सेवा गर्दा गर्दै सर्‍यो कोरोना

सेवा गर्दा गर्दै सर्‍यो कोरोना

काठमाडौं : लकडाउनको अवधिमा आफ्नै निजी गाडीमार्फत समाज सेवा गर्दै आएका एक युवालाई कोरोना पोजोटिभ हुनुअघि (आइतबार) सम्म पनि बिरामी ओसार्दै थिए। जेठ ८ गते बुढानिलकण्ठ नगरपालिकाले पीसीआर विधिबाट गरेको कोरोना परीक्षणमा पोजेटिभ देखिएपछि उनलाई टेकु अस्पतालमा पुर्‍याइएको हो।

आइसोलेसन वार्डमा उपचाररत उनले आइतबार बिहानै उठेर रोग प्रतिरोधात्मक क्षमता बढाउने होमियोप्याथिक औषधिको १२ गोली खाए। औषधि खाएको आधा घण्टासम्म केही खान नहुने हुनाले यही समय सदुपयोग गर्दै उनी एकल महिला समूहअन्तर्गतको छहारी भवनमा गएर त्यहाँ क्वारेन्टाइनमा राखिएका बुढानिलकण्ठका सबै ४० लाई उक्त औषधि बाँडेर आए। उनीहरूलाई ती युवाले उक्त औषधि बाँड्न थालेको चार दिन भइसक्यो। खाना खाइवरी गाडीमा दुईजना बिरामीलाई राखेर उनी हिँडे। एउटालाई थापाथलीस्थित प्रसुती गृहमा छाडिदिए भने अर्का बिरामीको खकार परीक्षण गर्नुपर्ने भएकाले मध्यपुर ठिमीस्थित क्षयरोग अस्पतालमा पुर्‍याइदिए।

ठिमीबाट फर्किएर उनी जोरपाटी पुगे। त्यहाँकी एक गर्भवती महिलालाई सुत्केरी गराउन सिनामंगलस्थित केएमसी अस्पताल ल्याइदिए। गर्भमा रहेको बच्चा उल्टो फर्किएका कारण निकै आत्तिएकी दोलखाकी ती महिलालाई अस्पताल छाडेर उनी पुनः बुढानिलकण्ठ गए। त्यतिबेलासम्म अन्य केहीले पनि उनलाई फोन गरेर अस्पताल पुर्‍याइदिन अनुरोध गरिसकेका थिए। त्यसैले उनले त्यहाँ पुगेर फेरि बुढानिलकण्ठ नयाँ चोकबाट एउटा बिरामीलाई ग्रिनी सिटी अस्पताल पुर्‍याइदिए भने अर्कालाई हात्तीगौंडाबाट वीर अस्पताल छाडिदिए। ती दुवै बिरामी मृगौलाका रोगी थिए भने अस्पताल डायलसिसका लागि गएका थिए।

अस्पतालको कोठामा एउटा थर्मोमिटर र प्रेसर नाप्ने यन्त्र राखिए पनि सोमबार दिउँसोसम्म नर्स र डाक्टर परीक्षणका लागि नआएको बिरामीको गुनासो।

बुढानिलकण्ठ ५ मा बस्ने एक महिलाले फोन गरेर काठमाडौंको झोरभन्दा अलि पर भाडामा बस्ने छोरीले खान नपाएको गुनासो गर्दै खाना पुर्‍याइदिन ती युवकसँग मद्दत मागिन्। अस्पतालबाट फर्किएर ती युवकले फोन गर्ने ती महिला र उनको एक आफन्तलाई गाडीमा हालेर उनीहरुले तयार पारेका केही खाद्यान्न बोकी झोर पुगे। खाद्यान्न दिएर ती दुईलाई पुनः उनीहरू बस्ने ठाउँसम्म पुर्‍याइदिए। आइतबार दिउँसो पनि सधैं झैं उनले बुढानिलकण्ठमा खाजा तथा खाना खुवाउनुका साथै छहारीमा बसेका करिब ४० लाई चाउमिन लगेर बाँडेका थिए। बेलुकी १० बजे पनि सुत्केरी हुने अवस्थामा रहेकी एक महिलाको स्वास्थ्यमा अचानक समस्या देखिएपछि वडा नं २ स्थित एक कोलोनीबाट बुढानिलकण्ठको स्वास्थ्य चौकीसम्म उनले ल्याइदिए।

लकडाउनको अवधिभर उनले आफ्नै गाडीमा बिरामी ओसार्ने क्रममा उनको साथमा बुढानिलकण्ठ नगरपालिका ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ पनि प्रायः सँगै हिँड्थे। आइतबार पनि अधिकांश समय उनी वडाध्यक्षसँगै हिँडेका थिए। सोमबार बिहानै कोरोना पोजेटिभ भएको खबर फोनमार्फत सुन्नेबित्तिकै आफूलाई सधैं सहयोग गर्दै आएका वडाध्यक्ष श्रेष्ठको उनलाई चिन्ता भयो। वडाध्यक्ष श्रेष्ठको भने नेगेटिभ देखिएको छ। आफूसँगै हिँडेका थुप्रै बिरामी र तिनका आफन्तलाई पनि यो भाइरस सर्‍यो कि भन्ने डरले उनलाई सताएको छ। आफूले एउटै व्यक्तिलाई १६औं पटकसम्म डायलासिसमा पुर्‍याएका व्यक्तिलाई अब कसले लैजाला ? उनलाई चिन्ता छ।

सोमबार बिहान उनी टेकु अस्पताल पुग्दा शैय्या खाली थिएन। आधा घण्टा जति एम्बुलेन्समै बसेका उनलाई पछि एउटा कोठामा राख्ने व्यवस्था मिलाइयो। अस्पतालको कोठामा एउटा थर्मोमिटर र प्रेसर नाप्ने यन्त्र राखिए पनि सोमबार दिउँसोसम्म नर्स र डाक्टर परीक्षणका लागि नआएको उनले गुनासो गरे। ‘बिरामीलाई ल्याएर यहाँ थन्क्याउने जस्तो मात्र देखियो’, उनले भने, ‘कुनै परीक्षण गर्न र सल्लाह सुझाव दिन कोही नआउने रहेछन् यहाँ।’ एउटा सफाई कर्मचारीले सफाई गरेर गएपछि कसैलाई नदेखेको उनले बताए।

इपीडेमोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा नगरपालिकाले उनको सम्पर्कमा आउने व्यक्तिको विवरण खोजी गरिरहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। उनका अनुसार उनले सेवा दिएकामध्ये अधिकांशको नाम, अस्थायी र स्थायी ठेगाना, टेलिफोन लगायतका विवरण उनकै गाडीमा छ। आफूलाई सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले फोनमार्फत सबै ठिक हुन्छ नआत्तिनु भन्दै मनोबल बढाउने काम गरेकोमा भने खुसी लागेको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.