पूर्वका सीमा पनि असुरक्षित, संरचना निर्माणमा भारतको अवरोध
फिदिम : पश्चिम नेपालको सीमामा भारतले दशकौँदेखि सीमा विवाद उत्पन्न गरिरहँदा पूर्वका सीमा असुरक्षित देखिएका छन् ।
भारतसँग सिमाना जोडिएको पाँचथर र इलामको उच्च पहाडका सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भौतिक संरचना निर्माणमा बाधा अवरोध गर्दैआएको छ । सीमावर्ती क्षेत्रमा नेपालतर्फ पर्यटकीय पूर्वाधार निर्माण गर्दा भारतीय पक्ष वर्षौँदेखि बाधक बन्ने गरेको छ ।
‘नेपालले सीमाक्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण गरेको भारतले रुचाउँदैन । पूर्वाधार निर्माण गर्दा एसएसबीले सधैँ अवरोध गर्छ,’ मेची पहाडी पर्यटन प्रबद्र्धन विकास समितिका सूचना अधिकारी सञ्जिव पौडेलले भने ।
सीमाक्षेत्रमा पर्ने नेपाली भूमि भारतको पर्ने दाबी गर्दै निर्माण कार्यमा एसएसबी अवरोधमा उत्रने गरेको हो । पाँचथरको फालेलुङ, इलामको सन्दकपुर र भारतको पश्चिम बंगालसँग सिमाना जोडिएको आहाल क्षेत्रमा गत वर्ष इलामले हावा घर निर्माण गर्दा एसएसबीले अवरोध गरेको थियो । लामो समयको अवरोधपछि बल्लतल्ल उक्त हावा घरको निर्माणले पूर्णता पायो ।
गत बैशाखदेखि आहाल क्षेत्रमै निर्माण थालिएको पर्यटकीय संग्रालयको काममा पनि एसएसबीले अवरोध गरेको छ । अवरोधपछि रोकिएको संग्रालायको काम हालसम्म सूचारु भएको छैन । एसएसबीको अवरोध हटाउन नेपालको प्रशासनिक निकायले प्रभावकारी कदम नचाल्दा एसएसबीको हेपाहा प्रवृत्ति बढेको सन्दकपुर आहाल चौरीपालक कबुलियती वन समूहका अध्यक्ष नरबहादुर खपांगीको भनाइ छ । तीन वर्षअघि फालेलुङ ५ को सुर्केथामदेखि सुरु गरिएको पर्यटकीय पदमार्ग निर्माणको काममा पनि एसएसबीले अवरोध गरेको थियो ।
अवरोधका कारण उक्त पदमार्ग निर्माणको काम सहज रुपमा पूरा हुन सकेन । फालेलुङ ४ को चारराते क्षेत्रमा अवस्थित पोखरी संरक्षणमा पनि भारतले अवरोध पु¥यायो । उक्त पोखरी एसएसबीले कब्जा गर्न खोजेपछि नेपाल तर्फका स्थानीले एसएसबीसँग प्रतिवाद गरे । स्थानीयको प्रतिबादका कारण उक्त पोखरी एसएसबीकले हडप्न नसेको चाररातेमा चौँरी पालेर बसेका जंग राई बताउँछन् ।
सन्दकपुरदेखि फालोट सम्मको सीमावर्ती क्षेत्रमा नेपालले पूर्वाधार निर्माण सुरु गरेको दर्जनौँ स्थानमा भारतले अवरोध गरेको सीमा क्षेत्रका अगुवा सिल्प राईको भनाइ छ । ‘पूर्वाधार निर्माण गर्दा भारतले अवरोध नगरेको ठाँउ छैन । सीमाक्षेत्रमा एसएसबीको दादागिरी बढ्दो छ,’ राई भन्छन् ।
भारसँग जोडिएका इलामको सीमाक्षेत्रका दर्जनौँ स्थानमा भारतको अवरोध छ । इलामको गैरीबासमा पनि एसएसबीको अवरोध छ । पर्यटकीय क्षेत्र सन्दकपुरमा पर्यटकीय संरचना बनाउनमा एसएसबीको अवरोध गरेको छ ।
माईजोगमाई गाउँपालिका २ को तुम्लिङमा पनि उद्यान निर्माणमा अवरोध छ । निर्माणस्थल दशगजामा पर्ने भन्दै एसएसबीले काममा अवरोध गरेको हो । रोङ गाउँपालिकाको लोहागडबाट सन्दकपुर सम्मको ५२ किलोमिटर सीमा क्षेत्रमा भारतले सधैँ अवरोध गर्छ । छब्बिसेबाट अन्तु जोड्ने सडक निर्माणमा पनि भारतले अवरोध पु¥याएको थियो । इलामको मानेभञ्ज्याङ पशुपतिनगर, हिले, गुफापाताल र छब्बिसेमा समेत भारतले अवरोध गरेको स्थानीयको भनाइ छ ।
यसकारण सीमाक्षेत्रमा भारतको अवरोध
उच्च पहाडको सीमाक्षेत्र पर्यटकीय हिसाबले अब्बल गन्तव्य हो । नेपालतर्फ प्रयाप्त मात्रामा पर्यटकीय गन्तव्य छन् । तर, पर्यटकीय पूर्वाधार नभएकाले भारतले एकलौटी फाइदा उठाइरहेको छ । नेपालको पर्यटकीय भूमिबाट भारतले एलौटी रुपमा आम्दानी गरिरहेको छ । भारततर्फ पर्यटकलाई राख्ने प्रयाप्त पर्यटकीय पूर्वाधार तयार छन् ।
नेपालतर्फ पूर्वाधार बनाएको खण्डमा आम्दानी गुम्ने भारतको बुझाइ छ । आम्दानी गुम्ने खतरा देखेपछि नेपालफर्त पूर्वाधार निर्माण गर्दा भारतले सधैँ अवरोध पु¥याउने गरेको स्थानीय अगुवा बताउँछन् ।
नेपालतर्फको सीमा सुरक्षामा राज्यको उपस्थिति पनि शून्य छ । तर, भारतले हरेक ६ किलोमिटरमा सीमा सुरक्षा बलको क्याम्प खडा गरेको छ । मेची पहाडी पर्यटन विकास समितिको एक प्रतिबेदन अनुसार हरेक वर्ष यो क्षेत्रमा ५० हजारको हाराहारीमा पर्यटकहरु आउने गरेका छन् । ती पर्यटकहरुबाट भारतले एकलौटी आम्दानी गरिरएको छ ।

प्रतिक्रिया दिनुहोस !