नेपालीको सहयोगमा दूतावासको भूमिका न्यून

नेपालीको सहयोगमा दूतावासको भूमिका न्यून

लण्डन : यतिबेला यूरोप कोरोना भाइरस (कोभिड १९) महामारीको चपेटामा छ। बेलायत, इटाली, स्पेन, फ्रान्ससहित सबै यूरोपेली देशमा दशौं हजार नेपाली कोरोना महामारीले विभिन्न प्रकृतिका समस्यामा छन्।

विदेशमा नेपालीहरुको अभिभावक ठानिने सरकारका प्रतिनिधि दूतावासको भूमिका भने प्रभावकारी देखिएको छैन। कोरोना प्रभावित नेपालीहरुको यकिन तथ्यांक यूरोपेली मुलुकका दूतावाससँग छैन। नेपाली संघसंस्थाले बटुलेको विवरणका आधारमा दूतावासले तयार पार्ने तथ्यांक यथार्थ नजिक छैनन्। लण्डनस्थित नेपाली दूतावासका नियोग उपप्रमुख शरदराज आरनले तथ्यांक संकलनमा कठिनाई रहेको बताए।

यहाँको सरकारबाट प्रत्यक्ष तथ्यांक लिने कुनै माध्यम नरहेकाले नेपाली समुदाय र संघसंस्थाले संकलन गरेका तथा दूतावासलाई सिधै सम्पर्क गरी आएका सूचना भेरिफाइ गरेर विवरण तयार पारिने उनले सुनाए। बेलायतमा मात्र होइन, यूरोपका कुनै पनि देशस्थित दूतावासहरुसँग आफै तथ्यांक लिने वा राख्ने संयन्त्र छैन। एनआरएनए सहितका नेपाली संघसंस्थाले गरेको रिपोर्टकै भरमा छन् दूतावास। सहयोग खोज्ने नेपालीहरुलाई पनि दूतावासबाट कुनै प्रत्यक्ष साथ पाएको देखिदैन।

लकडाउनका कारण रोकिएका धेरै नेपाली घर फर्किने पाउने आशमा दूतावासको सम्पर्कमा आउने गर्छन्। अहिले नेपालमा सबै उडान बन्द रहेकाले अर्को अवस्था नबन्दासम्म कुनै उपाय नलाग्ने जवाफ दूतावासहरुले दिने गरेका छन्। यूरोपेली मुलुकमा भर्खरै नेपालबाट आएर ‘सेटल’ भइनसकेका विद्यार्थी र सम्बन्धित देशमा गैरकानुनी रुपमा बसिरहेका वा भिसा विहिन नेपाली अहिले समस्यामा देखिन्छन्। बेलायतमा अंग्रेजी नबुझ्ने वृद्धावस्थाका पूर्व गोर्खा पनि छन्।

खाना र बस्नकै समस्या समेत भोगिरहेका कतिपय नेपालीहरुलाई नेपाली संघसंस्थाले राहत स्वरुप खाद्यान्न वितरण गरिरहेका छन्। कैयौं ठाउँमा मास्क, स्यानिटाईजर र सिटामोलका पोको बोकेर घरघरमै पुगेर बाँड्ने कार्य पनि भएका छन्। स्थानीय डाक्टर, नर्स लगायतको समन्वयमा आवश्यक पर्नेलाई स्वास्थ्य सम्बन्धी परामर्श पनि दिइएको छ। बढीनै समस्यमा रहने केहीलाई आर्थिक सहयोग समेत उपलब्ध गराइएको छ।

यस्तै प्रकृतिका सहयोग र राहत वितरणमा पनि दूतावासहरुको खासै भूमिका छैन। संघसंस्थाको सम्पर्कमा रहने र हामी पनि छौं है भन्दै आश्वासन दिनुमै उनीहरुको मुख्य भूमिका देखिएको छ। राहतकै खोजी गर्नेहरुलाई पनि एनआरएनए र अन्य संघसंस्थाको बाटो देखाइदिने काम दूतावासले गरिरहेका छन्।

नेपाली दूतावासहरुमा नेपालीहरुको विवरण रजिस्टर गर्ने व्यवस्था नरहेकोले सबैको तथ्यांक लिन समस्या भएको पोर्चुगल समेत नियाल्ने फ्रान्सस्थित नेपाली राजदूत दीपक अधिकारी बताउँछन्। नेपालीहरुलाई पनि स्थानीय नागरिक सरहकै स्वास्थ्य सेवा दिलाउन र भिसाको समस्या हुनेहरुका लागि उचित प्रबन्ध गर्न दूतावासले सम्बन्धित देशका सरकारसँग कुरा उठाएको उनले बताए।

राहत उपलब्ध गराइरहेका एनआरएनए सहितका संघसंस्था र समुदायसँग पनि दूतावासले निरन्तर समन्वय गरिरहेको अधिकारीले थपे। युरोपेली महासंघका लागि नेपाली राजदूत लोकबहादुर थापा आफ्नो कार्यक्षेत्र पर्ने बेल्जियम र नेदरल्याण्ड लगायतका देशमा नेपालीहरुलाई ठूलो समस्या भइनसकेको बताए। नेदरल्याण्डमा अध्ययनका लागि आएका केही विद्यार्थीलाई समस्या भएपनि एनआरएनएका तर्फबाट खाद्यान्न लगायतको राहत वितरण भएको बताउँदै उनले भने, ‘आवश्यक हुनेलाई केही आर्थिक सहायता समेत उपलब्ध गराउने तयारी भइरहेको हामीले जानकारी पाएका छौं।’

महामारी सकिएर जनजीवन सामान्य बन्न थालेपछि नेपालीहरुलाई आवश्यक पर्ने विभिन्न प्रशासनिक सहयोगका लागि दूतावासको भूमिका बढ्ने उनको भनाइ छ। दूतावासहरुसँग यहाँ स्थित सबै नेपालीको विवरणमात्र होइन, समस्यामा पर्नेहरुसम्म पुग्ने प्रभावकारी सम्पर्क माध्यमसमेत खड्किएको छ। नेपालीहरुको सहयोगका लागि भन्दै विभिन्न समिति बनाउने, सहयोगका लागि अपील गर्ने, सूचनाहरु जारी गर्ने, सहयोगमा जुटेका संघसंस्थाको सम्पर्कमा रहने जस्ता गतिविधि भइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.