछ्याउँदै १९ वर्षको उमेरमा सिपाहीको रूपमा ब्रिटिस गोर्खामा प्रवेश गरेका थिए, खाम्चा। करिब ३६ वर्ष लामो सेवापछि खाम्चा लेफ्टिनेन्ट कर्णेलको दर्जाबाट सेवानिवृत्त भएका थिए। जुन हालसम्म कुनै पनि गोर्खा सैनिकले बेलायती सेनामा हासिल गरेको सबैभन्दा उच्च दर्जा हो। 

‘म पहिलेदेखि नै केही भिन्न काम गर्न मन पराउँथें। अरूले गरेको भन्दा फरक गर्न चाहन्थें। एक्टिभ सर्भिसमा हंँुदा पनि सिनियर कमान्डरको सल्लाहबमोजिम फरक काम गरें, सैनिक करियरमा प्राप्त सफलताबारे खाम्चा भन्छन्,  मेरो आमा, बुवा दुवै जना फाइटर हुनुहुन्थ्यो। उहाँहरूले जीवनमा धेरै संघर्ष गर्नुभएको मैले देखें। बुवाआमाले दिनु भएको मार्गदर्शन र कडा परिश्रम गर्नुपर्छ भन्ने संस्कार मैले आत्मसात् गरेको हुँ।’

बेलायती सेनामा रहँदा खाम्चा साउदी अरब, कोसोभो, टर्की, इराक, अफगानिस्तान, कुबेतसहितका धेरै देश पुगेर सेवा गरेका थिए। करिब डेढ वर्ष उनी बेलायती राजपरिवारभित्र पनि खटिए। दुई छोरी र एक छोराका पिता खाम्चा हाल बेलायतको रेडिङ सहरमा पत्नी लीलाकुमारीका साथ बस्दै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.