लकडाउनमा औषधि नपाएर बझाङमा एक महिलाको मृत्यु
बझाङ : साइपाल गाउँपालिका १ धलौन घर भएकी दिर्घरोगी एक महिलाको नियमित खाने औषधि नपाएर सोमबार बिहान मृत्यु भएको छ । धलौन घर भएकी ४७ वर्षीया कंकादेवी बोहराको स्थानीय अस्पतालमा मृत्यु भएको हो ।
उनको स्वास्थ्य समस्या देखिएपछि डेरा वरपर बस्ने छिमेकीले उनलाई पिठ्युँमा बोकेर दुई दिनअघि जिल्ला अस्पताल ल्याएको थियो । उनले छिमेकीको सहयोगमा काठमाडौंबाट औषधि मगाउने गरेकी थिइन। लकडाउनमा औषिध मगाउन नसकेपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
जिल्ला अस्पतालका डाक्टर सन्दिप ओखेडाले बोहराले औषधि नपाएरै मृत्यु भएको बताए। डाक्टर ओखेडाले भने,' मुटुको भल्भ समस्या भएकी बोहराले नियमित खानुपर्ने औषधि दुई हप्ता अघिदेखि नपाएर खान छोडेको रहेछ, गम्भीर अवस्थामा अस्पतालमा आएकी बोहरालाई जति प्रयास गर्दा पनि बचाउन सकिएन ।
मुटुको भल्भमा समस्या भएकी बोहराले विगत ६ वर्षदेखि नियमित औषधि सेवन गर्दै आएकी थिइन् । विगत एक वर्षदेखि सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएकी कंका बोहराले खाने गरेको औषधि दुई साताअघि सकिएपछि उनको स्वास्थ्य कमजोर हुँदै गएको थियो ।
मुटुको समस्या भएकी बोहरा आफ्ना पाँच वर्ष र सात वर्षका छोराको साथमा चैनपुरमा डेरा गरी बस्दै आएकी थिइन् । मृतक बोहराले औषधि सकिए पछि स्वास्थ्यमा अप्ठयारो भइरहेको आफन्तलाई समेत जानकारी गराएकी थिएन। उनको डेरा नजिकै बस्ने करिस्मा विकले भनिन्, 'लकडाउनमा औषधि नपाउँदा उनको मृत्यु भएको हो।'
एक दशकअघि मुटुको समस्या झेल्दै आएकी बोहरालाई केही वर्षअघि काठमाडौंमा उपचार गर्दा डाक्टरले अप्रेशन गर्नुपर्ने सुझाव दिएका थिए। त्यत्तिबेला उनका श्रीमानको मृत्यु भएपछि उपचार रोकिएको थियो।त्यसकै केही वर्षपछि देबरको समेत मृत्यु भएपछि उनी बिचल्लीमा परेकी थिइन्। मृतक बोहराले एकल महिला भत्ताले छोराछोरीको पढाइ खर्चका साथै आफ्नो औषधि खर्चको जोहो गर्दै आएकी थिइन्। आमाको मृत्यु भएपछि बालबालिकाको बिजोग भएको छ।
प्रतिक्रिया दिनुहोस !