होटललाई क्वारेन्टाइन बनाउन व्यवसायी सहमत
काठमाडौं : होटललाई आवश्यकताअनुसार क्वारेन्टाइनको रूपमा प्रयोग गर्नेबारे होटल संघ नेपालले लाग्ने खर्चसहितको विस्तृत विवरण पर्यटन विभागका महानिर्देशकलाई बुझाएको छ। होटललाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने हो भने पर्यटकीयस्तरका होटल र पाँचतारे गरी २ प्रकारमा विभाजन गरिएको छ। पर्यटकीयस्तरको होटलमा क्वारेन्टाइनमा बस्ने एक्लो संक्रमितले दिनको ३ हजार रुपैयाँ र दुईजना बस्ने संक्रमितले दिनको ५ हजार रुपैयाँ तिनुपर्ने बताइएको छ। यस्तै पाँचतारे होटलको हकमा एक्लो बस्दा दिनको १० हजार रुपैयाँ र दुईजना बस्दा दिनको १६ हजार रुपैयाँ तिर्नुपर्ने संघले प्रस्ताव गरेको वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिए।
होटल सरसफाइ र सुरक्षाका दृष्टिकोणले स्तरीय हुने र विश्व स्वास्थ्य संगठनको दायरा अनुरूप नै पौष्टिक खानाको व्यवस्था पनि हुने हुँदा संघले खर्चलाई छुट्टाएको शाहले अन्नपूर्ण पोस्ट्लाई बताए। अथवा कुनै होटलले सामाजिक उत्तरदायित्वअन्तर्गत बिना शुल्कमा पनि कोरोना संक्रमितलाई राख्न सक्ने छन् या आफ्ना होटललाई क्वारेन्टाइन नबनाउन पनि सक्ने बताइएको छ। खर्चको यो दायरा नै अन्तिम नभई संघको मूल्यांकन मात्र भएकाले यसमा सरकारको निर्णयले महत्व राख्ने शाहको भनाइ छ।
संघले पेश गरेको विवरणमा भनिएको छ–क्वारेन्टाइन अवधिभरि उपलब्ध गराइने तोकिएको चार छाक पौष्टिक स्वास्थवद्र्घक आहार, आवश्यक पर्ने सबैखाले आधारभूत सेवासुविधा, सञ्चार, पानी, बिजुलीलगायत कामदार कर्मचारीको पारि श्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्च नेपाल सरकारको वर्गीकरण अनुसार पर्यटकस्तरीयदेखि पाँचतारे होटलमा लाग्ने अनुमानित खर्चको शीर्षकअनुसार न्यूनतम आधारको रूपमा सबै सदस्य होटलको जानकारी तथा प्रत्येक प्रतिष्ठानस्तरको सञ्चालन निर्णयका लागि सिफारिस गरिएको छ।
होटललाई क्वारेन्टाइनको उपयोग गर्नका लागि व्यवस्थापन तथा समन्वय प्रक्रियालाई प्रभावकारी बनाउन संघका प्रतिनिधिसमेत रहने गरी सम्बन्धित सरकारी निकाय संलग्न समिति गठन हुनुपर्ने माग पनि गरिएको शाह भन्छन्।
संघको प्रतिनिधिमण्डलले कोभिड–१९ बाट सिर्जित राष्ट्रिय संकटलाई प्रत्यक्ष रूपमा न्यूनीकरण गराउन सघाउ पु¥याउने उद्देश्यले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउने क्रममा सरकारले होटललाई क्वारेन्टाइनको रुपमा उपयोग गर्न सक्ने गरी विभागमा विवरण पेश गरेको हो। स्वाथ्यकर्मी तथा अग्रपंक्तिमा रहेका कोरोना संक्रमणविरुद्घ खटिएका व्यक्तिलाई समेत आवश्यकताअनुसार गर्न सकिने क्वारेन्टाइनको व्यवस्थाबारे पनि सो विवरणपत्रमा उल्लेख गरिएको छ।
साथै क्वारेन्टाइनको रूपमा सञ्चालन गर्न सकिने होटल प्रतिष्ठानमा उपयुक्त स्वास्थ्य संरक्षण गर्ने विधि तथा व्यवस्थालगायत उपलब्ध पूर्वाधार, सेवा, सुविधा सरकारले तोकेको मापदण्ड पूरा गरी सरकारी नियमनकारी आधिकारिक निकायमा दर्ता भए नभएको पनि अद्यावधिक हुनुपर्ने पनि होटल संघ नेपालको विवरणपत्रमा उल्लेख छ।
होटल संघ नेपालको देशैभरि छरिएका रहेका साथै सातै प्रदेशमा रहेका १५ क्षेत्रीय संघहरूअन्तर्गत ३ हजार ५ सय होटल सदस्य छन्।