धनकुटामा एक कोरोना संक्रमित थपिए
धनकुटा :बुधबार धनकुटामा एक जना कोरोना संक्रमित विरामी थपिएका छन्। एक जना थपिएसँगै धनकुटामा कोरोना सक्रमित विरामीको संख्या ७ पुगेको छ। स्वाब परिक्षण गरिएको ८३ मध्ये १७ जनाको रिपोर्ट आउन बाँकी थियो। बुधबार आएको १७ जनाको रिपोट मध्ये एक जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोखरेलले बताए।
थपिएका संक्रमित व्यक्ति ३४ वर्षका सुरक्षाकर्मी हुन्। यस अघि एक जना सुरक्षाकर्मीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई अहिले अस्पतालकै आइसोलेसन वार्डमा राखिएको छ। उनको अवस्था सामान्य रहेको छ। परिक्षण गरिएमध्येको बाँकी १६ जनाको रिपोट नेगेटिभ आएको छ। कोरोना पुष्टि भए बाहेक सबैलाई धनकुटा–६ आत्मारास्थित औद्योगिक ग्राममा रहेको क्वारेन्टाइनमा राख्ने निर्णय कोभिड–१९ कमाण्ड फोर्स समितिले गरिसकेको छ। यस अघि धनकुटामा पहिलो पटक गतआइतवार जिल्ला अस्पताल धनकुटामा कार्यरत महिला स्वास्थ्यकर्मीलाई कोरोना भएको पुष्टि भएको थियो। उनलाई कोरोना पुष्टि भएपछि जिल्ला अस्पताल सहित बजार आसपासको क्षेत्रलाई सिल गरिएको थियो। अस्पतालमा कार्यरत अन्य स्वास्थ्यकर्मी, उनीहरुका आफन्त, सुरक्षाकर्मी, विरामी र कुरुवा गरि ८३ जनाको स्वाब परिक्षण गरिएको थियो। स्वाब परिक्षण गरिएमध्ये मंगलबार ६६ जनाको रिपोर्ट ५ जनामा कोरोना संक्रमण देखिएको थियो। लगत्तै उनीहरुलाई अस्पतालमा रहेको आइसोलेसन वार्डमा राखेर बुधबार दिउँसो करिव ४ बजेतिर विराटनगरस्थित कोरोना विशेष अस्पतालमा पठाइएको सूचना अधिकारी पोखरेलले बताए। पहिलो पटक कोरोना संक्रमण देखिएकी महिला स्वास्थ्यकर्मी अहिले कोरोना अस्पतालमा उपचाररत छिन्। उनको र पछिल्लो पाँच जनाको स्वास्थ्य अवस्था सामान्य रहेको वताइएको छ।
धनकुटा उद्योग वाणिज्य संघको सहयोग
अस्पताललाई चामल, तेल, नुन, दाल, चना, विस्कुट, आलु, अदुवा, बेसार, कागती, तरकारी जस्ता दैनिक उपभोग्य समाग्री तथा प्लेटहरु उपलब्ध गराइएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राईले बताए। उनले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मीहरु, कर्मचारीहरु, विरामी तथा कुरुवाहरुलाई कुनै पनि समस्या परेमा थप सहयोग गर्न तयार रहेको बताए।
प्रतिक्रिया दिनुहोस !