संक्रमितको सम्पर्कमा आएका ३० जना पत्रकारको रिपोर्ट नेगेटिभ
जनकपुरधाम : कोरोना संक्रमितको सम्पर्कमा आएका धनुषा जनकपुरधामका ३० जना पत्रकारको रिपोर्ट नेगेटिभ आएको छ । दुई हप्ताअघि जनकपुरको पत्रकार र पुस्तक व्यवसायीको सम्पर्कमा आएका ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको आएको छ । विश्व कोरोना (कोभिड–१९) संक्रमणको महामारीबाट गुज्रिरहेको अवस्थामा पत्रकारहरुको कोराना टेष्ट गर्दा पत्रकार र पुस्तक व्यवसायीमा संक्रमण देखिएको थियो ।
संक्रमण देखिएका सोही पत्रकार र पुस्तक व्यवसायीको कन्ट्रयाक्ट ट्रेसिङ्गको आधारमा पत्रकार र केही स्थानीय गरी ३० जनाको कोरोना संक्रमण जाँचका लागि थ्रोट र नोजल संकलन गरिएको थियो । नेपाल पत्रकार महासंघ धनुषा सभाहलमा प्रादेशिक अस्पताल जनकपुरधामको प्राविधिक प्रयोगशालाको गत हप्ता ३० जनाको स्वायव संकलन गरेकोमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्ताललाई उद्धृत गर्दै महासंघका अध्यक्ष अनिल मिश्रले जानकारी दिए । 'समाचार संकलनको क्रममा घरदेखि अस्पताल र सीमा नाकासम्म अहोरात्र खटिएका पत्रकारको थ्रोट र नोजल स्वाब संकलन गरिएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको छ', प्रयोगशाला प्रमुख रामविनय साहले बताए।
महासंघका अध्यक्ष मिश्रले महासंघले कोरोना महामारीको समयमा संक्रमणको जोखिम उठाएर जनतालाई सूचनामार्फत सु–सूचित गराउन जुटेकाको परीक्षण गरिएको बताए । समाजमा कोरोना परीक्षण गराउन सर्वसाधारण हिच्किचाइरहेको बेलामा उनीहरुलाई स्वः स्फूर्त रुपमा कोरोना प्रति जनचेतना जगाउनसमेत पत्रकारले परीक्षण गरेको उनको भनाइ छ ।
प्रदेश पत्रकार महासंघका महासचिव किरण कुमार कर्णले कोरोना रिपोर्ट नेगेटिभ आए पनि दीर्घकालीन रुपमा समाजिक सुदृढीकरण र न्यायमा सबै समुदाय र वर्गको पहुँचका लागि आफुहरुको भूमिका पोजिटिभ रहने बताए ।