जनकपुरधाममा क्वारेन्टाइन अभाव, भारतबाट आएकाहरु अलपत्र
जनकपुरधाम : पछिल्लो एक हप्तामा भारतबाट नेपाल भित्रिनेको संख्या ह्वात्तै बढेको छ । तर क्वारेन्टाइनको अभावमा भारतबाट आएका नेपाली जनकपुरधाममा अलपत्र परेका छन्। शनिबार साँझ धनुषाको जटही नाकाबाट नेपाल प्रवेश गरेकाहरु जनकपुर आएपनि क्वारेन्टाइनको अभावमा उनीहरु अहिले अलपत्र परेका छन् ।
जनकपुरधाम उप-महानगरपालिकाले रामचोकस्थित गोपाल धर्मशालामा सय बेडको भनेर बनाएको ५० बेडको क्वारेन्टाइनमा अहिले ७० जना बसिरहेका छन् । भारतबाट नेपाल प्रवेश गर्ने लर्को घटेको छैन, अझ मानिस आए कहाँ व्यवस्थापन गर्ने ? व्यवस्थापनको जिम्मा कस्ले लिने ? नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले स्थानीय सरकारले प्रदेश सरकार र प्रदेश सरकारले संघीय सरकारको जिम्मा भनेर पन्छिदा भयाभह अवस्था आउने चिन्ता व्यक्त गरे ।
उनले भने, 'प्रदेश र स्थानीय सरकार दुई महिनादेखि तयारी गरिरहेको मिडियाबाजी गर्छ, तर दुई दर्जन मानिसलाई क्वारेन्टाइन अटाउने ठाउँ छैन, कसरी व्यवस्थापन हुन्छ ?'
जनकपुरधाम उप-महानगरपालिकाले आएका सबै व्यक्तिलाई राखिसकेको र अब पालिका भन्दा बाहिरको मान्छेलाई उपमहानगरले जिम्मा नलिने बताउँछन् । मेयर लालकिशोर साहले प्रत्येक स्थानीय तहको आ-आफनै क्वारेन्टाइन भएकोले सबैलाई पालिकाअन्तर्गतको क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
शनिबार साँझ भारतको विभिन्न स्थानबाट गोपाल धर्मशालास्थित क्वारेन्टाइनमा आइपुगेका राजु मण्डल (दिल्ली), रबिन्द्र मण्डल (बोधगया) र बिनय कुमार साह, सुमन साह र बिक्की साह, श्यामसुन्दर यादव र बिबेक यादव (कलकत्ता) लगायतका करिब डेढ दर्जन व्यक्ति कलकत्ताबाट आएर अलपत्र परेका छन।
भारतबाट नेपाल प्रवेश गरेकाहरु शनिवार बेलुका ४ बजे क्वारेन्टाइन स्थलको आएपनि व्यवस्थापन गर्न सम्बन्धित कुनै निकायले जिम्मेवारी नलिएको नेपाल तरुण दलका उपाध्यक्ष राकेश विक्रम साहले बताए ।
उनले भने, 'बाहिर हप्ता दिनसम्म भोकभोकै बसेर पैदल सवारी गरेर यहाँ सम्म आएँ तर उप-महानगरपालिका लगायत कुनैपनि निकायले यिनीहरुलाई कसरी, कहाँ राख्ने भनेर राती ९ बजेसम्म कुनै व्यवस्था मिलाउन सकेको छैन् । क्वारेन्टाइन नबसेर सिधै आफ्नो घर गए, भोलीको दिनमा समाजमा अझ संक्रमणको खतरा हुन्छ ।'
कोरोना भाइरसको संक्रमण फैलन नदिन यहाँका प्रायः सबै स्थानीय तहमा क्वत्तारेन्टाईन स्थापना गरिएको छ । तर सबै क्वारेन्टाइन मापदण्ड अनुसारका छैनन् । कतै व्यवस्थापन अभाव छ, त कतै क्वारेन्टाइनमा बस्न मानिरहेका छैनन् । पहुँचवाला होम क्वारेन्टाइनमा छन् । पहुँच विहिन मानिसहरु क्वारेन्टाइनमा शौचालय, पानी, खाना, गर्मी, चिसो र भोक प्यासमा बाँचिरहेका छन् ।